सप्तकोसीमा बेपत्ता भएका १० जनाको खोजीकार्य जारी

सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा अझै १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो।

उद्दार गरिएका र गाउँलेका अनुसार, बेपत्ता हुनेमा ४ जना बालिका, पाँच जना महिला र एक डुंगा ठेकेदार रहेका छन्। जसमा महेन्द्रनगर–४ का गोल्छा झाको ७ वर्षीया छोरी रेखा, २५ वर्षीया मीना झा र उनकी ३ वर्षीया छोरी पूजा बेपत्ता भएका छन्। यस्तै, महेन्द्रनगर–४ कै पटवारी उरावकी १५ वर्षीया छोरी, ४५ वर्षीया पार्वती चन्द्रवंशी, ४० वर्षीया सकुन्तला चन्द्रवंशी, प्रकाशपुर–४ की ३० वर्षीया सीता कविरथ, वडा नं. ५ का गोल्टु चन्द्रवंशीकी १२ बर्षीया छोरी र ५५ बर्षीया तनमदेवी यादव बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगा डुब्दा ठेकेदार तुफानी चन्द्रवंशी पनि बेपत्ता छन् ।

बेपत्ता अहिलेसम्म कसैलाई पनि भेटाउन नसकिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इनिस्पेक्टर अनिल पौडेलले बताए । उनका अनुसार आज बेपत्ताको खोजी गर्न पाँचवटा टोली मोटरबोट र डुंगामार्फत परिचालन गरिएको छ ।

सुनसरीकै श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर आउने क्रममा शनिबार ११.४५ बजे डुंगा डुबेको थियो । शनिबार साँझ अबेरसम्म खोजी गर्दा पनि बेपत्तालाई फेला पार्न नसकिएको र रातिको बेला जोखिम हुनाले गर्दा रातभरका लागि खोजी कार्य रोकेर आज बिहानैदेखि थालिएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।

श्रीलंका टापु प्रकाशपुर र  महेन्द्रनगरको एक–एकवटा वडा अलगिएर बनेको १२ हजारभन्दा बढी बासीन्दाको वस्ती हो। मधेसको आदिवासी चन्दवंशी लगायत सबैखाले जातजाती पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबाँस श्रीलंका टापुका बासीन्दाका लागि कोसी वारपार गर्न एकमात्र साधन डुंगा हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *