कर्णालीमा माछा मार्न गएका चन्द्रप्रकाश चौधरी बेपत्ता

कैलालीको जानकी गाउँपालिका-६ जगतपुरका एक युवक दुई दिनदेखि बेपत्ता भएका छन्। स्थानीय जगतपुर सामुदायिक वनसँगै रहेको कर्णाली नदीमा माछा मार्न गएका ३५ वर्षीय चन्द्रप्रकाश चौधरी शनिबारदेखि बेपत्ता भएका हुन्।

स्थानीय मोतिलाल चौधरीका अनुसार चौधरी शनिबार बिहान ३ बजे नै माछा मार्न कर्णाली नदीमा गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले उनको खोजी गरेका थिए। ‘कर्णाली नदीको वारिपट्टी उनको साइकल छ, नदीको बीचमा रहेको टापुमा लुगा र मोबाइल भेटियो’ मोतिलालले भने ‘स्थानीयले शनिबार बिहान माछा मारिरहेको देखेका रहेछन्, त्यसपछि उनीबारे अहिलेसम्म केही पत्ता लागेको छैन।’

लुगा र मोबाइल भेटिए पनि चौधरीबारे हालसम्म कुनै अत्तोपत्तो छैन। इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी विश्वराज अधिकारीले चन्द्रप्रकाश शनिबारदेखि नै बेपत्ता भएको बताए। ‘हिजो साँझ ५ बजेतिर प्रहरीले खबर पाएपछि स्थानीय, नेपाल प्रहरी लगायतले खोजी गरिरहेको छ’ डीएसपी अधिकारीले भने ‘हालसम्म उनको अवस्था पत्ता लागेको छैन।’ कर्णाली नदीमा सो क्षेत्रका स्थानीयहरु माछा मार्न, घाँस दाउरा गर्न जाने गर्छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *