पहिलोपटक मिस एन्ड मिस्टर थारु हुने, देशको चार ठाउँमा अडिसन हुँदै

थारु अनलाइन मिडिया र नेक्स्ट इभेन्ट इन्टरनेश्नलले पहिलो पटक मिस र मिस्टर थारुको आयोजना गर्न लागेको छ। बिहीबार अनामनगरस्थित थारु मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा मिस र मिस्टर थारु पहिलोपटक आयोजना गर्न लागेको जानकारी दिएको हो।

मिस र मिस्टर थारु २०७४ का आयोजक सुरेश चौधरीले यही कात्तिक १९ गतेबाट विभिन्न जिल्लामा पुगेर अडिसन लिने पनि जानकारी दिएका छन् । उनले कात्तिक १९ गते कैलालीको धनगडी, २२ गते चितवन, २३ गते सुनसरी र २५ गते काठमाडौंमा अडिसन लिने जानकारी दिएका छन् । अडिसन राउन्डबाट ३० जना युवा र ३० जना युवती छनोट गर्ने छ । छनोट भएकाहरुबाट फाइनल प्रतियोगितामा विभिन्न राउन्ड गरेर मिस र मिस्टर थारु २०७४ छनोट गर्ने छ ।

प्रतियोगीले अडिसन राउन्डमा सहभागिता जनाउनका लागि ६ सय रुपैयाको फारम भर्नुपर्ने छ । अडिसन राउन्डबाट छनोट भएकाहरु टप ३० मा पर्ने र उनीहरुले तालिम खर्च र विभिन्न गतिविधि गर्नका लागि थप १० हजार तिर्नपर्ने आयोजकले जनाएको छ । मिस र मिस्टर थारु हुनेहरुले नगद सहित बिभिन्न पुरस्कारहरु जित्ने छन् । विभिन्न जातजातिले मिस र मिस्टर प्रतियोगिताहरुको आयोजना गर्दै आएपनि थारु समुदायमा यस्तो प्रतियोगित पहिलो पटक हुन लागेको हो ।

थारु समुदायबाट भने मिस नेपाल प्रतियोगितामा भाग लिएर उपाधिसमेत जितिसकेको छ । वर्षा लेखीले मिस नेपालको दोस्रो रनरअप अर्थात् मिस इन्टरनेश्नल भइसकेकी छन् । त्यस्तै वर्षा लेखीभन्दा अगाडि निश्मा चौधरीले टप पाँचमा पुग्दै मिस बब्ली भएकी थिइन्। त्यस्तै पूजा चौधरीले एयर होस्टेसको उपाधि जितेकी थिइन् । थारु युवा युवतीमा ट्यालेन्ट भएपनि यो क्षेत्रमा कसैले हात नहालेपछि उनीहरुको ट्यालेन्ट भित्रभित्रै गुम्सेर मरिरहेको छ ।

तर अब यसलाई उजागर गर्नका लागि थारु अनलाइन मिडिया र नेक्स्ट इभेन्ट इन्टरनेश्नलको आयोजनामा मिस र मिस्टर थारुको एक साथ आयोजना गर्न लागेको हो । यसले थारु समुदायको युवायुवतीमा भएको ट्यालेन्टलाई झन निखारिने आयोजकको भनाई छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *