Mahabir Chaudhary

महावीर चौधरी

अदरणीय थारु-मधेसी दाजुभाइ दिदीबहिनी, बुद्धिजीबी, विद्यार्थी र अगुवाहरुले बुझ्नुपर्ने कुरा पहिले त तपाईँ-हामी को हौं भनी आफूले आफैँलाई प्रश्न गरौं। म को हुँ र मेरो मधेस र थरुहटप्रतिको दायित्व के को? के थारु मधेसीको हक अधिकार सुनिश्चित गर्न मैले पनि आफ्नो भूमिका खेल्नुपर्छ जस्तो लाग्दैन तपाईंलाई? आफ्नो भूमिका खेल्न सक्नुभएन भने भोलि तपाईंकै भाबी सन्ततीले तपाईंलाई धिक्कार्ने र प्रश्न गर्नेछन् कि ‘बाबा तपाईं हाम्रो हक अधिकारको लागि किन आवाज उठाउनुभएन?’ त्यसबेला तपाईंले के जवाफ दिनुहुन्छ?

हाम्रो देशका शासकहरुलाई तराईमा दुई महिनादेखि चलिरहेको थारु-मधेस आन्दोलनप्रति चसो छैन। उनीहरु यो थारु-मधेस आन्दोलनप्रति गम्भिर नै छैनन्। उनीहरु त नयाँ सरकार बनाउनमै आतुर देखिन्छन्। कोही प्रधानमन्त्री बन्ने त कोही मन्त्री बन्नेमै भागदौड गरिरहेका छन्। कोही भारतको नाकाबन्दी भन्दै थारु-मधेसको आन्दोलनलाई ओझेलमा पार्न खोज्दैछन्। आफ्नो देशकै एउटा भूभागमा बलिरहेको आगो नदेख्ने र भारतबाट निस्केको सानो धुँवालाई आगो लाग्यो भनी कराउनेहरु पनि यहाँ धेरै छन्। पहिला आफ्नै देशको समस्या समाधान गर्न आवश्यक देख्दैनन् नेताहरुले?

त्यसैले थारु-मधेस आन्दोलनलाई सफल बनाउन र थारु-मधेसीको अधिकार सुनिश्चित गर्न आ-आफ्नो तर्फबाट सहयोग र समर्थन गर्न जरुरी छ। थारु मधेसी कर्मचारी र ब्यापारी सबैले आन्दोलनलाई सहयोग गर्नुहोस्। नागरिक समाजले सरकारलाई दबाब सिर्जना गरी सहयोग गर्नुहोस्। विद्यार्थीहरुले आन्दोलनको अगुवाइ गर्नुहोस्। विदेशमा बस्नेहरु अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नुको साथै आर्थिक सहयोग दिएर समर्थन जानउनुहोस्। पत्रकारहरुले कलमको तागत देखाइ सरकारलाई दबाब सिर्जना गर्नुहोस्।

यसरी सबैले आफ्नो आफ्नो भूमिका निर्वाह गरे थारु-मधेसीले आफ्नो अधिकार पाउनसक्छन्।

लेखक थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *