गिरिजासँग विद्रोह गरेर पार्टी छाडेका गच्छदार कांग्रेसको उपसभापतिमा मनोनित

विजय कुमार गच्छदार नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएका छन् । गच्छदार विसं २०६४ सालमा कांग्रेस छाडेर मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए । पछि उपेन्द्र यादवसँग मनमुटाव भएपछि उनी आफ्ना केही सांसदसहित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । पछिल्लो स्थानीय तहको चुनावमा गच्छदारले थरुहट तराई पार्टीलाई आफ्नो पार्टीमा समाहित गर्न सफल भएका थिए । लगत्तै प्रदेश तथा संघीय चुनावमा उनले आफ्नो पार्टी कांग्रेससँग मर्जर गरेका थिए । उनी दस वर्षपछि नेपाली कांग्रेस फर्किएका थिए।

गच्छदारको अपराजित यात्रा
विजय कुमार गच्छदार थारु समुदायका एकमात्र त्यस्ता नेता हुन्, जसले छैठौंपटक चुनाव जितेका छन् । उनले दाबी पनि गरेका छन् कि यो इतिहास अबको ५० वर्षसम्म कुनै थारुले दोहोर्याउने छैनन् । नेपाली राजनीतिमा चतुर नेताको रुपमा चिनिने उनै गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी ८ पचरामा भएको हो । बुबा शिरु गच्छदार र आमा खुतलीदेवी थारुबाट जन्मेका गच्छदारका १ छोरी र २ छोरा छन् । इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको सुरुवात गरेका थिए ।

राजनीतिक यात्रा
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका छन् । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गर्दै उनले आफ्नो अपराजित यात्रा अघि बढाए ।

कांग्रेस नेता गच्छदारले ३२१ मतले चौधरीलाई पराजित गरे । गच्छदार ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् । यसअघि उनले दोस्रो संविधान सभा निर्वाचनमा पनि यिनै चौधरीलाई पराजित गरेका थिए । त्यो बेला उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष थिए ।

मंसिर १० र २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तासाझेदार नेकपा माओवादी केन्द्र र प्रतिपक्षी नेकपा एमालेले कम्युनिष्ट गठबन्धन बनाएपछि उनले फोरम (लोकतान्त्रिक) लाई कांग्रेसमा विलय गराएका थिए । असोज ३० गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण समारोहमा गच्छदारले कम्युनिष्टहरुबाट मुलुकमा जनवादी संविधान ल्याउने प्रयास भएकाले लोकतनत्रको रक्षा गर्न कांग्रेससँग पार्टी एकीकरण गर्नुपरेको प्रतिक्रिया दिएका थिए ।

नेता गच्छदारले २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधी निर्वाचन र ५६ को आम निर्वाचन कांग्रेसबाट जितेका थिए । उनले २०६४ को पहिलो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरमबाट र २०७० को दोस्रो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट आफ्नो अपराजित यात्रा यथावत राखे ।

२०४८ सालबाट लागातार चुनाव जित्दै आएका नेता गच्छदार सधैं सत्ताको केन्द्रविन्दुमा रहे । २०४८ पछि गिरिजाप्रसाद कोइरालाको निकट भई उनले छवि प्रभावशाली मन्त्रीका रूपमा स्थापित गरेका थिए । कोइरालाको अवसानपछि पनि उनी कहिल्यै सत्ताबाट बाहिर भएका छैनन् ।

पहिलो संविधानसभा निर्वाचन भन्दा केही समय अघि आफ्ना केही मान्छेले टिकट नपाएको विरोधमा गच्छदारले तत्कालीन पार्टी सभापति कोइरालासँग विद्रोह गरेर कांग्रेस छाडेका थिए । तर कांग्रेससँगको पार्टी एकीकरणमा उनले मधेसी जनताको हक–अधिकार स्थापित गर्न पार्टी परित्याग गरेको बताएका थिए ।

पहिलो संविधानसभा निर्वाचन जितेका गच्छदारले माओवादी नेतृत्वको सरकार सात महिनामै ढलेपछि फोरमलाई फुटाएर आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरेका थिए । त्यसपछि फोरम लोकतान्त्रिकका अध्यक्ष बनेका गच्छदार एमाले नेता माधवकुमार नेपालको नेतृत्व गठन भएको सरकारमा सहभागी बनेका थिए ।

१३ पटक मन्त्री
गच्छदार उपप्रधानमन्त्रीका रूपमा ५ र मन्त्रीका रूपमा १३ पटक प्रभावशाली र ‘आकर्षक’ मन्त्रालय लिएर सत्ताको केन्द्रमा छाइरहे । राजनीतिक दलका नेताहरू उनलाई मन्त्रीमा लोकसेवा नै पास गरेको भन्दै व्यंग्यसमेत गर्छन् । हालै सम्पन्न निर्वाचनमा उनले मतदातासँग आगामी दिनमा आफू प्रधानमन्त्री हुने भन्दै मत मागेका छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि ‘थारूको छोरोलाई प्रधानमन्त्री बनाउनुहोस्’ भन्दै मत मागेका थिए ।

गच्छदार ०४८ देखि नै गिरिजाप्रसाद कोइरालाको निकट रहेर सत्तामा हावी बन्न पुगेका थिए । त्यतिबेला कोइरालाको किचेन क्याबिनेटका रूपमा एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खडका, गोविन्दराज जोशी र विजय गच्छदार) का नामले उनी चर्चामा थिए । कोइरालाको अवसानपछि पनि उनी कहिल्यै सत्ताबाट बाहिरिनु परेन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *