थाकस चितवनको प्रश्न- ‘महाधिवेशन आयोजना गर्न तयार छौं, तपाइँहरुसँग योजना खोइ?’

कारी महतो चितवन।भरतपुर।
थारु कल्याणकारिणी सभा (थाकस) को २२औं महाधिवेशनका लागि चितवन जिल्ला समिति तयार रहेको कुरा जिल्ला सभापति ललितकुमार चौधरीले बताएका छन् । तर महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय समितिले व्यवस्थित योजना ल्याउनुपर्ने बताए।

महाधिवेशनमा आम्दानी र खर्च कति कति हुने, प्रतिनिधि तथा पर्यवेक्षक कति जना हुने, अन्य सहभागी कति जना हुने लगायतको महाधिवेशन सम्पन्न गर्ने विधि र प्रक्रिया योजनाबद्ध हुनुपर्ने जिल्ला सभापतिले बताए। योजनाबद्ध नभई भद्रगोल गरिकाले महाधिवेशन गर्ने हो भने चितवन जिल्लामा स्थान तय नगर्नका लागि जिल्ला सभापति ललित चौधरीले केन्द्रीय समितिलाई आग्रह गरेका छन् ।

थाकसका केन्द्रीय संरक्षक अमृत प्रसाद खाँ थारुको नेतृत्वमा मकवानपुरदेखि कञ्चनपुरसम्मको जिल्ला भ्रमणमा निस्केका टोलीसँग अन्तरक्रिया गर्दै सभपति ललित चौधरीले आग्रह गरे। थाकसलाई विभिन्न जिल्लाका थारु व्यक्तित्वहरुले जग्गादान गरेको भए पनि ती अचल सम्पत्तिहरुका संरक्षणका लगि थाकसले मूल मुद्दा नबनाएकोले थाकसका संरक्षक अमृत प्रसाद खाँ थारुले गुनासो व्यक्त गरे।

संरक्षणका अभावमा ती जग्गाहरुमा अन्य समुदायले भवनहरु बनाएको तर थाकस पदाधिकारीहरु अझ अनभिज्ञ रहेकोले ती अचल सम्पत्तिहरुलाई थाकसले संरक्षण गर्नुुपर्ने बताए। पूर्वका जिल्लाहरुका जग्गालगायत अचल सम्पत्तिहरुको सूची बनाएको अन्य जिल्लाहरुको अचल सम्पत्तिहरु बारे जानकारी लिनका लागि मकवानपुरदेखि कञ्चनपुरसम्मको जिल्ला भ्रमणमा निस्केको संरक्षक खाँ थारुले बताए । अमृत प्रसाद खाँ थाकसलाई २०३२ सालदेखि सेवा गर्दै आएका छन् ।

थाकसका केन्द्रीय सल्लाहकार समेत रहेका पूर्व सभासद रुक्मिणी चौधरीले अन्य जिल्लाको तुलनामा चितवन जिल्लाको साँगठनिक संरचना व्यवस्थित भएको बताए । जिल्ला समितिले विभिन्न १३ वटा विभागहरु गठन गरेको साप्ताहिक रुपमा विभागीय बैठकहरु राख्ने गरेको छ ।
थारु युवा सभाका केन्द्रिय अध्यक्ष कानूनलाल चौधरीले थाकसको केन्द्रिय महाधिवेशन हुनुभन्दा अगावै थारु युवा सभाको महाधिवेशन गर्नका लागि विभिन्न जिल्लामा सांगठनिक संरचना गठन तथा पुनर्गठनका साथै युवा सभाको महाधिवेशनका थाकस जिल्ला सभापतिहरुसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रियाका लागि जिल्ला दौडाहामा निस्केको बताए ।

थाकस चितवनका निवर्तमान सभापति विश्राम महतोले पनि केन्द्रीय समितिले चितवन जिल्ला समितिलाई जिम्मेवारी दिएमा महाधिवेशनका लागि आयोजक जिल्ला रहेर सम्पन्न गर्ने बताए । उनले थाकसको विधान समयानुकूल संशोधन गर्नुपर्ने बताए ।

महाधिवेशन आउन दुई महिना मात्र बाँकी हुँदा पनि केन्द्रले स्थान तोक्न नसकेकोले महाधिवेशन व्यवस्थित हुनेमा सबैले शंका गरेका छन् । केन्द्रिय समितिले थाकसको महाधिवेशन आगामी असोज महिनाको ६ देखि ८ गते निर्णय गरेको छ । तर कुन जिल्लामा महाधिवेशन गर्ने भनेर स्थान तोकेका छैनन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *