राजेन्द्र महतोसँगको एकतालाई लेखीले भने- ‘थारु मधेसीको आत्मिय मिलन’

राजकुमार लेखीले नेतृत्व गरेको नागरिक समाजवादी पार्टी १३ महिनापछि राजेन्द्र महतो नेतृत्वको सद्भाहवना पार्टीसँग एकीकरण हुने भएको छ। राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत थ्रेस होल्डसहित प्रत्यक्षमा एक जना जित्नैपर्ने नीति लागू भएपछि लेखी नेतृत्वको पार्टी एकीकरणमा जान बाध्य भएको हो।

नेकपा एमालेबाट राजनीतिक करियर सुरु गरेका उनी विगत दुई दशकदेखि थारु कल्याणकारिणी सभाको विभिन्न पदमा रही काम गर्दै आएका छन्। नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षसमेत भइसकेका लेखी सभामा राष्ट्रिय प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। यसबीच उनले राष्ट्रिय नागरिक पार्टी नेपाल पनि गठन गरेका थिए।

लेखीले सद्भामवना पार्टीसँगको एकता थारु मधेसीको आत्मिय मिलनको रुपमा प्रष्ट्याएका छन्। थारु मधेसी नमिलेसम्म थारु मधेसी दुबैका अधिकार सुनिश्चित नहुने उनको ठम्याइ छ। ‘यो एकतालाई मैले थारु मधेसीको आत्मिय मिलनको रुपमा लिएको छ। यो एकतासँगै थारु मधेसी जनता एक भएर अधिकारको आन्दोलनमा होमिएको सन्देश दिनेछ,’ उनले भने।

उनले मधेसी पार्टीहरु थारुको एजेन्डा स्वीकार गरेकाले पार्टी एकता गर्न लागेको बताए। मधेसी पार्टीहरु एक मधेस प्रदेशको एजेन्डा त्यागेर थरुहटको मुद्दा पनि बोकेको लेखीको बुझाई छ। ‘मैले पहिल्यै एक मधेस प्रदेश वा एक थरुहट प्रदेश सम्भव छैन भनेको थिएँ। अहिले मधेसीहरु चितवन पश्चिम थरुहट प्रदेश भनिरहेका छन्। जुन कुरा मैले पहिल्यैदेखि उठाउँदै आएको थिएँ,’ लेखीले थारुवानसँग भने।

त्यही एजेन्डा, त्यही विचारमा मधेसी पार्टीहरु पनि होमिएकाले सद्भा वना पार्टीसँगको एकता सफल भएको उनले बताए। छिट्टै अन्य मधेसी र थारु पार्टीहरु पनि सो पार्टीसँग आबद्ध हुने लेखीले दाबी गरे। ‘हाम्रो शक्तिमा छिट्टै अन्य मधेसी र थारु पार्टी पनि सहभागी हुनेछन्। त्यसको लागि मैले अहिलेदेखि नै पहल थालिसकेको छु,’ लेखीले भने। थारु शक्तिहरुलाई पनि एकीकृत गर्ने प्रयास थाल्ने उनले बताए।

यसकारण गच्छदारसँग गइनँ
लेखीले विजय गच्छदार र थरुहट तराई पार्टी नेपालसँग पनि पार्टी एकीकरणबारे छलफल भएको बताए। तर उहाँहरु चुनाव जाने भनेपछि आफू पछि हटेको उनले दाबी गरे। ‘विजय गच्छदारजी र थरुहटका साथीहरुसँग पार्टी एकीकरणबारे छलफल भएको हो। तर उहाँहरुले निर्वाचनमा जाने भनेपछि म ब्याक सरेको हुँ। थारुको मुद्दा छाडेर निर्वाचनमा जानु हुन्न भन्ने मेरो भनाई हो,’ उनले भने। स्रोतका अनुसार सो बैठकमा लेखीले हार्ने निर्वाचनमा आफ्नो पार्टी सहभागी हुन नसक्ने बताएका थिए।