राष्ट्रिय थारु कलाकार प्रतिष्ठान सबैको साझा चौतारी हो : नरेश जोगी

काठमाडौं : गायक नरेश जोगीले राष्ट्रिय थारु कलाकार प्रतिष्ठान सबैको साझा चौतारी भएको बताएका छन्। प्रतिष्ठानले थारु कलाकारहरुको हक हितका लागि काम गर्ने उनले बताए।

‘यो संस्था कुनै व्यक्तिको होइन। यो थारु कलाकारहरुको साझा चौतारी हो। यस संस्थामा पूर्वदेखि पश्चिमसम्मका थारु कलाकारहरुको आबद्धता रहेको छ। यस संस्थाले राज्यबाट पाउने हक अधिकारका निम्ति अग्रस्थानमा रहेर काम गर्छ,’ उनले थारुवानसँग भने।

उनले थारु गीत संगीतले पछिल्लो समय फड्को मारे पनि थारु कलाकारहरुले बिसाउने घर अझै बनिनसकेको बताए। ‘थारु गीत संगीतमा हामी दिनरात काम गर्छौं। जसका कारण पछिल्लो समय यसले फड्को पनि मारेको छ। तर हाम्रा पनि कतिपय दुःखहरु छन्। त्यसलाई कसरी समाधान गर्ने? त्यसको नेतृत्व कसले लिइदिने? हामीले नगरे कसले गरिदिने भनेरै हामीले संस्था गठन गरेका हौं,’ उनले भने।

पहिलो चरणमा यस संस्थाले काठमाडौं केन्द्रीत रहेर जग बलियो बनाउने काम गर्ने उनले बताए। ‘हामी जिल्ला शाखा पनि विस्तार गर्छौं। तर त्यसका लागि पहिले हाम्रो जग बलियो हुनुपर्छ। काठमाडौंमा जति पनि हामी कलाकारहरु छौं। सबैको साझा प्रयासमा यस संस्थाको जग बलियो बनाउँछौं। अनि बल्ल जिल्लातिर मुभ गर्छौं,’ उनले भने।

नरेशले स्थानीय तहको निर्वाचन लगत्तै संस्था दर्ता प्रक्रिया जाने बताए। त्यसका लागि विधानलगायतका कुराहरुको तयारी भइरहेको उनले बताए।

नरेशकै नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन भएको थियो। राजधानीमा गत शनिबार बसेको बैठकले १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिविमा आरके थारु, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी रहेका छन्।

त्यस्तै सदस्यहरुमा आरसी चौधरी, अनुमा चौधरी, लक्ष्मी राणा, रजनिश चौधरी, विवेक चौधरी र सोनु कुश्मी रहेका छन्। बैठकले सल्लाहकार समेत चयन गरेको छ। जसको कानुनी सल्लाहकारमा राजेन्द्र शर्मा, अभिनेता प्रदीपकुमार चौधरी, निर्माता लोकेन्द्रराज चौधरी, संगीतकार विकास चौधरी र सुशीला चौधरी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *