एमालेले माग्यो गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ। प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै एमालेले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने सभामुखसमक्ष माग गरे।

‘तस्करहरूको लागि नेपाल लुटको स्वर्ग भइरहेको छ। आज जे हामी सुनिरहेका छौं त्यो सामान्य विषय होइन,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलो बढी परिमाणको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।

सचेतक गिरीले सुन तस्करीबारे गृहमन्त्री श्रेष्ठलाई सूचना रहेको बताए। ‘राजस्व अनुसन्धानको डिजीलाई सूचना प्राप्त हुँदा गृह प्रशासनलाई सूचना थियो कि थिएन। पक्कै थियो। कर्मचारीको सेटिङले मात्र क्विन्टलका क्विन्टल सुन यसरी तस्करी भएको छैन। यससमा गृहमन्त्रीले संरक्षण गर्नुभएको छ। अर्थमन्त्रीले पनि संरक्षण गर्नुभएको छ,’ सचेतक गिरीले भने।

उनले रेडी ट्रेड कम्पनी दर्ता भएको तीन महिनामै ३३ पटकसम्म क्विन्टलका क्विन्टल सुन भित्र्याइएको बताए। एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ‘पछिल्लो दुई तीन महिना २० क्विन्टल सुन तस्करी भएको छ। यसमा मन्त्रीहरूकै संलग्नता छ। यो प्रकरण छनबिनका लागि संसदबाट उच्च स्तरीय समिति गठन गर्नुपर्‍यो। सभामुखबाट रुलिङ हुनुपर्‍यो। संसदीय छानबिन समिति बनेन भने हामीले संसदलाई अगाडि बढाउन दिँदैनौं,’ उनले भने।

उनले सुन तस्करी प्रकरणमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका कृष्णबहादुर महराको संलग्नता रहेको दाबी गरे। उनले मरा बुबा-छोराको सुन तस्करी प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका हुन्।

सभामुख देवराज घिमिरेले संसद बैठक अगाडि बढाउन खोजेपछि एमालेले अवरोध गरेको थियो। उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म र नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक सञ्चालन हुन नदिने एमालेले अडान लिएको छ। एमाले सांसदहरूको अवरोधपछि सभामुख घिमिरेले साउन १५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *