म लालु यादवझैं नेता हुँ : खुमबहादुर खड्का

खुमबहादुर खड्का पदमा भए पनि, नभए पनि राष्ट्रिय राजनीतिमा सदाबहार छाउनु भएको छ । भ्रष्टाचारको आरोपमा जेल परे पनि आफ्नो पार्टीमा उहाँको पकड बलियो देखिन्छ । हिन्दु राष्ट्रको पक्षमा कांग्रेस नभए पनि उहाँ त्यस आन्दोलनलाई बोकेर हिँहिरहनु भएको छ । संविधान सभाको पहिलो चुनावमा दाङ क्षेत्र नं १ बाट एमाओवादीका इन्द्रजित चौधरीसंग हारे पनि सांसद हुनु र नहुनुमा राजनीति गर्न गर्न उहाँलाई केहीले पनि रोकेको छैन । प्रस्तुत छ, समसामयिक बिषयमा कृष्णराज सर्वहारी तथा मधुसुदन रायमाझीले उहाँको निवास सानेपामा गरेको कुराकानी ।

महाधिवेशन भएको ९ महिना भयो । तर कांग्रेस पार्टीभित्र त पदाधिकारी चयनलाई लिएर निकै किचलो देखियो नि ?
महाधिवेशन अघि मेरो र सभापति शेरबहादुर देउवाको बीचमा उपसभापति मलाई दिने सहमति भएको थियो । सहमति मलाई नै बनाउने भएको थियो । तर केही परिस्थितिका कारणले मैले तपाईलाई बनाउन सक्दिन, मलाई अपठ्यारो प¥यो भनेर सभापतिले भन्नु भो । मैले स्पष्ट रुपमा भनेको छु– तपाईको अधिकारको कुरा हो । तपाईलाई जो सजिलो लाग्छ, उसैलाई बनाउनुहोस् तर छिटो बनाउनुहोस् । पार्टी लथालिङ्ग छ । शशांकजी विरामीजस्तो हुनुहुन्छ, पार्टी कार्यालयमा जानुहुन्छ । कोषाध्यक्ष मन्त्री हनुहुन्छ । पदाधिकारी चयन भयो भने कम्तिमा पार्टी राम्रोसँग सञ्चालन हुन्छ ।

किन पदाधिकारी चयन हुन नसकेको ? साठी र चालिसको भागवण्डा नमिलेर हो ?
यो त सभापतिले नै जवाफ दिनुहोला । मैले त छ महिना अघि नै सभापतिलाई पदाधिकारी चयन गर्नु भनेको हो । केही कारणले मलाई पठाउन अप्ठ्यारो छ भने तपाईले जसलाई बनाए पनि भयो । म पदको लागि मर्ने मान्छे होइन । पार्टी संगठन कमजोर हुन्छ । स्थानीय चुनाव हुँदैछ । संसदको चुनाव १४ महिना मात्र बाँकी छ भनेको हुँ । अब छिटै गर्छु भन्नु भएको छ । क–कसलाई बनाउनुहुन्छ, त्यो मलाई थाहा भएन ।

तपाईले गोपालमान श्रेष्ठलाई उपसभापति बनाउन समर्थन गर्नु भो भन्छन् नि ?
मैले समर्थन वा विरोध केही गरेको छैन् । जो साथी भएपनि मलाई समस्या छैन् । मलाई आपत्ति छैन । म नहुँदा पनि गोपालमानजी हुँदा राम्रै हुन्छ भनेको छु । उहाँ पुरानो मान्छे हो । गोपालमान हुनैपर्छ भन्ने छैन । जो आएपछि समर्थन नै हुन्छ ।

कांग्रेसको हरेक महाधिवशेनमा गुटबन्दी सकियो भनिन्छ । तर गुट झन संस्थागत हुँदै जान्छ के कारण हो ?
यो नेतृत्वमा भर पर्ने कुरा हो । जो सभापति हुन्छ । उसले सबैलाई समेटेर लग्यो भने गुटबन्दी मत्थर हुँदै जान्छ । हरेक पार्टीमा दबाब समुह हुन्छ । हाम्रो पार्टीभित्र पनि छ । हाम्रो पार्टीभित्र अलिकता छताछुल्ल हुने गरी बाहिर आउँछ, फरक त्यत्ति हो । यसलाई हटाउने काम सभापतिको हो ।

महाधिवेशनपछि तपाईको गुट पनि अस्तित्वमा आयो नि त ?
पार्टीभित्र मेरो सबै साथीहरुसँग राम्रै छ । पार्टीभित्र मेरो गुट अहिले देखिको होइन । पहिल्यैदेखि नै थियो । मेरो गुट गिरिजा बाबुकै पालादेखि थियो । म अहिले पावरमा छैन । जो पावरमा हुन्छ, उसैको बोलवाला हुन्छ नि त । म त फुटपाथमा छु । नेविसंघ, तरुण दल र महिला संघले सबैले माया गर्नुभएको छ । पार्टीभित्र मेरो लगानी र त्याग र इमान्दारीतालाई सम्मान गर्नुभएको छ । त्यहीँ ठूलो कुरा हो । जबसम्म सबै कुरा मिल्दैन, तबसम्म सबै पार्टीभित्र गुटबन्दी हुन्छ ।

खास मिल्न नसकेको के हो ?
महाधिवेशन अघि मलाई उपसभापति बनाउने सहमति भएको थियो । सभापति अहिले मलाई बनाउन सकिदैन भन्नु हुन्छ । हो, यस्तै कारणले मिल्न नसक्ने भनेको हुँ । म त मान्छे हुँ । भगवान होइन नि । भगवानको पनि लाइक डिसलाइक हुन्छ । मेरो पनि चित्त त दुखेको होला । तर पनि म सहन सक्छु । यस्तो धेरैकुरा मैले सही सकेको छु ।

फुटपाथमा छु भन्नु भो । तर चुनावमा पार्टीको टिकट बाँड्ने ठाउँसम्म तपाईको भूमिका देखिन्छ नि । होइन ?
यस अघि टिकट बाँडने बेलामा म जेलमा थिएँ । देशभरीको को साथी कस्तो सबैलाई चिन्छु । सायद म जतिको देशैभरीको साथीहरुलाई चिन्ने पार्टीभित्र कमै साथीहरु होलान् । पार्टीभित्र इमान्दार साथीहरुलाई अन्याय गर्नु हुँदैन । अहिले कताकता जातीय कुरा आएको छ । त्यसलाई पनि समेटेर लैजानु पर्ने अवस्था छ । यो र त्यो गुट नभनी जानु पर्छ । संविधानले नै समावेशी स्वीकार गरेको छ । चुनाव नै जित्दैन भने टिकट किन खेर फाल्ने ? जित्नेलाई दिनु पर्यो । प्रधानमन्त्री र मन्त्री हुनको लागि मात्र राजनीति गरेको त होइन । हामीले लामो समय जेल बस्यौ । हामीसँगको साथीहरु कति मारिए । हामी त मारिनुबाट बँचेको न हो ।

चुनाव खर्चिलो हुँदै गएको छ । टिकट पाउनको लागि पोका नबुझाई नहुने अवस्था आएको हो ?
२०५६ सालमा मैले मेरो केही हात थियो । पोको बोक्ने अवस्था हुन्छ भन्ने कल्पना नै नगरिएको थिएन । तपाईले कस्तो खाले पोका भनेको हो, मैले बुझिनँ । जातजाति सबैलाई समावेशी हुने गरी टिकट बाँडेको हो । समावेशी ढंगले टिकट दिइनु पर्छ भन्ने मेरो बुझाइ हो । राप्रपामा कति समावेशी छ ? एमालेमा त भीम रावल बाहेक सबै बाहुन मात्र छन् । अब त समावेशी गर्नुपर्छ नत्र चल्दैन । दलित, महिला, जनजाति सबैलाई समेटनु पर्छ । महिलालाई ३३ प्रतिशत कोटा दिइने भनिएको छ । तर मुखले भनेर मात्र हुँदैन । नेताले यस्तो कुरामा विवेक पु¥याउनु पर्छ । जे गरिन्छ, संविधानमा व्यवस्था गरेको जस्तो लागू गर्नुपर्छ ।

१२ बुँदे सहमति भएको एक दशक पूरा भयो । तपाई पनि त्यसबेला एक पिलरको रुपमा हुनुहुन्थ्यो । यसलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
१२ बुँदे सहमति हुँदा सबै खुसी भए । देशलाई निकास दिन्छु भनेर खुसी भए । १२ बुँदेमा सबै कुरा छैन । नभएको कुरा हुँदा आज लागू हुँदा देशको अवस्था के भो ? धर्मनिरपेक्षता, गणतन्त्र संघीयताको कुरा थिएन । पावरमा भएपछि नेताहरुले एकपछि अर्को गल्ती गर्दै गएका छन् । देश त लथालिङ भएको छ । लाखौ युवाहरु वदेशिएका छन् । हामीले केही पनि गर्न सकेनौ । हिजो हाम्रो देशको राष्ट्रियता मजबुत थियो । तर आज त्यो कमजोर छ । एमालेले त राष्ट्रियता मुद्धा नै बनाएको छ । यो अवस्था के कारणले आयो ? माओवादीका पूर्व लडाकुहरुको कन्तविजोग छ । जो भएपनि उ नेपाली हो । उनीहरुको व्यवस्थापन गर्ने पहिलो काम प्रचण्डको हो । उहाँ त अहिले सरकारको प्रधानमन्त्री पनि हुनुहुन्छ ।

द्वन्द्वमा पर्ने धेरैले क्षतिपूर्ति पाएनन् । तपाईले त क्षतिपूर्ति पाउनु भयो । के क्षतिपूर्ति पनि ठूलाबडाले मात्रै पाउने हो ?
अख्तियारले मेरो घरको मूल्याङ्कन ५६ लाख गरेको थियो । मुद्धा लगाउदा ५४ लाखको लगायो । दाङको घर मन्त्री भएर बनाएको होइन । मैले मुद्धा हारें, जेल पनि बसे । दुइ चार लाख पनि नलाग्ने गोठको मुल्याङकन २४ लाखको गरेको थियो । २०४९ मा गोठ बनाएको, २०५१ मा फर्म दर्ता गरेको थिएँ । न्यायाधिशहरुले २०५४ सालमा बनायो भन्छन् । प्रमाण सबै हेर्न सक्नु हुन्छ । सम्पत्ति विवरण बुझाइएको थियो । मैलै स्वीकार गर,े जेल बसेर आए । क्षतिपूर्ति दावी गर्दा धेरैले पाएका छन् । तर केही साथीहरुले पाएका छैनन् । म विरामी भएको कारणले दिइयो । म यो देशमा तीन तीन पटक गृह मन्त्री भएँ । डेमोक्रेसीको लागि मैले जति सहयोग गरेको मान्छे कांग्रेसभित्र को छ ? कांग्रेसभित्र करोड पाएका छन् । मलाई १५ लाख दिंदा होहल्ला भयो । अहिलेको गृहमन्त्रीको सिफारिसमा भर्खरै २ करोड बाँडिएको छ । मसँग भएको भए लिने थिएन । पावर र पदमा थिइनँ त्यसैले नभएर लिएको हो । भन्न पो सजिलो छ त मान्छेलाई । आरोप लगाउन सहिजो छ । गर्न गाह्रै छ ।

सुजाता कोइरालालाई उपचार खर्च दिएको विषयमा निकै विवाद भयो नि ?
सुजाताले सरकारबाट उपचार खर्च नलिनु पर्दथ्यो । सुजातालाई केही कमी थिएन । लिनु हुँदैनथ्यो । तर किन लिनु भो ः उहाँले ने जान्ने कुरा हो ।

संविधानमा धर्म निरपेक्षता उल्लेख भैसकेको छ । तपाई हिन्दु राज्य हुनुपर्ने पक्षको अभियानमा किन सलंग्न हुनुहुन्छ ? के यो सम्भव छ ?
मैले यो सम्भव देख्या छु । म चैतबाट यसबारे आन्दोलन सुरु गर्दैछु । यति ठूलो इस्यूमा जनताको जनमत लिनु पर्ने थियो कि थिएन ? पार्टीभित्र निर्णय नगरेर जारी गरिएकोमा आफ्नै पार्टी काँगे्रसलाई पनि दोष दिन्छु । विश्वमा यहि एक मात्र हिन्दु राष्ट्र हो । मुस्लिमहरुलाई ५१ प्रतिशत हुँदा इसाई धर्म चाहिने, हामीले स्वर्गको परिकल्पना गरे भन्दा पनि राम्रो देश बनाइसकेका युरोपियन देशहरुलाई क्रिस्चियन धर्म चाहिने । कसैलाई बाइबल, कसैलाई कुरानमा हात राखेर कसम खानुपर्ने । हामीलाई चाहिँ के गर्ने ? माओवादीहरु क्रिस्चियनको एजेन्डामा गाई काटेर खानुपर्छ भनेर विशेषगरी युरोपियन युनियनहरुको पछि लागेर धर्म निरपेक्षता ल्याएको हो । त्यसैले यो सच्याउनुपर्छ । जनताको म्यान्डेट लिउँ । जनताले जे भन्छ त्यही गर्नुपर्छ ।

पार्टीको लाइनमा नहुँदा नहुँदै तपाईले पार्टीको नाम जोडेर नेपाली काँगे्रस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियान भनेर यही मंसिर १५ गते प्रज्ञामा ठूलो कार्यक्रम गर्दै हुनुहुन्छ । किन ?
हो, यस टपिकमा पार्टीले पास गरेको छैन । गिरिजाबाबुले गर्नु भयो । त्यो सबैले मान्ने ? उहाँ त व्यक्ति हो । पार्टीमा पास गर्नु पर्ने थिएन ? मैले पटक पटक महासमितिको बैठक बोलाउन भनेको छुँ । त्यसमा छलफल गरेर टुंग्याउः भनेको छुँ । महासमितिमा पास भए म आफ्नो एजेन्डा छोड्दिउँला । या त पार्टी छोडुलाँ या त आफनो एजेन्डा छोडुलाँ । पशुपति शमशेर राणाले छुट्टै अडान राखे पनि राप्रपा नेपालसँग मिलेर हिन्दु राष्ट्रकै लाइनमा आइसकेका छन् । सुस्त सुस्त सबै आउँछन् । अरुबाट गाइडेड हुनेहरु आउँदैनन् ।

तपाईलाई भारतको सत्तारुढ दल भाजपाबाट गाइडेड भन्ने अर्को आरोप पनि छ नि । भर्खर रामदेव आउँदा दौडिँदै दर्शन भेट गर्नु जानुभयो त ?
म हिन्दु को कुरा गरेपछि साधु सन्तलाई भेट्न जानु ठूलो कुरा भएन । ढोग्छु, आज रामेदव आए, भेंटे । भोलि रविशंकर आएपनि भेट्छु । उहाँहरुको संगतमा ज्ञान पाइन्छ, हामीलाई नैतिक उपदेश दिनुस् । हेर्नुस् यहाँको जति पनि आन्दोलन भएको छ, त्यसमा सफल बनाउन भारतको हात छ चाहे त्यो छयालीसको आन्दोलन होस्, ६२÷६३ को आन्दोलन होस् या २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरको कुरा होस् । त्यसैले भारतका नेताहरुको नैतिक समर्थन लिन जरुरी छ । फेरि उहाँहरु त बाबा योगी हुुनुहुन्छ । म त रामदेवलाई महापुरुष नै भन्छु । त्यसैले भेट्न गएको ।

धर्म निरपेक्षताबारे संविधान संशोधनको प्रस्तावमा यो कुरा परेको छैन त ?
क्मल थापाहरुले प्रस्ताव गरेका छन् नि । अब साँच्चिकै उहाँ हिन्दुवादी हो की मन्त्री खानलाई मात्रै प्रस्ताव अगाडि सारेको हो । त्यो त चाँडै देखिहाल्छ नि ।

तपाईको धर्मपत्नी शिला खड्का पनि सांसद हुनुहुन्छ । तर देशको चिन्तनबारे उहाँको विचार त कहींकतै सुन्न पाइएन नि ?
मेरो श्रीमती मात्रै होइन, मेरो पूरै परिवार राजनीतिमा छ । उनको (श्रीमतिको) राजनीतिमा आउने इच्छा पनि थिएन । अलिकति प्रेस्टिज जस्तो भो, त्यसैको लागी राजनीतिमा ल्याएको हो । अहिलेको मन्त्रीमण्डलमा सिंचाइ मन्त्री नै दिने प्रस्ताव गरिएको थियो । तर मैले मानिनँ । उनको रुचि भए आगामी चुनावमा भाग लेलिन्, नभए घर गृहस्थी नै गर्लिन् । म त छँदैछु नि सदावहार राजनीति गर्ने ।

तपाई अन्तिम समयसम्म राजनीति गर्ने भन्नुभयो । तर भ्रष्टाचारको काण्डले आधिकारिक रुपमा चुनावमा उठ्न सक्ने अवस्था त छैन नि ? कि हिन्दु राज्यकै वकालतमा राजनीतिमा रुम्मलिने हो ?
उठ्न सक्ने अवस्था किन छैन ? तपाईले हेर्नुस् । मलाई मुद्दा लाग्दा खेरी के थियो प्रावधान । त्यो अनुसार न हो । अहिलेको कानुन त मलाई लाग्दैन । मलाई चुनाव लड्न कुनै कारणले छेक्दैन । तर म एक व्यक्ति चुनाव लडे पनि नलडे पनि केही फरक पर्दैन । म त अरुलाई चुनाव लडाउने व्यक्ति हुँ । टिकट बाँड्ने व्यक्ति हुँ । विहारको लालु यादव अहिले चुनाव लडेको छ र ? तर राष्ट्रिय राजनीति त उसकै सेरोफेरोमा घुमिरेहेको छ । मेरो गृह जिल्ला दाङमा कसैले पनि भ्रष्टाचार गरेको, एक पैसा खाएको पत्याएका छैनन् । अहिले पनि म लडे भने कसैले पनि मलाई हराउन सक्दैन ।

तपाई दाङको थारु समुदायकै वरिपरि हुर्किनु भयो । राज्य पुनसंरचनाको सवालमा थारुहरु उपर अन्याय भएको जस्तो लाग्दैन ?
पहिलो त यो संघीयतामा जानु नै गलत कुरा थियो । बरु यहाँ आरक्षण सम्म ठीक छ । जस्तो कि दाङमा अहिले पाँचवटा निर्वाचन क्षेत्र छ । त्यहाँ २ वटा क्षेत्र थारुहरुलाई नै आरक्षण गरिदिने हो भने किन चाहियो थरुहट-थारुवान क्षेत्र ? त्यस्तै दलितको लागि आरक्षण छुट्याइदिउँ । त्यस्तै महिला, पिछडा वर्ग, अल्पसंख्यक आदिलाई आरक्षण दिएर ल्याउने उपाय गर्नुपर्छ । तर यी सब छोडेर हामी संघीयतामा गयौँ । थारु त कञ्चनपुरदेखि झापासम्म छ, कुन क्षेत्रलाई थरुहट मान्ने ? सबैभन्दा सजिलो त पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाइदिएको भए हुन्थ्यो । आखिर परिवारझैँ मिलिसकेका थिए । अहिलेको संरचनाले त पश्चिमा मुलुकहरुको रुचिमा छिमेकी चीनलाई घेर्नलाई जस्तो आयो । यस्तो प्रदेश संरचनाले पछि भारतलाई पनि टाउको दुखाइ हुन्छ ।
अर्को बुरा मधेस मधेस मात्रै किन पद्रेश चाहियो ? पहिले दुइटा भन्थे, अहिले ३ वटा चाहियो रे । संघीयता नै चाहेको भए, उत्तर दक्षिण प्रदेश गर्दा के बिग्रिन्छ ? एमालेले यो कुरा उठाइराखेको छ । पहाडी क्षेत्रमा उसलाई आगामी चुनावमा प्लस प्वाइन्ट हुन्छ । कैलाली, कञ्चनपुरको समस्या आयोगबाट समाधान गर्ने भन्ने सुनिएको छ । त्यो आयोग कस्तो हुने हो । संविधान कतिपल्ट संशोधन गर्नु पर्ने हो ? अहिलेको संशोधित संविधानले निकास देला जस्तो लाग्दैन मलाई । यसले झन समस्या बल्झाउँछ ।

चुनावको दिन नजिकिँदै छ । तर सरकारबाट कुनै गृहकार्य देखिँदैन यसबारे के भन्नुहुन्छ ?
सबैलाई मध्यनजर गर्दे तीन तहको चुनाव सँगै पनि गर्न सकिन्छ नि । तर बजेट नै कार्यान्वयन भएको छैन । चुनाव भयो भने प्रदेशका विधान सभा सदस्य कहाँ बसेर काम गर्ने हुन् ? कि भत्ता मात्रै खाइरहने हुन् ?

मुलुकको समग्र निकास अब के देख्नु हुन्छ त ?
तीनवटा कुरामा जनमत संग्रह गर्नुपर्छ । पहिलो सनातन हिन्दु राष्ट्र कायमबारे, दोश्रो संघीयताबारे तथा तेश्रो राजसंस्थाको विषयमा । राजा देशको जुन कुनामा गए पनि उनको वरिपरि मान्छेको ओइरो लागेको छ । यी तिन चीजमा स्थायित्व नहुँदा सम्म देशमा शान्ति हुन्न। शान्ति नभए विकास हून्न । हामी सधैँ खातेको खाते रहनेछौँ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *