भारतले १६ हजार मेगावाट नवीकरणीय ऊर्जा प्रणालीमा थप्ने

दक्षिणको छिमेकी भारतले सन् २०२३ मा मात्रै नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने १६ हजार मेगावाट विद्युत आफ्नो प्रसारण प्रणालीमा थप्ने भएको छ । अहिले नवीकरणीय ऊर्जाका ५५ हजार मेगावाट जडित क्षमता भएका विद्युत आयोजना पाइप लाइनमा रहेकाले यो १ वर्षमा प्रणालीमा अहिलेसम्मकै बढी नवीकरणीय ऊर्जा थप्ने महत्त्वकांक्षी लक्ष्य निर्धारण गरिएको हो ।

नवीकरणीय ऊर्जाको स्रोत उपयोग हुने ठूला विद्युत आयोजना निर्माणका लागि पाइप लाइनमा रहेको तथा यी आयोजनाको विद्युतको प्रतिस्पर्धात्मक दर प्रस्ताव गरिएकाले महत्त्वकांक्षी लक्ष्य पूरा हुने सम्भावना बढेको त्यहाँको रेटिङ एजेन्सी आइसिआरएलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सन् २०२२ भित्र १२ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । दुवै वर्षमा उत्पादन गर्न प्रक्षेपण गरिएको नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता २८ हजार ५ सय मेगावाट छ ।

कोइलामा आधारित विद्युत माथिको निर्भरता कम गर्दै लैजान भारतले स्वच्छ ऊर्जा उत्पादन बढाउन नवीकरणीय ऊर्जामा लगानी बढाउँदै लगिरहेको छ । यसबाट हालै बेलायतमा सम्पन्न जलवायु परिवर्तन सबन्धि सम्मेलनमा कार्बन उत्सर्जन घटाउन नवीकरणीय ऊर्जाका स्रोतबाट ५ लाख मेगावाट विद्युत उत्पादन गर्ने तथा सन् २०३० भित्र कूल ऊर्जा मागको ५० प्रतिशत विद्युत नवीकरणीय ऊर्जाका स्रोतबाट आपूर्ति गर्ने लक्ष्य भेट्टाउन सहयोगी हुने देखिएको समाचारमा जनाइएको छ ।

सन् २०२१ को अप्रिलदेखि सेप्टेम्बरसम्ममा उत्पादन भएको ८ हजार २ सय मेगावाट नवीकरणीय ऊर्जाले पनि प्रसारण प्रणालीलाई मजबुद बनाएको छ । अघिल्लो वर्ष यही अवधिमा थपिएको उत्पादन ३ हजार ४ सय मेगावाट मात्रै थियो ।

नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युत उत्पादन गर्ने गरी निर्माणको पाइप लाइनमा सौर्य र वायु ऊर्जा तथा हाइब्रिड सोलार आयोजना रहेको आइसिआरएले जनाएको छ । आइसिआरएका अनुसार भारतीय सौर्य ऊर्जा निगम (एसइसिआई) ले पछिल्लो ६ महिनामा सौर्य विद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गर्ने प्रक्रियालाई तीव्र पारेको छ । वायु ऊर्जा र हाइब्रिड सोलार आयोजनाको पिपिए पनि भइरहेको छ ।

सरकारी लक्ष्य पूरा गर्न सौर्य तथा वायु ऊर्जा प्रविधिमा जडान हुने उपकरणको नियमित खरिद तथा आयात भने चुनौतीपूर्ण हुने देखिएको समाचारमा जनाइएको छ । पछिल्लो १ वर्षमा सौर्य ऊर्जा प्रणालीमा जडान हुने उपकरणको मूल्य ३५ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

यो मूल्यबृद्धिले सौर्य ऊर्जा उत्पादनको लागत बढाएको छ । यसका अतिरिक्त सौर्य ऊजाका उपकरणमा लाग्दै आएको वस्तु एवं सेवा कर (जिएसटी) को दर पनि बढेकाले लागत बढेको छ ।




Leave a Reply

Your email address will not be published.