मैले थारुको अस्तित्व र अजेन्डालाई तिलाञ्जली दिन सकिनँ : रुक्मिणी चौधरी

‘कसैले भन्दैमा हाम्रो अस्तित्व सकिँदैन। पार्टी सकिने र नसकिने सिद्धान्त र नेतृत्वमा भर पर्छ’
तीन महिनाअघि थ्रेस होल्डको चर्को बहस भइरहँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)की अध्यक्ष रुक्मिणी चौधरीले यही उत्तर दिएकी थिइन्। त्यसैले उनी सानो दलको अध्यक्ष भएपनि कुनै पार्टीसँग एकीकरण गर्न हतारिएनन्। बरु प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा भाग लिन उनी निर्वाचन आयोगमा दल दर्ता गराइन्।

त्यसबेला विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका शीर्ष नेताहरुले पार्टी एकीकरणको प्रस्ताव गरेका थिए। तर ती सबै पार्टीमा गएर आफ्नो मुद्दा, आफ्नो सिद्धान्तको तिलाञ्जली दिन उनी तयार भएनन्। बरु थ्रेसहोल्ड कटाउने लक्ष्यसहित उनी चुनावमा होम्मिइन्। ‘थरुहटका मुद्दा बोकेका नेताहरु अहिले विभिन्न नेताका शरणमा पुगेका छन्। यसले उनीहरु व्यक्तिगत स्वार्थका लागि राजनीति गरेका रहेछन् भन्ने देखियो। तर मैले आफ्नो सिद्धान्तलाई मार्न चाहिनँ,’ उनले भनिन्।

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि उनको पार्टीले थारु बाहुल्य क्षेत्रमा उम्मेदवारी दिएको छ। प्रत्यक्षतर्फमात्र नभएर रुक्मिणीले १ सय १० जनाको समानुपातिक सूची पनि निर्वाचन आयोगलाई बुझाएकी छन्। उनी थ्रेसहोल्ड कट्नेमा ढुक्क छिन्। ‘थारुहरु अझै जिउँदा छन्। थारु नेताहरुले अझै आफ्नो अस्तित्व, आफ्नो मुद्दा बिर्सेका छैनन् भन्नका लागि मैले उम्मेदवारी दिएकी हुँ। थारुहरुले अझै भोट दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ,’ उनले थारुवानसँग भनिन्।

उनले देशमा १७ लाख बढी थारुहरु रहेको बताउँदै ३ प्रतिशत थ्रेस होल्ड सजिलै पार गर्ने बताइन्। ‘१७ लाख बढी जनसंख्या भएका जाति हौं हामी। यत्रो जनसंख्या हुँदाहुँदै थ्रेसहोल्डसँग डराउने कुरा हुँदैन। अथवा भोट नदिएपनि म आफ्नो अस्तित्व अरुलाई सुम्पिन सक्दिनँ,’ रुक्मिणीले भनिन्।

चुनावी अजेन्डा
उनले पहिलो संविधानसभादेखि नै उठाउँदै आएका मागहरु नै चुनावका प्रमुख अजेन्डा रहेको बताइन्। संविधान जारी भएपनि थारुहरुका लागि पूर्ण नरहेको बताउँदै उनले थरुहट स्वायत्त प्रदेशलगायत समानुपातिक समावेशिता र थारु कलस्ट मिलाउँदा सीमाकंनसहितको संविधान संशोधन हुनुपर्ने बताइन्।

‘यहाँ हाम्रो भाषाको सम्मान छैन। हामीले मन्दै आएको परम्परागत कानुनको सम्बर्द्धन हुन सकेको छैन। ग्रामिण क्षेत्रहरु झन्झन् पछाडि धकेलिँदै गएको अवस्था छ। यी यावतको कुराको परिवर्तन हुनु जरुरी छ। यी कुरा मैले पहिलो संविधानसभाको चुनावमा पनि उठाएको थिएँ। अहिले पनि यी कुराबिना देश समृद्धिको दिशामा लम्किन नसक्नेमा दृढ छु। त्यसकारण थारुहरुले अत्यधिक भोट मत हालेर हामीलाई विजय गराउनुहुन्छ भन्ने पूर्ण आशा छ,’ उनले भनिन्।

एक भोट पार्टीलाई अर्को जातिलाई
रुक्मणि चौधरीले यस चुनावको मुख्य नारा नै एक भोट पार्टीलाई अर्को जातिलाई बनाएका छन्। समानुपातिक भोट भएपनि उनले आफूहरुलाई दिनुपर्छ भन्दै अहिले थरुहट जिल्लाहरुमा उनी ब्यापक अभियानमा जुटेकी छन्। उनको आशा पनि थारु उम्मेदवार जित्नु नै हो। ‘थारु समुदायका मानिसहरु विभिन्न पार्टीमा आस्था राख्छन्। कसैलाई हामी जबरस्ती गर्ने कुरा पनि हुँदैन। त्यसैले एकभोट जता हालेपनि एक भोट आफ्ना थारु उम्मेदवारलाई दिनुपर्छ। किनकि उहाँहरुले पनि थारुहरुलाई जिताउनुपर्छ भन्ने भित्री मनमा छ,’ उनले भने।

चुनाव चिन्ह

रुक्मिणी चौधरीले नेतृत्व गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)को चुनाव चिन्ह गाग्री रहेको छ। उनले गाग्री चिन्हमा सबैले मत हालेर थारु जिताउ अभियानमा लग्नुपर्ने बताइन्। ‘म अहिले पनि तराईका थारु गाउँहरुमा चुनाबी अभियानमा हिँडेको छु। थारु मतदाताहरु चुनावी मैदानमा देखेर हौसिएका छन्। आशा छ उहाँहरुले हामीलाई मत हालेर माया गर्नुहुनेछ,’ उनले भनिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *