एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’ !

दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ । अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ । चीनले नेपालमा ‘द बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सञ्चालनमा ल्याइसकेको छ । उसले विभिन्न देशमा बीआरआई परियोजना बढाइसकेको छ । यसलाई चीनले विकाससम्बन्धी परियोजना भन्ने गरेपनि यसमा उसको राजनीतिक स्वार्थ लुकेको देखिन्छ ।

अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ । एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ ।

पछिल्लो समय एमसीसी रोक्न चीन रणनीतिक रुपमै लागेको छ । उसले नेपालसँगको सीमानाका ठप्प पारेको छ । चीनले चाहेमा नेपालमा जुनसुकै बेला सामान निर्यात र आयात गर्न सक्ने अवस्था छ । विशेषगरी उसले आफ्नो स्वार्थ अनुसारको निर्यात गर्दै आएको छ । तर, नेपालको चाहना अनुसार न त निर्यात सम्भव भएको छ न त आयात नै सम्भव देखिएको छ । चीनले अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।

नाकाबन्दी लगाएपनि चीन यसलाई मान्न तयार छैन । उसले कोरोना भाइरसको जोखिम भन्दै जवाफ दिइसकेको छ । १३ जनवरीमा प्रेस विज्ञप्तिमार्फत् चिनियाँ राजदूतावासका प्रवक्ताले महामारीका कारण देखाएको हो । उसले एकतर्फी नेपालमा सामान पठाउन दिइएको भन्दै कोरोना भाइरसको महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको भन्दै कूटनीतिक जवाफ दिएको छ ।

तर, चीनले अहिलेको सत्ताबाट खुशी नभएको सन्देशहरु दिइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनले रुचाएका नेता होइनन् । देउवा प्रधानमन्त्री भएलगत्तै हुम्लामा चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न कमिटी गठन भई प्रतिवेदन नै तयार भएको छ । यसकारण पनि चीन देउवा सरकारप्रति आश्वस्त हुन सकेको छैन । अर्कोतर्फ, एमसीसी रोक्न चीनले विभिन्न रणनीति लगाएर दबाब बढाइरहेको छ ।

सीमानाकामा कडाई गरेर चीनले नेपालको अर्थतन्त्रमा ठूलो असर पारिदिएको छ । चीनबाट आयात हुने सामानको मूल्य दोब्बरभन्दा बढी भइसकेको छ । कतिपय सामान अभाव भइसकेका छन् । चीनबाट कतिपय सामानमा नेपाल निर्भर हुँदै गएको अवस्था छ । यसमा चीनले नाकाबन्दी गरेर दोहोरो लाभ लिइरहेको छ ।

अमेरिका र चीनको टकरावका कारण राजनीतिक दलहरुको आन्तरिक राजनीति समेत प्रभावित बन्दै गएको छ । सत्ता राजनीतिमा यसको असर खुल्दै गएको छ । चीनले नेपालमा अन्य शक्तिलाई प्रभाव बढाउन नदिन नेपालमाथि विभिन्न तरिकाले दबाब बढाउन सीमामा कडाई गर्दै अघोषित नाकाबन्दी गरिदिएको छ । यसले नेपालको अर्थतन्त्रमा दूरगामी नकारात्मक असर पर्ने निश्चितप्रायः छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *