धनिराम चौधरीद्वारा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा

थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। थारु पत्रकारहरुमाझ उनले २२औं महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

‘म अहिले दुःखमा परेको छु। यही थारु समुदाय हो जसले मलाई ताली पिटेर संयोजक बनायो। मैले शान्तिपूर्ण आन्दोलनको कमान्ड गरिरहेको बेला सोच्दै नसोचेको टीकापुर घटना भयो। जसको प्रमुख अभियुक्त मलगायत धेरै थारुहरुलाई बनाइएको छ। त्यसका बावजुद पनि मैले भूमिगत अवस्थामा रहेर पार्टीका शीर्ष नेताहरुसँग, सरकार प्रमुखहरुसँग, कूटनीतिक नियोगहरुसँग वार्ता र सम्बाद जारी नै राखे।

भलै म मिडियाबाजी गरिनँ। तर आम थारु समुदायले सोचेको जस्तो म चुपचाप पनि बसिनँ। रातदिन मैले वार्ता, सम्बाद र आन्दोलनका कार्यक्रम, थारु कल्याणकारिणी सभाको बैठक, भेला सबै गरेको छु। यति हो मैले गर्न चाँहदाचाँहदै पनि जुनरुपमा मैले सहयोग पाउनुपर्ने हो, न नेता, सांसदबाट पाएँ। थाकस पदाधिकारीले धेरै सहयोग गर्नुभयो। गर्दै आउनुभएको पनि छ। तर राजनीतिक कारणले जति गर्नुपर्थ्यो, उहाँहरुले चाहेर पनि गर्न पाउनुभएन।

थाकसलाई सबैले आफ्नो राजनीतिक अखडा बनाउने प्रयासमात्र गरे/गरिरहेका छन्। टीकापुर घटनापछि मेरो नाममा वारेन्ट जारी भयो, मेरो जागिर गयो, मेरा सबै सम्पत्ति जफत भए, आफ्नै मान्छेहरु वित्दा पनि म घर टेक्न पाएको छैन, के थाकस अध्यक्षको हैसियतले यी सबै दुःख मैलेमात्र भोग्न पर्ने हो? मलाई दुःख परेको बेला आम थारु समुदायले मेरा लागि सोचिदिनपर्ने होइन र?

सोझो कहलिएका हामी थारुहरु त यस्तो बेला झन् एक भएर जानुपर्ने होइन र? मैले भोगेको पीडा पछि नआउला र? त्यसकारण मैले अध्यक्षको उम्मेदवारी घोषणा गरेको हुँ। दुःख परेको यो घडीमा हामी सबै एकसाथ अगाडि बढौं। सबैलाई सन्देश दिउँ हो थारुहरु अझै एकढिक्का छन्। उनीहरुको एकता अझै मरेको छैन। अबका दिनमा पनि म काम गर्न सकिनँ भने थारु समुदायले जे सजाय दिनुहुन्छ म भोग्न तयार छु,’ धनिराम चौधरीले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *