थारुको माग पूरा नगरे छठपछि निर्णायक आन्दोलन : किशोर विश्वास

कारी महतो थारु/चितवन।

संविधान संशोधन गरी सीमाङ्कन सच्याएर चितवनदेखि कञ्चनपुरसम्मको थारु बहुल क्षेत्रहरुलाई समेटेर थरुहट/थारुवान प्रदेश कायम गर्नुपर्ने मागसहित नारायणगढको पुलचोकमा थारु समुदायले विरोध सभा तथा जितिया विशेष कार्यक्रम गरेका छन्।

कार्यक्रममा बोल्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय सचिवालय समितिका सदस्य किशोर कुमार विश्वासले भने-  “नयाँ संविधानले थारुहरुको हक, अधिकार, आत्मपहिचान, प्रतिनिधित्व, पहुँच र स्वाभिमान स्थापित गर्न नसकेकोले यो संविधान अबिलम्ब संशोधन हुनुपर्दछ।” विश्वासले थप बोल्दै भने “हाम्रा माग र मुद्दा सम्बोधन भएन भने दशैं, तिहार र छठपछि निर्णायक आन्दोलन गर्छौ।”

नेपाल देश निर्माण हुनुभन्दा हजारौं वर्ष अगाडिदेखि चितवन लगायत तराईभूमिमा थारुहरु बसोबास गर्दै आएको समुदाय भएकोले थारुहरुलाई आप्रवासीको जस्तो व्यवहार नगर्न अनुरोध गर्दै विभेद कायम रहे हतियार उठाउन समेत पछि नपर्ने चेतवानी विश्वासले दिए। उनले भने “हामीले संविधान खारेज गर्ने माग राखेका छैनौं, केही धाराहरु विभेदकारी भएकोले यो संविधान अधुरो रहेको छ। ती धाराहरु संशोधन गर्ने हामीले संविधान खारेज गर्ने माग राखेका छैनौं, केही धाराहरु विभेदकारी भएकोले यो संविधान अधुरो रहेको छ। ती धाराहरु संशोधन गर्न भनेका छौं।”

कार्यक्रमका वक्ताहरुले झुटा मुद्दा लगाई पक्राउ गरिएका थारु आन्दोलकारीहरुलाई बिनासर्त रिहा गर्नुपर्ने, तराईलाई दुई वा तीन प्रदेशमा पुनः सिमाङ्कन गर्नुपर्ने, संविधान संशोधन अबिलम्ब गर्नुपर्ने लगायतका १३ बुँदे माग प्रस्तुत गरेका थिए।

विभिन्न दल लगायतका जनसमुदायले संविधान दिवस मनाइरहेको छन् भने अर्कोतिर थारु लगायत जनजाति, मधेसीहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाइरहेका छन्। विरोध सभा थारु कल्याणकारिणी सभा चितवन, थरुहट/थारुवान संयुक्त संघर्ष समिति र थारु महिला सभा चितवनले संयुक्त रुपमा आयोजना गरेका थिए।

कार्यक्रममा थाकसका पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, थारु राष्ट्रिय मुक्ति मोर्चा चितवनका अध्यक्ष विष्णु कुमारी चौधरी, थाकसका पूर्व केन्द्रीय सदस्य चन्द्र कुमारी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष पदम गुरुङ, थारु महिला समाजका अध्यक्ष धन्जु महतो र थरुहट थारुवान संयुक्त संघर्ष समितिका ललित कुमार चौधरीले विरोेध मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम थाकस चितवनका सभापति विश्राम महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो। विरोध सभा गर्नुपूर्व वीरेन्द्र क्याम्पसदेखि पुलचोकसम्म कालो झण्डा र व्यानरसहित विरोध र्‍याली गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *