जब पूर्वीया थारु सँस्कृति दङ्गाली थारु गाउँ पुग्यो…

थारु थारुबीच पूर्वीया र पश्चिमी भनेर द्वन्द्व चलिरहेका बेला सुनसरीको एक टोली आफ्नो सँस्कृति र पहिचान झल्काउन पश्चिमी थारु गाउँ पुगे। हालसालै दाङको चखौरामा आयोजित महोत्सवमा मोरङ र सुनसरीको एक संयुक्त टोलीले आफ्नो सँस्कृति दङ्गाली थारु गाउँमा पस्किएको हो। जसको संयोजन विवेकशील थारु युवा समूहले गरेको थियो।

थारु समाजको उत्थानका लागि काम गर्दै आएको विवेकशील थारु युवा समूहको अगुवाइमा सुनसरी र मोरङका युवा युवतीहरुले दाङमा गएर आफ्नो पुर्ख्यौली लाम्पुछरे पहिरन अचरा खड्कीसहित परम्परागत गरगहना प्रदर्शन गरेका थिए।

महोत्सवमा उनीहरुले पूर्वीया लोकथारु नृत्य पनि पस्किएका थिए। कार्यक्रममा थारु पत्रकार संघ नेपाल सुनसरीका अध्यक्ष एवं कलाकार कुलदीप चौधरीले थारु समाजमा भइरहेको विकृति क्यारिकेचरमार्फत् प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यक्रममा थारु फिल्म मिस थार्नीका कलाकारहरु सीमा चौधरी, गीता माझी, जीवन चौधरी र पुष्प चौधरी पनि सहभागी थिए। उनीहरुले आधुनिक थारु गीतमा नृत्य गरेका थिए।

यसले थारुहरुमा रहेको विविधतालाई प्रवर्द्धन गर्ने काम गरेको विवेकशील थारु युवा समूहका लक्ष्मण हजारीले बताए। ‘हामीमा रहेको विभिन्न विविधतालाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याएर प्रवर्द्धन गर्ने काम गरेका छौं,’ उनले थारुवानसँग भने, ‘यसले एक ठाउँको सँस्कृति अर्को ठाउँका थारुले जान्ने बुझ्ने मौका पाउनेछन्।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *