टीकापुर राजबन्दी रिहाइका लागि राजधानीमा बृहत् सम्वाद, ‘थारु भएकै कारण पक्रेर यातना दिइयो’

टीकापुर राजबन्दीको रिहाइ अभियानअन्तर्गत काठमाडौंमा बृहत् सम्बादको आयोजना गरिएको छ। सम्बाद कार्यक्रममा सहभागीहरुले टीकापुर घटनालाई ‘अपराध’को रंग दिएर थारुहरुलाई चरम यातना दिएको बताएका छन्।

सहभागी बक्ताहरुले जेलबन्दी भएका रेशम चौधरीलगायतका मुद्दामा आएका तथ्य र अदालतको फैसलामा कुनै मेल नखाएको बताए। अधिवक्‍ता शंकर लिम्बुले अदालतले बलजफ्तीरुपमा टीकापुर घटनाको फैसला सुनाएको आरोप लगगाए। उनले रेशम चौधरीकै मुद्दमा पनि कल ट्रेसिङलगायतका कुरामा तालमेल नमिलेको बताए। ‘सम्मानित अदालतले फैसला गर्दा जुनरुपमा मिहीन ढंगले अनुसन्धान हुनपर्थ्यो। त्यो देखिएन। बलजफ्तीरुपमा फैसला सुनाइयो,’ उनले भने।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले टीकापुर घटना र रेशम चौधरीको रिहाइका लागि सरकारसँग निरन्तर माग गरिरहेको बताए। उनले बहालवाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली हेस् वा यसअघिका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नै किन नहुन् सबैसँग यस विषयमा छलफल भएको बताए। ‘छलफलमा उहाँहरुले पनि भन्नुहुन्छ रेशम चौधरी निर्दोष छन्, संसदमा पनि निरन्तरको दबाबपछि गृहमन्त्रीले जवाफ दिनुभयो। हामीले प्रधानमन्त्रीसँग जवाफ माग्यौं। उहाँले यस विषयमा जानकारी दिने बताउनुभयो तर अहिलेसम्म केही गर्नुभएको छैन,’ उनले भने।

उनले पहाडका जनजातिले कुरा उठाउँदा सम्प्रदायिक हुने, मधेसका मान्छेले कुरा उठाउँदा विखण्डनकारी हुने सरकारको नजरियाले टीकापुर घटनाको छिनोफानो हुन नसकेको बताए।

पूर्व सभामुख दमननाथ ढुंगानाले प्रहरीको अनुसन्धान फितलो भएको आरोप लगाए। नत्र निर्दोषहरु निस्किन तीन तीन वर्ष लाग्न नपर्ने उनको भनाइ थियो। ‘जीवनकै महत्वपूर्ण तीन वर्ष पीडितहरु जेलमा बस्नुपर्‍यो। हाम्रो इनभेस्टिगेशन कस्तो रहेछ?,’ उनले प्रश्न गरे, ‘यी कुराहरु सुधार हुन समय लाग्ला।’

उनले टीकापुर घटनामा मिडियाहरुको पनि ठूलो दोष रहेको बताए। ‘यो कार्यक्रमले टीकापुर घटनाका नयाँ आयामहरुबारे थाहा पाएँ। यसले मिडिया कति बायस भएको रहेछ बुझ्न सकिन्छ,’ उनले भने।

उनले अदालतको कुरामा बाँकी केही बोल्न नसिकने भए पनि अदालतबाटै यो मुद्दाको छिनोफानो हुनुपर्ने उनले बताए। तर त्यसको उत्तम विकल्प राजनीतिक तवरले यसको समाधान गर्न सकिने उनले बताए। ‘सरकारले कस्ता कस्ता मुद्दामा त सफाइ दिएको छ। सरकारले क्याबिनेटबाट यो मुद्दाको छिनोफानो छिट्टो गर्न सक्छ। पीडितलाई सफाइ दिन सक्छ,’ उनले भने।

कार्यक्रममा मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले म्यासेजमार्फत् टीकापुर घटनालाई फरिक तरिकाले अनुसन्धान गर्नुपर्ने बताइन्। यस सम्बन्धमा आफू निरन्तर लागगिरहेको समे उनले बताइन्। उनले पठाएको म्यासेज डा. सुरेन्द्र झाले वाचन गरेर सुनाएका थिए।

थरुहट नेता भानुराम थारुले टीकापुर घटना सम्बन्धमा नागरिक समाजका अगुवा, राजनीतिक दलहरुले पनि जान्न बुझ्न नखोजेको आरोप लगाए। ‘टीकापुर घटना किन घट्यो? के कारणले घट्यो? यसप्रति कोही राजनीतिक दल र नागरिक समाजका अगुवाले चासो राखेको देखिनँ,’ उनले भने।

उनले यो मुद्दा पुनरावेदनका लागि छिट्टै सर्वोच्चमा दर्ता हुन लागेको र त्यसबेला सम्बन्धित अधिवक्ता, राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले जिम्मेवारीपूर्वक दबाब दिन आह्वान गरे।

कार्यक्रममा टीकापुर घटनामा जेलाबाट सफाइ पाएका रामनरेश चौधरीले आफ्नो भोगाइ बताएका थिए। राजापुरमा शिक्षक पेसामा आबद्ध रहेका उनी टीकापुर घटना घटेको भोलिपल्टै गाउँ फर्किँदा प्रहरीले नियन्त्रणमा लिएका थिए। भदौ ७ गते आफू पढाउने स्‍कुलको हाजिरी देखाउँदासमेत प्रहरीले आफूलाई यातना दिएको उनले बताए। ‘मैले प्रहरीलाई आफू स्कुलमै रहेको हाजिरी देखाएँ प्रमाणको रुपमा। स्कुलका प्रधानाध्यापकलाई बोलाएँ। तर प्रहरीले मेरो प्रमाण च्यातेर फालिदिए। र, जबरजस्ती अपराध स्वीकार्न लगाए,’ उनले भने।

उनले प्रहरीसँग पटक पटक आफू निर्दोष रहेको जिकीर गर्दा पनि प्रहरीले उनको कुरा सुनेनन्। बरु उल्टै भने- तेरो दोष भनेको तँ थारु हुनु हो।

कार्यक्रममा जेल सजाय पाएका नाबालक करण चौधरी पनि सहभागी थिए। उनले आफ्नो टाउकोमा बन्दुक राखेर बयान दिन लगाएको बताए। उनले आफूले रेशम चौधरीको नाम त्यसअघि कहिल्यै नसुनेको र प्रहरीले यातना दिएको भन्दै कार्यक्रममै भावविह्ल बने। आँशु झार्दै उनले भन्न भ्याए- सरकार मुर्दावाद।

करणका आमा बुबाले पनि छोरा सुस्त मनस्थितिको भएको र उनले यस्तो अपराध कल्पनैसमेत गर्न नसक्ने बताएका थिए।

कार्यक्रमको सुरुवातमा कान्तिपुरका संबाददाता ठाकुर सिंह थारुले टीकापुर घटनाको रिपोर्टिङ गर्दाको भोगाइ सुनाएका थिए। उनले कर्फ्युको समयमा थारुका घरहरुमा दनदनी आगो बल्नु चानचुने कुरा नभएको बताए। उनले पत्रकारको हैसियतले हामीले तथ्यमात्र प्रस्तुत गर्ने हुँदा प्रत्यक्षदर्शी, आन्दोलनकारी, प्रहरी र पीडितसँग कुराकानी गर्दा, कसले गोली चलाए, कसले भाला बोकेर आए भन्ने कुरा नखुलेको बताए।

टीकापुर राजबन्दीको रिहाइ अभियानका संयोजक सुरेन्द्र चौधरीले पीडितको आवाज, काठमाडौंका मिडिया, नागरिक समाजका अगुवा र राजनीतिक दलका नेताहरुलाई सुनाउन कार्यक्रम आयोजना गरेको बताए। उनले टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई सरकारले रिहाइ नगरेसम्म यो अभियान जारी रहने बताए।

 




One thought on “टीकापुर राजबन्दी रिहाइका लागि राजधानीमा बृहत् सम्वाद, ‘थारु भएकै कारण पक्रेर यातना दिइयो’

  1. Resham sir lai chadai xutaunu pareyo Kishan le aphno ubjaye ko Annabali ko vane jasto Amdani pairahe ko xainnan.yes shamasya ko shamadhan Resham daju le matrai garna shakxan.Resham daju Nirdos hun.Karan chaudhary half mental nai ho.

Leave a Reply to Rohit Rohit chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *