गृहमन्त्री पत्नी आबद्ध सहकारीमा काठमाडौं महानगरपालिकाको छापा, बिना धितो ५० लाख ऋण लिएको खुलासा

सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौं महानगरपालिकाले छापा मारेको छ । बचतकर्ताहरुको उजुरीका आधारमा पछिल्ला केही महिनादेखि अनुसन्धानमा तानिएको सो सहकारीमा बुधबार महानगरपालिकाको सहकारी विभागले छापा मारेको हो ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सहकारीमा महानगरपालिकाको टोलीले अनुगमन गरेको र आवश्यक कागजातहरु लिएको बताए । बिजुलीबजारस्थित कार्यालयमा पुगेको नगर प्रहरीसहितको टोलीले सहकारीको पछिल्लो साधारणसभाको उपस्थिति, निर्णयसहितका माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण लगायत कागजात लिएको छ ।

निकिता २०७५ सालदेखि २०७९ सालसम्म संस्थाको उपाध्यक्ष रहेकी थिइन्। त्यसबेला उक्त सहकारीमा अध्यक्ष भुवन मणी जंगम रहेका थिए।
पौडेल उपाध्यक्ष हुँदा साई स्वागत सहकारीबाट उनको नाममा बिना धितो ५० लाख रुपैयाँ ऋण प्रवाह भएको भेटिएको अनुगमनमा संलग्न महानगरका एक अधिकारीले बताएका छन्। ती अधिकारीका अनुसार गृहमन्त्री लामिछानेसँग मित्रता रहेका संस्थाका तत्कालीन अध्यक्ष जंगमले लामिछानेलाई सहकारीको ऋण दिन सहयोग गरेको बयानसमेत दिएका छन्। यद्यपि पौडेलको नाममा रहेको उक्त कारोबार फछ्र्यौट भइसकेको छ।

हाल जंगम र पौडेल दुवै सहकारीको पदाधिकारी छैनन्। तर, पौडेललाई जस्तै अन्यलाई पनि बिना धितो ऋण प्रवाह गरेकै कारण सहकारी संकटमा परेको संस्थाका सञ्चालकले स्वीकारेका छन्। हालः साई स्वागत सहकारीले बचतकर्ताको ७ करोड रुपैयाँ फिर्ता गर्न बाँकी देखिएको छ। पछिल्लो समय सहकारी ठगी र सहकारीमा बचत हिनामिनाका उजुरी बढेपछि महानगरले महानगर क्षेत्रभित्र रहेका सहकारीमा अनुगमन सुरु गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *