सप्तरीमा दुई मोटरसाइकल ठोक्कियो, तीन चौधरी गम्भीर घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुर–८ रुपनीमा आज दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ८२३८ नम्बरको मोटरसाइकल रुपनीबाट राजविराजतर्फ मोड्ने क्रममा पछाडिबाट आएको स ३ प २२८९ नम्बरको मोटरसाइकलले उछिन्न खोज्दा एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

सोही मोटरसाइकल सडकमै राखिएको ठेलामा समेत ठोकिएको बताइएको छ । दुर्घटनामा परेका स ३ प २२८९ नम्बरको चालक उदयपुरको त्रियुगा नगरपालिका–९ बस्ने ३९ वर्षीय रोहित चौधरी, सोही मोटरसाइकलको पछाडि सवार उदयपुरको मोतिगढा–७ की ३० वर्षीया रमिता चौधरी र ४० वर्षीया बसरी चौधरी गम्भीर घाइते भएका छन् ।

यस्तै स ३ प २२८९ नम्बरको मोटरसाइकलमा सवार सिरहाको नराहा गाविस–९ बस्ने २५ वर्षीय सुनिल यादव र मिथिलेश यादव घाइते भएको प्रहरीले जनाएको छ । ठेलामा बसेका रायपुर गाविस–८ का समुद्र चौधरीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको विराटनगरस्थित न्युरो असपतालमा पठाइएको छ भने बाँकी घाइतेलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता दुर्घटनामा परेका दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *