आज २५६० औँ बुद्ध जयन्ती, लुम्बिनीमा हर्षोल्लास

सरकारले विशेष रुपमा मनाउन लागेको २५६०औँ बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा अहिले निकै हर्षोल्लास छाएको छ । लुम्बिनी परिसर चिटिक्क पारेर सजाइएको छ । ठाउँठाउँमा लुम्बिनीमा स्वागत छ लेखिएका सुन्दर ढोकाले थप सुन्दरता झल्काएको छ । मानौँ साक्षात बुद्ध पुन: आफ्नो जन्मस्थल लुम्बिनीमा आउँदै हुनुहुन्छ जस्तो भान भइरहेको छ ।

शनिबार मनाउन लागिएको बुद्ध जयन्ती समारोहमा राष्ट्रप्रमुखदेखि लिएर उपप्रधानमन्त्री तथा मन्त्री, सांसद कार्यक्रम आयोजनास्थलमा आइसक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भने आज बिहान कार्यक्रममा पुग्नेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार आएपछि बुद्धभूमिप्रतिको सम्मान, सद्भाव र महत्व थप बढाएको छ। लुम्बिनी क्षेत्र विकास कोषका सदस्य सचिव अजितमान तामाङले राष्ट्रपति भण्डारीको आगमनले बुद्धभूमिको सम्मानका साथै थप महत्व बढाउन मद्दत पुगेको बताए। राष्ट्रपति भण्डारीले मायादेवी मन्दिर परिसरमा अवलोकन गरी मायादेवी मन्दिरको दर्शनसमेत गरे।

एसियाको ज्योतिको रुपमा परिचित भगवान् गौतमबुद्धको मूल जन्मस्थल र बुद्ध दर्शनको मुहान नेपालको लुम्बिनीलाई सरकारले यसपटक अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त बौद्धधर्म गुरुको उपस्थितिमा बुद्धजयन्ती मनाउन लागेको हो। आज बुद्धजयन्ती समारोहमा करिब १५ हजारको सहभागी रहनेछ। शाक्यमुनि गौतमबुद्धप्रतिको आस्था र विश्वासमा आएकालाई व्यवस्थापन गर्न भने निकै चुनौती हुने देखिन्छ। करिब सात हजार बस्न मिल्ने व्यवस्थापन गरिएकामा त्यसको दोब्बर भक्तजन हुने भएपछि कठिनाइ हुने सदस्य सचिव तामाङको भनाइ छ ।

बुद्ध जयन्ती समारोहमा पुगी गृहमन्त्री शक्तिबहादुर बस्नेतले पनि सुरक्षा, व्यवस्थापनलगायतको विषयमा जानकरी लिए। बुद्धप्रेमीको उल्लेखनीय रुपमा सहभागिता हुन लागेको हुनाले व्यवस्थापनमा कठिनाइका साथै सुरक्षा व्यवस्थासमेत राम्ररी गर्नका लागि उहाँले सुरक्षा निकायका प्रमुखलाई निर्देशनसमेत दिए।

समारोहस्थल शान्त र सुन्दर भएनभएका बारेमा कार्यक्रम स्थलमा पुगी आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी लिए। आज बिहान राष्ट्रपतिले बुद्ध जयन्ती समारोहको उद्घाटन गर्ने कार्यक्रम छ।

काठमाडौँमा दुईदिने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सम्पन्न भएपछि सोही गोष्ठीमा सहभागी भएका विभिन्न २८ देशका ३५० भन्दा बढी विदेशी धर्मगुरुका समूह शुक्रबारै लुम्बिनी आइपुगेका छन्।

सरकारले यसअघि नै विशिष्ट व्यक्ति र प्राज्ञको उपस्थितिमा लुम्बिनीमा बौद्ध परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्ध जयन्ती मनाउने तय गरेको थियो।

यसवर्षको लुम्बिनी दिवसको “लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि” भन्ने नारा तय गरिएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको थियो । गोष्ठी तथा बुद्ध जयन्ती समारोहको मूल आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति गठन भएको थियो । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *