केन्द्रीय कारागारबाट लक्ष्मण थारूलाई फेरि कैलाली लगियो

टीकापुर घटनाको मुख्य योजनाकार रहेको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका नेता लक्ष्मण थारुलाई कैलाली कारागार धनगढीमा फिर्ता ल्याइएको छ ।

औषधोपचारको क्रममा करिब साढे सात महिना अगाडी केन्द्रीय कारागार काठमाडौं सारिएको उनलाई विहिवार कैलाली कारागारमा फिर्ता गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

गत वर्ष भदौ ७ गते घटेको टीकापुर घटनावारे जिल्ला अदालत कैलालीले मुद्धा हेरिरहेकोले पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई कैलाली फिर्ता गरिएको हुन सक्ने जनाइएको छ ।

यसैबीच नेता थारूलाई उदृत गर्दै उनको पारिवारिक स्रोतका अनुसार आफुहरु घटनामा संलग्न नरहे पनि जबरजस्ती दोषी ठह¥याइएको बताए । जुन मानवअधिकारको मापदण्ड विपरित रहेको उनको भनाई छ ।

दशैं अगावै मुद्धा फिर्ताको बहस चलिरहेको सन्दर्भलाई लक्षित गर्दै उनले भने–‘विना प्रमाण हामीलाई झुठो मुद्धा लगाई सजायको भागिदार बनाइयो, हामी निर्दोष छौं, तर मुद्धा फिर्ताको प्रक्रियामा धेरै ढिलाई भो ।’

आफुहरुको माग र मुद्धा सम्बोधन नभएसम्म आफुहरुकोे आन्दोलन जारी रहे पनि नेता थारूको भनाई छ ।

थरुहट आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपको क्रममा घटेको उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका २५ जनालाई जिल्ला अदालत कैलालीले पुर्पक्षको लागि करागार चलान गर्ने फैसाला सुनायो ।

अदालतको पूर्व अतिरिक्त न्यायधीश भुवनसिह थापाको एकल ईजलाससे ०७२ साल असोज २४ गते (आइतबार) दुई नाबालकसहित २२ जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको थियो । तर ती नाबालकहरुलाई बाल सुधार गृहमा पठाइयो । त्यस्तै फरार सूचीमा रहेका अन्य तीन जनालाई पनि पक्राउ गरी कारागार चलान गरिएको हो ।

आन्दोलनकारी र प्रहरीबीचको उक्त दोहोरो झडपको क्रममा एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशब बोहरा सहित ८ जना सुरक्षाकर्मी र एक नावालकको ज्यान गएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *