टीकापुर घटनालाई राजनीतिकरुपमा लिन मुख्यमन्त्रीसँग थाकसको माग

लखन चौधरी/कैलाली।

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले ७ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा सम्बोधन गर्नुपर्ने पहिलो माग अघि सारेको छ ।

शुक्रवार धनगढीमा आयोजित थाकस कैलालीको आठौं अधिवेशनको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री भट्टलाई २०७२ भदौ ७ र ८ गते घटेको टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा सम्बोधन गरी समस्या समाधान गर्नुपर्नेसहित ११ बुँदे मागपत्र बुझाइएको हो । राज्यको हरेक अंग तथा निकायमा जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण तथा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने पनि राखिएको छ ।

संविधानको मर्म अनुसार थारु बाहुल क्षेत्रलाई स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने र आदिवासी समुदायका बड्घर, भल्मन्सा लगायत प्रथाजन्य कानूनलाई कानूनी मान्यता दिई आवश्यक संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने माग राखिएको छ भने थारु भाषालाई प्रदेश तथा स्थानीय तहको सरकारी कामकाजी भाषाको रुपमा सुनिश्चित गर्नुको साथै आधारभूत तहमा मातृभाषाको पठनपाठन तथा पाठ्यपुस्तक प्रबन्ध व्यवस्था गर्नुपर्ने सो मागपत्रमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले ७ नम्बर प्रदेश संस्कृतिमा धनी प्रदेश रहेको बताए । सबै जातजाति र समुदायको संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्नु सरकारको दायित्व रहेको मुख्यमन्त्री भट्टले उल्लेख गरे । उनले भदौ ३१ गते थारु जाति मनाउन गइरहेको अट्वारी पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरेको जनाए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी, प्रदेशसभा सदस्य चुनकुमारी चौधरी, मालामति रानाथारु लगायतले पनि सम्बोधन गरेका थिए ।

थाकस कैलालीको कार्यवाहक सभापति बाँधुराम चौधरीको अध्यक्षता भएको अधिवेसनले नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *