थाकस-सरकार वार्ता : सरकारले माग सम्बोधन गर्ने सूची तयार पार्दै

सरकार र थारु कल्याणकारिणी सभा (थाकस)बीच आज पनि वार्ता भएको छ। सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको थाकस महामन्त्री प्रेमीलाल चौधरीले बताए।
उनका अनुसार आज पनि १९ बुँदे मागउपर छलफल भएको हो। सरकारी वार्ता टोली उक्त मागहरुबारे अन्तिम टुंगोमा पुगेको समेत उनले बताए। ‘आज पनि हाम्रा मागहरुबारे नै छलफल भयो। उहाँहरुले सम्भवत कुन माग कुन माध्यमबाट पूरा गर्ने भन्ने लिखित ड्राफ्ट भोलिसम्म तयार पार्ने भन्नुभएको छ,’ चौधरीले थारुवानसँग भने।

थाकस र सरकारबीच यसअघि दुईपटक वार्ता भइसकेको छ। दुई पटककै वार्तामा थारुहरुका मागबारे छलफल भएको थियो। थाकसले अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतको रिहाइ गर्न माग अघि सार्दै आएको छ।
वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री बादल, प्रधानमन्त्रीका परराष्ट्र विज्ञ डा. राजन भट्टराई, पूर्व राज्यमन्त्री भगवती चौधरी छन् भने थाकसको तर्फबाट रुक्मिणी चौधरी, सदस्य पद्मनारायण चौधरी, प्रेमीलाल चौधरी, चन्द्रपसाद चौधरी र प्रभातकुमार चौधरी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *