अर्जेन्टिनालाई हराउँदै फ्रान्स क्‍वार्टरफाइनलमा

साविक उपविजेता अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ। नकआउट चरणको पहिलो खेलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको हो ।

यो खेलसँगै अघिल्लो संस्करणको उपविजेता अर्जेन्टिना रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो। शनिबार राति भएको खेलमा दुई पटकको विजेता अर्जेन्टिना फ्रान्ससँग ४-३ गोलले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो।

पहिलो हाफमा दुवै टोलीले एकएक गोल गरेका थिए। खेलमा अग्रता भने फ्रान्सले बनाएको थियो। खेलको १२औं मिनेटमा काइलियन एमबाप्पेलाई अर्जेन्टिनाका मार्कोस रोजाले डी एरियाभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको १९औं मिनेटमा प्रान्सले अग्रता दोब्बर बनाउने सुन्दर अवसर गुमायो। अर्जेन्टिनाका निकोलस ताग्लाफिकोले एमबाप्पेलाई डीबक्स एरिया बाहिर लडाएपछि फ्रिकिक पाएको थियो। पल पोग्बाले प्रहार गरेको बल गोल पोस्टमाथिबाट बाहिरिएको थियो। पहिलो गोल खाएपछि लगातार विपक्षी पोस्टमा आक्रमण गरेको अर्जेन्टिनाले ४१ औं मिनेटमा बराबरी गोल फर्कायो। एन्जल डी मारियाले विपक्षी गोलकिपरलाई छक्याउँदै सुन्दर गोल गरे।

दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता बनायो। खेलको ४८ औं मिनेटमा पल पोग्बाले राम्रोसँग क्लियर गर्न नसकेको बलमा ग्याब्रियल मार्काडोले गोल गर्दै अर्जेन्टिनालाई २-१ को अवस्थामा पुर्‍याएका थिए। दोस्रो गोल खाएपछि आक्रामक खेल खेलेको फ्रान्सले ५७औं मिनेटमा बराबरी गोल गर्‍यो। रक्षक बेन्जामिन पाभर्डले गोल गर्दै खेल २-२ गोलको बराबरीमा पुर्‍ याएका थिए।

खेल बराबरीमा ल्याएपछि पनि फ्रान्सले लगातार विपक्षी पोस्टमा आक्रमण गरिरह्यो। खेलको ६४ औं मिनेटमा काइलियन एमबाप्पेले गोल गर्दै टोलीलाई ३-२ को अग्रता दिलाए। लुकास हर्नान्डेजले उपलब्ध गराएको बललाई एमबाप्पेले जाली चुमाए। एमबाप्पेले पहिलो गोल गरेको चार मिनेटपछि नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। खेलको ६८ औं मिनेटमा ओलिभर गिरोडले उपलब्ध गराएको बलमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ४-२ को सुदृढ अवस्थामा पुर्‍याएका थिए।

दुई गोलले पछि परेको अर्जेन्टिनाले खेलको अन्तिमसम्म पनि खेलमा फर्किने प्रयास गरेको थियो। इन्जुरी समयको ९३ औं मिनेटमा सर्जियो एग्वेरोले गोल गर्दै खेल ४-३ मा पुर्याए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *