मतको महत्व, सत्य र सुझाव

दिलबहादुर चौधरी।
यतिबेला प्रतिनीधि सभा र प्रदेश सभाको सँगै चुनाव हुँदैछ । दलले प्रतिनीधि सभाको लागि १ र प्रदेश सभाका लागि २ जना उम्मेदवार हरेक क्षेत्रबाट उठाएका छन् । कुन क्षेत्रमा कुन कुन दलका को को उम्मेदवार छन् ? दिमागमा राख्न प्रायःलाई गाह्रो छ । लिष्ट नलिएर अच्छा खासा मान्छेलाई पनि जिल्लाको सबै क्षेत्रकाउम्मेदवारहरुको नाम भन्न गाह्रो छ ।

बामपन्थी गठबन्धन, लोकतान्त्रिक गठबन्धन, संघीय समाजबादी, राजपा, बिबेकशील साझा पार्टी, नयाँशक्ति, राप्रपा, जनमुक्ति पार्टी धेरै दलले उम्मेदवारी दिएका छन् । गठबन्धन बिना पनि उम्मेदवारी दिएको अवस्था छ । पहाडमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनका बीच प्रतिस्पर्धा छ भने तराईमा लोकतान्त्रिक गठबन्धन, बाम गठबन्धन र थाम (थारु, मधेसी) गठबन्धनका बिचमा र कतिपय स्थानमा संघीय समाजवादी फोरम र राजपाबीच प्रतिस्पर्धा जारी छ ।

यस अवस्थामा चुनाव भनेको के हो ? हाम्रो मतको महत्व के छ भनेर बुझ्ननिकै जरुरी छ । लोकतन्त्रमा चुनावको महत्व ठूलो हुन्छ । निश्चित समय अवधिका लागि जनताले गोप्य रुपमा कागज वा इलेक्ट्रोनिक साधनद्वारा राम्रो मान्छेको पक्षमा मत जाहेर गर्नु, छनौट गर्नु र आफैंमाथि शासन गर्ने अधिकार दिनु नै चुनाव हो । चुनावको लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप १ मतले पनि सत्ता परिवर्तन गर्न सक्छ । तर अचेतनाका कारण सबैले मतको सदुपयोग गर्न सक्तैनन् । आफ्नो अमूल्यमत, मासु, दारु र रुपियाँमा बिक्री गर्न पुग्छन् र निश्चित अवधिका लागि फेरि दुःख पाउँछन् । मतदान अघि नसोच्ने र मतदानपछि पश्चाताप गर्ने हाम्रो बानी छ । अन्य बेला अधिकारका लागि वकालत गर्ने, बन्द, हडताल गर्ने, चक्का जाम गर्ने, दबाबमूलक आन्दोलन गर्ने र शान्तिपूर्ण महाआन्दोलनको रुपमा आउने चुनावमा मत बेच्ने र पुनः उनै स्वार्थीहरुद्वारा शासित हुने हाम्रो बानी छ ।

लोकतन्त्रमा त्यही बानी, अचेतना र गरिबीको फाइदा शासकहरु उठाउँछन् । उनीहरु अरुबेला उठेको आवाजलाई चुनावको माध्यमबाट दमन गर्छन् । डर, त्रास, भ्रम रधनले चुनावलाई आफ्नो पक्षमा पार्छन् । अर्थात् साम, दाम, दण्ड, भेदको तरिका अपनाई पुनः शासन सत्तामा पुग्छन् र जनतामाथि शासन गर्छन् । फेरि चुनाव आइसक्यो । अर्थात् चुन्ने समय आइसक्यो । हाम्रा अगाडि राम्रा र नराम्रा दुबै खाले मान्छे आफूलाई चुन्न र शासनका लागि पठाइदिन हात जोडेर खडा छन् । अवकसलाई रोक्ने र कसलाई पठाउने ? कसलाई हराएर दण्डित गर्ने र कसलाई जिताएर पुरस्कृत गर्ने ? त्यो अधिकार तपाईं, हाम्रो हातमा छ । अब स्मरण गर्नुस्, कसले मीठो, गुलियो भाषण गर्छ, आश्वासन बाँड्छ, शासनमा गएपछि तपाईंकै घाँटीमा छुरी चलाउँछ ? कसले तपाईंको आन्दोलनलाई तुहाउँछ ? कसले तपाईंको संगठनलाई धरापमा पार्छ ? को बारम्बार सत्तामा पुग्छ र तपाईंलाई गुमराहमा पार्छ ? कसले तपाईंको अधिकारको लागि लड्छ ? कसले आन्दोलनको अगुवाई गर्छ ? यी सबैको बिश्लेषण गर्नुस् र भोट दिनु अगावै हजारचोटी सोच्नुस् ।

आन्दोलन किन गरियो? के का लागि गरियो ? गठबन्धन भनेको के हो ? के गठबन्धनले तपाईंको माग मुद्दाको सुनुवाई गर्ने हो ? के तपाईंका माग मुद्दालाई लत्याउने र दुःख दिने मान्छे ती गठबन्धनमा छैनन् ? थारुहरु जेलमा किन छन् ? किन निर्बासित जीवन बिताइरहेका छन् ? थारुवान प्रदेशको मुद्दा कसले उठायौ ? किन छोड्यौ ? के गणतन्त्र भनेको एक राजालाई फाल्ने र हजार राजालाई पाल्ने हो ? के गणतन्त्र भनेको तराईमाथि पहाडले र थारु मधेशी जनजातिमाथि ब्राम्हन क्षेत्रीले शासन गर्ने पद्धति हो ? के उत्पीडित जातिको माग गठबन्धन हो ? के थारुहरुको माग भनेको थरुहटको माग मुद्दालाई बिसर्जन गर्ने हो ? असली माग के हो ? हजार बार सोच्नुस्, त्यसले तपाईँलाई मतकसलाई र किनदिने भन्ने कुरामा सहयोग गर्नेछ ।

तपाईँ गम्भीर रुपमा चिन्तन मनन नगरेका कारणले नेताहरु तपाईं हामीलाई भेँडा, बाख्रा, पशु सम्झने र लट्ठीले जता मन लाग्यो, उतै हाँक्ने प्रयास गर्छन् । चिन्तन मनन गर्नुस्, उठाउनुस् मतको बलियो हतियार र सखाप पार्नुस्, तिनलाई । हामीलाई गुमराहमा राखेर जहिले नि सत्ताको स्वाद चाख्नेहरुलाई दण्डित गर्नुस् । हतारमा जिताउने अनि फुर्सदमा पछुताउने बानी छोड्नुस् ।

तपाईंको गाउँ ठाउँ, क्षेत्रमाको को उठेको छ ? त्यो ब्यक्तिको बानीब्यहोरा कस्तो छ ? सहयोगी असहयोगी के छ ? त्यसको संगठनको मूल एजेण्डा के हो ? त्यसको संगठनले हाम्रो मागको सुनुवाई किन गरेन ? कतै त्यसको संगठन पनि हाम्रो माग मुद्दालाई तुहाएको त होइन? त्यसकै संगठनले कतै हाम्रा मान्छेलाई बन्दी जीवन र निर्बासित जीवन बिताउन सहयोग त गरेन ? यी सबै कुराको बिश्लेषण गर्नुस् ।

यो खासमा ब्यक्ति छान्ने चुनाव होइन, पार्टी छान्ने चुनाव हो । तर ब्यक्ति नहेर्नुस् भन्न खोजेको होइन । तपाईंहरु, स्वार्थी नेताका कारण अहिले रनभुल्लमा पर्नुभएको छ । नचाहँदानचाहँदै पनि तपाईंको क्षेत्रमा तपाईंले नसोचेको चिन्हमा छाप लगाउने, मत दिनुपर्ने अवस्था आएको छ । तपाईंलाई कुनै उम्मेदवार मन परेको छैन, भोट हाल्ने ईच्छा पनि छैन । सबै उम्मेदवार चोरै हुन् भन्ने पनि लागेको । त्यो अवस्थामा तपाईं बदमास उम्मेदवारहरुमा पनि अलि ईमान्दार बदमासलाई छान्नुस् । किनकि मतको माध्यमले तपाईं जुन दललाई ठूलो बनाउनु हुन्छ, त्यही दलले नै प्रदेशमा र केन्द्रमा सरकार बनाउँछ। त्यसैले जुन दललाई जिताउँदा तपाईंको मागको सुनुवाई हुन्छ, त्यसलाई जिताउनुस्, हुँदैन भने नजिताउनुस् । त्यसैगरी जुन ब्यक्ति तपाईंको माग मुद्दालाई बोकेर अगाडि बढ्ला भन्ने बिश्वास छ, त्यसलाई जिताउनुस् । ५ वर्षसम्म पछुताउने र रुने काम नगर्नुस् ।

अन्त्यमा के मात्रै भनौं भने तपाईंको घर आँगनमा थरी थरीका उम्मेदवार आएका छन् । देशमा बहुदलिय ब्यवस्था आएको पनि २७ वर्ष पूरा भैसकेको छ । थरुहट आन्दोलन भएको पनि १० वर्ष पूरा भैसकेको छ । धेरै नेता, सांसद, सभासदको आनीबानी, चालामालाबारे तपाईं अनभिज्ञ हुनु हुन्न । कुन संगठन आफ्नो नीति, सिद्धान्त छोड्यो ? कुन उम्मेदवार स्वार्थका लागि जे पनि गर्छ ? कसले हकअधिकारको लागि बोल्छ र बाल्यो, लड्यो तर सुबिधाबाट बञ्चित रह्यो ? को जनतालाई भरयाङ् बनाएर सत्तामा पुग्यो र बिर्स्यो ? सबै तपाईंलाई थाहा छ । कहाँ कुन पार्टी, ब्यक्तिलाई जिताउँदा फाइदा होला, को को लड्दा कसलाई फाइदा होला? त्यो पनि तपाईंलाई थाहा छ । त्यसलाई बिचार गर्नुस् । यो चुनावले प्रदेशको स्थायी राजधानी कहाँ बनाउने ? प्रदेशमा बोलिने भाषा के हुने ? प्रदेशको मुख्य सांस्कृतिक चाडपर्व कसलाई मान्ने ? संघ र प्रदेश संचालनका लागि मुख्य नीति के हुने ? आदि कुराको निक्र्यौल गर्नेछ । तपाईंको मतले तपाईंकै अधिकारलाई कुण्ठित नगरोस् । तपाईंको माग मुद्दा सदाका लागि नथन्कियोस्, दण्डित गरिनु पर्नेलाई पुरस्कृत र पुरस्कृत गर्नुपर्नेलाई दण्डित नगरोस्, यही मेरो सुझाव छ । धन्यवाद !

लेखक थारु नागरिक समाज कैलालीका संयोजक हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *