थारू भाषाको मानकीकरण : प्रा.डा. दानराज रेग्मी

प्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि

भाषा मानवीय र सामाजिक वस्तु हो । मानिसले मात्र भाषाका माध्यमले विचार आदानप्रदान गर्दछन् । भाषालाई जातीय पहिचानको मेरुदण्ड, संस्कृति र सभ्यताको सम्वाहक मानिन्छ । संरचनावादीले भाषालाई स्वरूप (form) र प्रकार्यवादीले केवल प्रकार्य (function)को रूपमा परिभाषित गरेको पाइन्छ । नवप्रकार्यवादीहरूले भने भाषालाई प्रकार्य र स्वरूप दुवै मान्दछन् । सत्य पनि यही हो ।

भाषाले मानवजगतले आर्जन गरेको ज्ञानको प्रतिनिधित्व गर्दछ । साथै ध्वनि र व्याकरणका सहयोगले सो ज्ञानको सञ्चार गर्दछ । त्यसैले भाषा मूलतः प्रकार्य नै हो । यही प्रकार्यले यसको स्वरूप निर्धारण गर्दछ ।

संसारमा सात हजारभन्दा बढी भाषा र भाषिका छन् । २०६८ सालको जनगणना अनुसार नेपालमा भारोपेली, चिनियाँ-तिब्बती, आग्नेय, द्रविड र अफ्रिकी–एसियाली पाँच मूल भाषा परिवारका १२२ र एकल भाषाको रूपमा कुसुण्डा गरी १२३ मातृभाषा प्रचलित छन् ।

प्रकार्यको हिसाबले हेर्दा यी भाषाहरू एउटै हुन् । स्वरूपका आधारमा हेर्ने भने यिनीहरूका बीचमा निकै विविधता पाइन्छ । विविधताभित्रको एकता भाषाको विशिष्ट विशेषता हो । एउटै भाषा पनि विभिन्न स्थानमा भिन्न प्रकारले बोलिएको पाइन्छ । यस्तो भिन्नता मूलतः स्वरूप (ध्वनि, वर्ण, शब्द र वाक्य विन्यास) मा रहेको पाइन्छ ।

कुनै भाषा त एउटै स्थानमा पनि सामाजिक वर्ग विशेषका आधारमा फरक पाइन्छ । एउटै भाषाको यस्तो भेदलाई भाषिका भनिन्छ । यस्तो भेद व्याकरणात्मक, वर्णनात्मक र शब्दगत रूपमा अरू भेदभन्दा फरक पाइन्छ । यस्तो भिन्नताले वक्ताबीचको वोधगम्यतालाई असर पार्न सक्छ । जस्तो– सुदुरपश्चिममा बोलिने नेपाली पूर्वकाले बुझ्न गाह्रो हुन्छ ।

२०६८ को जनगणनाअनुसार थारू भाषाका वक्ताहरु नेपालका लगभग सबै जिल्लामा छरिएका छन् । यस भाषामा सामाजिक वर्ग विशेषका कारणले भिन्नता पाइन्न । क्षेत्र वा स्थान विशेष र अन्य प्रमुख भाषाहरूसँगको सम्पर्कका कारण विभिन्न भाषिकागत भेद भने पाइन्छ ।

मध्यपूर्वीया थारू, चितौनिया थारू, नवलपुरिया थारू, दगौरा थारू, कठरिया थारू र दशहरिया थारू जस्ता नाम प्रचलनमा छन् । सुनाहा र खुनालाई दगौरा थारूका उपभेद भन्ने गरिएको छ ।

सामाजिक सहमति र वैज्ञानिक प्रक्रियाका आधारमा वर्ण, व्याकरण र शब्दगत भिन्नतालाई सकेसम्म न्यूनीकरण गरी मानक थारु भाषा निर्माणमा लाग्नु निकै सराहनीय काम हो । नेपाल तथा विश्वका भाषाहरूबाट उदाहरण दिँदै थारू भाषाको मानकीकरणका सन्दर्भमा मानक भाषाको परिचय र परिभाषा खोज्ने काम यो आलेखले गरेको छ ।

थारू भाषाको भूगोल र भाषिका

थारू भारोपेली भाषा परिवार अन्तर्गतको केन्द्रीय भारोपेली शाखाको भाषा हो । २०६८ को जनगणनाअनुसार थारू भाषाको कुल वक्ता सङ्ख्या १५ लाख २९ हजार ८७५ छ । वक्ता सङ्ख्याको हिसाबले यो नेपालको चौथो ठूलो भाषा हो ।

झापामा ६ हजार ६७१, मोरङमा ५७ हजार ४३९, सुनसरीमा ८८ हजार ६३२, उदयपुरमा २३ हजार ५५६, सप्तरीमा ६६ हजार ४५५, सिराहामा १७ हजार २६५, महोत्तरीमा ६ हजार ६९३, ललितपुरमा तीन हजार ४६३, काठमाडौंमा नौ हजार ८३४, रौतहटमा २२ हजार ४२०, बारामा ५१ हजार ६३२, पर्सामा २२ हजार ८९०, चितवनमा ५८ हजार ९१३ र नवलपरासीमा ६२ हजार ९३९ जना थारु भाषी छन् ।

यसैगरी रुपन्देहीमा ५५ हजार ३१६, कपिलवस्तुमा ६४ हजार ६३७, दाङमा एक लाख ५५ हजार ४१३, बाँकेमा ७० हजार १८२, बर्दियामा दुई लाख २१ हजार ८०२, सुर्खेतमा ६ हजार २७४, कैलालीमा तीन लाख १८ हजार ८३७ र कञ्चनपुरमा एक लाख १४ हजार ७७३ जना थारु भाषी छन् ।

बाह्य जगतले दाङ, बर्दिया, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुर, रुपन्देही र कपिलवस्तु जिल्लामा बोलिने थारू भाषालाई दगौरा, चितवनमा बोलिनेलाई चितौनिया र नवलपरासीमा बोलिने थारु भाषालाई नवलपुरिया भन्ने गरिन्छ । त्यस्तै, कैलालीका कठरिया थारूले बोल्ने थारू भाषालाई कठरिया, सप्तरीमा बोलिने थारूलाई सप्तरीया वा मध्यपूर्वीया थारू भाषा भनेको पाइन्छ ।

दगौरा थारू अवधि, चितौनिया थारू भोजपुरी र सप्तरीया वा मध्यपूर्वीया थारू मैथिली भाषाबाट केही प्रभावित भएको पाइन्छ । अझ पूर्वमा बोलिने थारू भाषामा अरू भाषाको प्रभाव पाइन्छ । यो स्वभाविक कुरा हो ।

वर्ण, व्याकरण र शब्दावलीमा थारू भाषिकाहरूमा स्पष्ट भिन्नता छन् । दगौरा र कठरिया थारूबीचमा ७४५ वटासम्म शब्दगत समानता पाइन्छ (रेग्मी, २०१५) । विभिन्न स्थानमा बोलिने दगौरा, कठरिया र चितौनिया थारू भाषामा पनि शब्दगत विविधता पाइन्छ ।

सिसैया बोलिने कठरिया र सिम्रीमा बोलिने कठरिया थारू भाषाबीचमा ८३५ समानता पाइन्छ । बेलौरीमा बोलिने दगौरा थारू र सडकपुरमा बोलिने दगौरा थारू भाषाबीचमा ६४५ समानता पाइन्छ (रेग्मी, २०२१) । दगौरा थारू र मध्यपूर्वीया थारूबीच पनि करीब ६०५ सम्म समानता छ (महेश चौधरीसँगको कुराकानीको आधारमा) ।

६०५ भन्दा कम शब्दगत समानता र पारस्परिक वोधगम्यताको अभाव भएको अवस्थामा त्यस्ता भाषिकालाई छुट्टै भाषाको दर्जा दिने चलन छ । थारू भाषाका भाषिकामा भने अवस्था यस्तो छैन । शब्दगत समानता हेर्दा थारू भाषामा मानकीकरण गर्न सकिने देखिन्छ ।

मानक भाषाको परिचय र परिभाषा

सामान्य रूपमा कुनै निश्चित व्याकरणका नियम अनुसार लेखिने वा बोलिने भाषालाई मानक भाषा भन्ने चलन छ । सरकारी कामकाज, शिक्षा र आमसञ्चार जगतमा मानक भाषाको प्रयोग हुन्छ ।

मानक भाषा भनेको सर्वमान्य भाषा हो । यो व्याकरण र शब्दकोशसम्मत हुन्छ । एकरूपता यसको प्रमुख लक्षण हो । यस्तो भाषालाई शुद्ध मानिन्छ । यस्तो भाषा सबै औपचारिक स्थितिमा प्रयोग गरिन्छ ।

भाषामा एकरूपता सिर्जना गर्ने प्रक्रिया मानकीकरण हो । ‘मानक’ शब्द सर्वप्रथम १९औं शताब्दीमा प्रयोग गरिएको थियो । मानकको अर्थ कुनै कुरालाई आकार, शक्ति र स्वरुपमा प्रमाणिक वा एकरूपता ल्याउनु भन्ने हो ।

मानकको यो अर्थलाई भाषाको परिप्रेक्ष्यमा प्रयोग गर्दा कुनै भाषाको एउटा भेदलाई सर्वोत्तम मानक भाषिका (Supradialect Norm)को रूपमा क्षेत्रीय र सामाजिक भाषिकाभन्दा पनि माथिको सम्पूर्ण भाषिक समुदाय बीच सर्वस्वीकार्य हुने सबभन्दा राम्रो भाषाको रूप सिर्जना गर्नु भन्ने बुझिन्छ ।

पाठ्यपुस्तक निर्माणमा मानक भाषा प्रयोग गरिन्छ । कुनै एक भाषिकालाई मानक भाषाको रूपमा ल्याउन भाषा विकासका चार तह पार गर्नु पर्ने हुन्छ– मानक चयन (Selection of Norm), स्वरूपलाई विधान वा पद्धतिबद्ध गराउनु (Codification of Form), प्रकार्यको विस्तार (Elaboration of Function) र समुदायको स्वीकृति (Acceptance by the Community) । अङ्ग्रेजी भाषालाई यही प्रक्रियाबाट मानकीकरण गरिएको थियो ।

मुख्यतः आर्थिक र राजनीतिक कारणले गर्दा इष्ट मिडल्याण्ड भाषिकालाई मानकको रूपमा चयन गरिएको थियो । यसलाई विशेषतः सरकारी कर्मचारी, लण्डनका व्यापारी र प्रेसले व्यापक बनाए । सत्रौं र अठारौं शताब्दीमा यस भेदमा व्याकरण लेखियो । हिज्जे र उच्चारण सुधार गरेर पद्धतिबद्ध बनाइयो । त्यसपछि नयाँ मानकीकृत भाषालाई सरकार, शिक्षा, न्याय तथा आमसञ्चारमा प्रयोग गर्न थालियो ।

मानकीकरण कालक्रमिक (Chronological) प्रकिया नभई निरन्तर चलिरहने (Continueous/Ongoing) प्रक्रिया हो । एकरूपता पूर्ण रूपमा कहिल्यै प्राप्त गर्न सकिन्न । लामो समयदेखि सरकारी कामकाज, शिक्षा र सञ्चारमा प्रयोग भएको नेपाली भाषाको लेखन प्रणालीमा अझै मतभिन्नताहरू छन् ।

नेपाली भाषाको मानकीकरणमा मूलतः नेपाल प्रज्ञा प्रतिष्ठानले नेतृत्व गरिराखेको छ । नेपाली भाषामा उच्चारण, शब्द, लेखन र व्याकरणका तहमा मानकीकरण गरिएको छ । यसका लागि प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शब्दकोश र व्याकरण हेर्न सकिन्छ । मानकीकरणका केही उदाहरण:

१. (क) दान राज, राम प्रसाद– अमानकीकृत । दानराज, रामप्रसाद– मानकीकृत
(ख) बीच, कानून– अमानकीकृत । बिच, कानुन– मानकीकृत
(ग) आर्को, हिँप्प– अमानकीकृत । अर्को, यहाँनिर– मानकीकृत
(घ) जान्चु, भन्चु– अमानकीकृत । जान्छु, भन्छु– मानकीकृत
(ङ) विद्यालय– अमानीकृत, विद्यालय– मानकीकृत

२. (क) मैले भात खान्छु– अमानीकृत । म भात खान्छु– मानकीकृत
(ख) मैले गर्‍या हो– अमानीकृत । मैले गरेको हो– मानकीकृत
(ग) खाउला– अमानकीकृत । खालाउ– मानकीकृत
(घ) (महिला) मैले भनेको छु– अमानकीकृत । (महिला) मैले भनेकी छु– मानकीकृत

उदाहरण २ (क) मा बागलुङमा बोलिने नेपाली भाषामा भोट बर्मेली भाषाको प्रभावले सबै काल र पक्षमा सकर्मक क्रिया भएको वाक्यको कर्तामा उर्जावत कारक (ले) लागेको पाइन्छ ।

कुनै विद्वानले त पूर्ण मानकीकरण गर्नु भनेको भाषालाई मृतअवस्थातिर लैजानु हो पनि भनेका छन् । मिल्रोय र मिल्रोयले चयन (Selection), स्वीकार्यता (Acceptance), व्यापन (Diffusion), निर्वाह (Maintenance), प्रकार्यको विस्तार (Elaboration या Function), नियमबद्धीकरण (Codification) र किटानीकरण (Prescription) गरी मानकीकरणका सात तत्व दिएका छन् ।

यसअनुसार भाषाको कुनै भेदलाई मानक भाषाको रूपमा चयन गरेपछि त्यसलाई समाजका प्रभावशाली मानिसहरूले स्वीकार गरेको हुनुपर्दछ । त्यसपछि कार्यालयका अभिलेख र शिक्षा व्यवस्था जस्ता साधनको माध्यमबाट क्षेत्रीय तथा सामाजिक भेदलाई व्यापन (Diffusion) गर्ने गरिन्छ । अर्थात्, भेदलाई हटाउने वा न्यूनीकरण गर्ने काम गरिन्छ । यस मोडेलमा भाषाको निर्वाह अगाडि आउँछ र त्यसपछि यो प्रकार्यको विस्तार, स्वरूपको नियमबद्धता र किटानीकरणका साथसाथै अगाडि बढ्छ ।

त्यस्ता भेद दिन प्रतिदिन थप सन्दर्भहरूमा प्रयोग हुँदै जान्छ । त्यसपछि सबैले सम्मान साथ लिन थाल्छन् र समुदायमा एकरूपता कायम गर्ने चाहना जाग्न थाल्छ ।

नियमबद्धीकरण चाहिं सामान्यतः व्याकरण लेखन र शब्दकोश निर्माण गरेर गर्न सकिन्छ । किटानीकरणलाई भने मानिसको विश्वास वा विचारधारा (Belief or Ideology)ले निर्देश गरेको हुन्छ । किनकि, मानिसलाई कुनै भेद विशेष शुद्ध लाग्न सक्छ । एउटा भेद शुद्ध र अरू अशुद्ध हुन्छ भन्ने पर्न सक्छ ।

मानक हिन्दीको विकास ‘खडिबोली’बाट भएको हो भने मानक नेपालीको विकास यसका भाषिकाबाटै भएको हो । उता ब्राजिलमा शिक्षाका लागि पुर्तुगाली भाषालाई मानकीकृत गरिएको छ ।

कुनै एउटा भेदलाई मानकीकरण गर्नु भनेको अरू भेदलाई सीमान्तकृत गर्नु हो भन्ने विद्वानहरू पनि छन् । मानकीकृत भाषाका आधारमा अरू भेदलाई मूल्याङ्कन गर्ने गरिन्छ । मानक भाषा नै शिक्षाका लागि प्रयोग गरिन्छ ।

मानक भेद कृत्रिम र बनावटी हुन्छ भन्ने राय पनि पाइन्छ । मानक भाषामा लेखाइ र बोलाइ दुवैमा एकरूपता पाइन्छ । मानक भाषा भनेको साझा पहिचानलाई टेवा दिने एउटा उपाय हो ।

औपचारिकताका लागि भाषालाई मानकीकृत गर्नुपर्दछ । सामाजिकस्तरमा मानक भाषा सामान्यतया उच्च प्रतिष्ठासँग जोडिएको हुन्छ भने समुदाय बाहिर मानक भाषा (विशेषगरी लिखित मोड) सामान्यतः राष्ट्रिय वा क्षेत्रीय पहिचानको एक अभिन्न अङ्गको रूपमा लिइन्छ । यसलाई सरकारी कामकाजमा प्रयोग गर्ने भेदको रूपमा लिएर राष्ट्रभाषाको रूपमा व्यापक प्रयोग गरिन्छ ।

मानक भाषालाई सबैभन्दा शुद्ध भेदको रूपमा लिइन्छ । भाषा वैज्ञानिकहरूले मानक भाषालाई पनि भाषा विशेषका विभिन्न भेदमध्ये एउटा भेदको रूपमा लिने गरेको पाइन्छ । यसले गर्दा मानक भाषा भनेको के हो ? भनेर भन्न गाह्रो हुन्छ ।

मानक भाषा भनेको ठोस वास्तविकताभन्दा पनि एउटा विचारधारा मात्र हो भन्ने विद्वानहरू पनि छन् । कतिले यसलाई पश्चिमी अवधारणामा सिमित राखेका छन्, तर राष्ट्र निर्माणका लागि यो नभइनहुने कुरा हो । जातीय एकता र पहिचानका लागि नभई नहुने कुरा हो ।

मानक भाषा भनेको कुनै भाषाको भाषा प्रयुक्ति (Register) वा भाषिका हो । यसलाई भाषिक समुदाय, प्रदेश वा संघले सम्पर्क भाषाको रूपमा प्रयोग गर्दछ । मानकीकरणको निश्चित प्रक्रियाबाट यस्तो भाषा निर्माण गरिएको हुन्छ । यसमा औपचारिक व्याकरण, शब्दकोश र अन्य कृतिहरू प्रकाशन भएका हुन्छन् ।
कुनै भाषामा एकभन्दा बढी मानक रूप पाइन्छन् भने कुनैमा एक मात्र मानक रूप । अङ्ग्रेजी भाषामा अमेरिकी र बेलायती मानक छन् । नेपालीका एक मात्र मानकरूप हुनु पर्छ भनिए पनि गोरखापत्र, कान्तिपुर दैनिक, पाठ्यक्रम विकास केन्द्र र प्रज्ञा प्रतिष्ठानका आ-आफ्नै लेखनशैली छन् ।

मानक भाषाबारे सबै विद्वानको धारणा लगभग एउटै पाइन्छ । क्रिष्टल (१९८५)का अनुसार मानक भाषा क्षेत्रीय विभेदभन्दा माथि रहन्छ । मानक भाषाले एकीकृत सञ्चारको साधनको रूपमा काम गर्दछ । मानक भाषा आमसञ्चार र विदेशीलाई भाषा पढाउँदा प्रयोग गरिन्छ ।

मानकीकरणका दुई प्रक्रिया रहेका छन्– स्वभाविक वा सहज (Natural) विकास र समुदायबाट कुनै एउटा भाषिकालाई मानक बनाउनु । स्वभाविक प्रक्रिया राम्रो भए पनि द्रूतगतिमा भाषाको विकास गर्न दोस्रो अपरिहार्य हुन जान्छ ।

रिचार्ड र अन्य (१९९९) ले निकै सरल भाषामा मानक भाषाका विशेषता औ‌ंलाउने प्रयास गरेका छन् । उनीहरूका अनुसार मानक भाषा भनेको भाषाको एउटा भेद नै हो जसले समाज वा राज्यमा उच्च सम्मान पाएको हुन्छ । यस्तो भेद सामान्यतः शिक्षित मातृभाषीको बोलाइ र लेखाइमा आधारित हुन्छ ।

मानक भाषालाई सञ्चार माध्यम र साहित्य लेखनमा प्रयोग गरिन्छ । यसको शब्दकोश र व्याकरण हुन्छ । वेमातृभाषीलाई पनि शिक्षामा मानक भाषा पढाइन्छ । मानकीकरण भाषा योजनाको प्रमुख अङ्ग हो ।

बन्धु (२०७३) का अनुसार कुनै एक भाषाको एउटा रूपलाई अरूभन्दा राम्रो र विभिन्न विषयक्षेत्रका लागि उपयुक्त मानिएको भेद नै स्तरीकृत भाषा हो । मानक भाषाको धारणाको विकास भाषामा एकरूपता स्थापित गर्ने र जातीय पहिचान कायम गर्ने इच्छासँग जोडिएको पाइन्छ ।

थारू भाषामा पनि मानकीकरणका प्रयासहरू भएका छन् । साहित्य सिर्जनाका साथै अध्ययन-अनुसन्धानका काम भइरहेका छन् । मानकीकरणका प्रयास जारी नै छ ।

उपसंहार

लिखित वा मौखिक भाषालाई सबैलाई मान्य हुने शब्दकोश (मानकीकृत हिज्जे र शब्दावली), सर्वमान्य व्याकरण, मानक उच्चारण (शिक्षित वाणी), मानक प्रयोगलाई परिभाषित गर्ने भाषावैज्ञानिक संस्था (प्रज्ञाप्रतिष्ठान, थारू आयोग), सरकारी कामकाजमा प्रयोग, साहित्य लेखन जस्ता उपाय प्रयोग गरी भाषाका कुनै भेदलाई मानक भाषाको रूप दिन सकिन्छ ।

अर्को शब्दमा भाषाको कुनै भेदको आधारमा समुदायको सहमतिमा मानक विकास गर्न सकिन्छ । यो भाषा वैज्ञानिकभन्दा पनि सामाजिक कुरा हो । सामाजिक चाहना, सहमति, मान्यता र इच्छाशक्तिको कुरा हो । यसमा समुदायका सामाजिक, राजनीतिक, जनसाङ्ख्यिक, ऐतिहासिक र भौगोलिक पक्ष समावेश हुन्छन् ।

राष्ट्रिय, क्षेत्रीय वा जातीय (सांस्कृतिक, राजनीतिक र सामाजिक) संशक्ति (Cohesion)को चाहना नै भाषाको मानकीकरणको मूल कारण हो । अमानकीकृत भेदलाई कम सम्मानका साथ हेरिने र सामाजिक, आर्थिक र राजनीतिक रूपमा शक्ति भएको भेद चयनमा पर्ने भएकाले मानकीकरणलाई समाज–राजनीतिक प्रश्नका रूपमा पनि लिन सकिन्छ ।

यो एउटा जटिल प्रक्रिया हो । थारू भाषाको मानकीकरण गर्दा पनि मानकीकरणका सैद्धान्तिक तथा व्यावहारिक दुवै पक्षलाई हेर्नुपर्ने हुन्छ । सामाजिक सहमति, सहकार्य र भाषाविज्ञानका मान्यताका आधारमा मानकीकरण गर्न सकिन्छ । यसले भाषिक समुदायलाई जोड्छ, प्रतिष्ठा बढाउँछ ।

भाषा शक्तिको श्रोत पनि भएकोले थारू भाषामा मानकीकरण हुनु आवश्यक छ । प्रवल बोलाइ भएको थारू भाषालाई शुरूमा प्रारम्भिक साक्षरताको तहमा स्तरोन्नति र दिगो साक्षरताको तहमा विकास गर्न पनि मानकीकरण हुनु राम्रो हुन्छ ।

तराई र भित्री मधेशको सबभन्दा पुरानो आदिवासी थारूहरुको भाषा मानकीकरणमा सम्बन्धित सबैको सहयोग र सद्भाव आवश्यक छ ।

(थारू आयोग र थारू कल्याणकारी सभाको सहजीकरण तथा समन्वयमा आइतबारदेखि जारी थारू भाषा मानककीकरण गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्र)




Leave a Reply

Your email address will not be published.