चन्द्रौटा महोत्सवको प्रमुख आकर्षण : थारु साँस्कृतिक नृत्य र पाँचौं डान्स आइडल

सीताराम चौधरी/चन्द्रौटा (कपिलवस्तु)।

यही मंसिर ६ गतेदेखि सुरु हुन लागेको पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा प्रमुख आकर्षणको रुपमा थारु सांस्कृतिक नृत्य प्रतियोगिता र पाँचौं डान्स आइडललाई मानिएको छ।

दर्शकलाई भरपुर मनोरञ्जनका साथै आकर्षित पार्ने थारु नृत्य र डान्स आइडललाई महोत्सवको प्रमुख आकर्षणको रुपमा लिइएको हो। थारु सांस्कृतिक नृत्य र डान्स आइडललाई अझ परिष्कृत गरी अगाडि बढाउन प्रथम चरणको अडिसनबाट उत्कृष्ट प्रतियोगी र समूह छनौट गरिएको छ।

यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको पोशाक, भाषा, कला संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रचारप्रसारमा थप टेवा पुग्ने उद्देश्यले पहिलो पटक सुरुवात गरिएको प्रथम थारु सांस्कृतिक नृत्य प्रतियोगितामा १२ वटा टिम छनौटमा परेका छन्।

अडिसनबाट शिवराज ५, दक्षिण रहटकोलको ब्राइट राइजिङ युवा क्लब, वाणगंगा ९, पश्चिम जिनवाको सूर्योदय युवा क्लब, वाणगंगा ८, चप्परगाउँको थारु सांस्कृतिक संरक्षण तथा सम्बर्द्धन सभा, वाणगंगा ७, मोतीपुरको नव जनशक्ति युवा संगठन छनौटमा परेका छन्।

यसैगरी शिवराज ५, पूर्व रहटकोलको जागृति युवा क्लब, शिवराज २, डोंगरडिहवाको लुम्बिनी बाल तथा युवा क्लब, शिवराज १, शिवपुरको न्यू बाल अनुशासन टिम, बाणगंगा २, तेनुइयाको नवप्रतिभा युवा क्लब प्रथम अडिसनबाट छनौट भएका छन्। यसका साथै अडिसनबाट शिवराज २, बालापुरको नमूना समानता बालक्लब, विजयनगर गापा २, लोहरौलाको सूर्योदय सामाजिक सेवा संघ, शिवराज २, मदरहवाको आदर्श युवा क्लब र शिवराज ९, भगवानपुरको भगवानपुर गाउँ समाज समिति छनौटमा परेको बताइएको छ।

यसैबीच पाँचौं डान्स आइडलको प्रथम अडिसनबाट समेत १२ जना प्रतियोगी छनौटमा परेको आइडल संयोजक सुमन पौडेलले जानकारी दिए। कूल १५ जना सहभागी रहेको प्रथम अडिसनबाट उत्कृष्ट १२ जनालाई छनौट गरिएको आइडल संयोजक पौडेलको भनाइ छ।

पाँचौं आइडलको लागि छनौटमा परेका प्रतियोगीमध्ये एमएस गर्ल, सिर्जना रोकामगर, सम्झना जिसी, अन्जली गौतम, बालिका पाण्डे, कविता सुनार, पदम व्याचलर, सुजता श्रेष्ठ, उत्कृष्ट क्षेत्री, राखी श्रेष्ठ, अस्मिता पौडेल र मनिष सुनार रहेका छन्। छनौटमा परेका प्रतियोगीले महोत्सव स्थलमा आफ्नो प्रस्तुति देखाउन पाउनेछन्।

‘कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार’ भन्ने मूल नाराका साथ हुन लागेको पाँचौ चन्द्रौटा महोत्सवकोे तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सवमा २६० स्टलहरुमा करीब ९७ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिए। साथै स्थानीय ब्यापारीहरुका लागि स्टलमा बिशेष छुटको ब्यवस्था रहेको न्यौपानेले बताए।

कपिलबस्तुका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा शिवराज नगरपालिकाभित्रका बर्थिङ सेन्टरहरुलाई प्रति टिकट रु १ सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको ब्यापार संघका अध्यक्ष महादेव पोख्रेलले जानकारी दिए।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि उत्पादन, हस्तकला जडिबुटीहरुको प्रदर्शनीका विभिन्न स्टलहरुका साथै जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरुको प्रचारप्रसार एवं फोटो प्रदर्शनी रहने आयोजकको भनाइ छ। महोत्सवलाई थप आकर्षण बनाउन बालउद्यान, मौतका कुवा, रोटे पिङ, जादुगर, कुस्ती खेल, ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिजोड प्रस्तृति रहने आयोजक संस्थाका सचिव गोपाल बञ्जाडेले बताए। महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा विभिन्न भेषभुषा, बाजागाजासहितको भव्य झाँकी प्रदर्शनीको व्यवस्था मिलाइएको झाँकी संयोजक लेखनाथ घर्तीले जानकारी दिए।

विगतका भन्दा यसवर्षको महोत्सव फरक र उत्कृष्ट आयोजकको दाबी छ। अहिलेको महोत्सवमा बिज्ञान र प्रबिधिको ब्यापक प्रयोग हुने र विभिन्न प्रकृतिका सामानहरुको प्रदर्शनीको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। महोत्सव मंसिर १६ गते समापन हुने आयोजकले जानकारी दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *