Jagdish Ghimireविष्णु नेपाल, काठमाडौं- “अनन्त समय विगतको लगामले रोकिँदैन, समयलाई भविष्यको बेगवान् भिजनले कुदाएर लैजान्छ …” हो, अवश्यमेव। नेपाली आख्यानका क्षेत्रमा चम्किला नक्षत्र जगदीश घिमिरे ती आफ्नै वाणीले भने झैँ अब भौतिक रूपमा रहेनन्। विसं २०६९ भदौ महिनाको अन्त्यतिर। पछिल्लो संस्मरणात्मक आख्यानकृति ‘सकस’को लेखकीय मन्तव्यमा सो वाक्य उनले कोरेका थिए। ती वाक्यले झैँ उनले नेपाली साहित्यलाई नयाँ उचाइमा कुदाएर भौतिक शरीर छाडेर गए। ‘सकस’ उनको सिङ्गो जीवनको सकस थियो। अनि देशको सङ्कटको राजनीतिक सङ्क्रमणको सकस थियो।

‘सकस’ रचना गरिरहँदा क्यान्सर रोगले उनको जीवनलाई गाँजिसकेको थियो तर कहिल्यै त्यो अनुभूति उनले कहीँ कतै देखाएनन्। त्यही जीवनका बीचमा उनले ‘अन्तर्मनको यात्रा’ जन्माए। जन्मेकै वर्ष सो कृतिले २०६४ सालको मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार प्राप्त गर्‍यो। कथा, उपन्यास, कविता, निबन्धजस्ता साहित्यका सबै विधामा कलम चलाएका घिमिरेका कृतिले सदासदा उनलाई अजर र अमर बनाइराख्नेछ। कृतिको मीठो स्वाद चाखेका पाठकले उनलाई स्मरण गरिरहने छन्।
प्रसव पीडाबाट नै जीवन्त कलाको जन्म हुन्छ। उनको सिङ्गो जीवनको यात्राको अनुभूत थियो, त्यो कृति। उनकै शब्दमा “कृति प्रसव पीडाबाट जन्मिएको थियो।” सर्वाधिक पाठकले पढे, अनि सर्वाधिक मन पराइयो। सर्वाधिक बिक्री भयो। आजसम्मका सर्वाधिक बिक्रीका सूचीका रहेका माधवप्रसाद घिमिरेको शोककाव्य ‘गौरी’ र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’को हाराहारीमा सो कृति उक्लिएको भनाइ छ।
“कला जीवनका लागि हो” मान्यताका उत्कृष्ट व्याख्याकार घिमिरेले ती आफ्नै मान्यतालाई आफ्ना कृति सरल रूपमा सरस भाषामा प्रयोग गर्नुभएको छ। वरिष्ठ इतिहासकार ज्ञानमणि नेपालका शब्दमा ‘नेपाली आख्यानमा सर्वथा नवीन बान्की जगदीशका कृतिमा छन्।’
विसं २००२ चैत २८ गते रामेछापको मन्थलीमा जन्मिएका घिमिरेले नेपाली साहित्यमा ‘लिलाम’ उपन्यास लिएर पाठक सामु उदाउनुभएको थियो। “यही उपन्यासबाट उहाँले आफ्नो साहित्यिक पहिचान बनाउनुभएको थियो” आख्यानकार नारायण ढकालले भने।
प्रारम्भिक शिक्षा नेपाल र उच्च शिक्षा भारत तथा बेलायतबाट प्राप्त गर्नुभएका घिमिरेले विसं २०२० को दशकदेखि साहित्यका कलम चलाउनुभएको सुरु गर्नुभएको थियो। सो उपन्यासपछि ‘जगदीशका कथाहरू’, ‘साबिती’ उपन्यास, ‘कथा कविता संस्मरण’ (विविधसङ्ग्रह), ‘सन्तान’ (नाटक), ‘अग्निसूत्र’ (कवितासङ्ग्रह), ‘स्थान काल पात्र’ (विविधसङ्ग्रह), ‘बर्दी’ (कथासङ्ग्रह) जस्ता कृति प्रकाशन भएका छन्।
उनका अप्रकाशित अनगिन्ती लेखरचना छन्। उनले विसं २०४८ पछि विभिन्न पत्रपत्रिकामा समसामयिक विषयमा सटिक लेखरचनासमेत लेखे। उनले लामो समय नेपाल, बेलायत र अमेरिकास्थित सामाजिक संस्थासँग आबद्ध भएर विभिन्न देशमा कामसमेत गरेका थिए। रामेछापस्थित तामाकोसी सेवा समिति र काठमाडौँस्थित तिलगङ्गा अप्थ्याल्मिक इन्स्टिच्युटका संरक्षकसमेतको भूमिका घिमिरेले निर्वाह गरेका थिए। उनले गैरसरकारी संस्था महासङ्घ र नेपाल कृषि वन प्रतिष्ठानका संस्थापक अध्यक्षका रूपमा काम गरेका थिए।
सात वर्ष अगाडि अमेरिकामा रगतको क्यान्सरको शल्यक्रिया गरी उनी स्वदेश फर्किएका थिए। सो रोग एक महिना अगाडि देखिएपछि काठमाडौँस्थित ओम अस्पतालमा उपचार गरिरहेका घिमिरेको आज बिहान सोही रोगका कारण देहावसान भएको हो। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *