थरुहट थारुवानद्वारा एक महिने आन्दोलन घोषणा, असोज ३ गते दस स्थानमा विरोध प्रदर्शन गर्ने

थरुहट थारुवान संयुक्त संघर्ष समितिले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वमा सरकारले घोषणा गरेको न्यायिक छानबिन आयोग आफ्ना लागि अस्वीकार्य रहेको निर्णय गरेको छ। राजधानीमा मंगलबार सकिएको आन्दोलन परिचालन केन्द्रीय समितिको बैठकले टीकापुरलगायत थरुहट क्षेत्रमा गत वर्ष भएका हिंसात्मक घटना छानबिन गर्न सम्बन्धित क्षेत्रकै न्यायिक छानबिन आयोग प्रमुख तोकिनुपर्नेमा प्रदेश नम्बर २ का बासिन्दा तोकिएको भन्दै असन्तुष्टि जनाएको हो।

‘छानबिन आयोगप्रति हाम्रो असहमति छ,’ आन्दोलन परिचालन समितिका प्रेमीलाल चौधरीले भने, ‘त्यसले निष्पक्ष सत्यतथ्य बाहिर ल्याउला भन्नेमा हाम्रो आशंका छ।’ बैठकले बारम्बार सत्ता परिवर्तनले आन्दोलनको मुद्दा सुनुवाई हुन नसकेको भन्दै राजनीतिक मुद्दामा केन्द्रित हुन सरकारसमक्ष माग गरेको चौधरीले बताए।

संघर्ष समितिका संयोजक धनीराम चौधरीको अध्यक्षतामा बसेको बैठकले असोज ३ गते जारी संविधानविरुद्ध देशका दस स्थानमा विरोध प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ। जसअनुसन दुबही, कदमाहा, लालबन्दी, जितपुर, चितवन, रुपन्देही, दाङ, बाँके, धनगढी र काठमाडौं तोकिएको छ।

समितिले असोज १४ सम्मका लागि एक महिने आन्दोलन पनि घोषणा गरेको छ। भदौ २४ देखि २९ गतेसम्म संघर्ष समितिको जिल्ला भेला गर्ने, थारुहरुको पर्व अट्वारी र जितियालाई आन्दोलनको रुपमा मनाउनेलगायत निर्णय भएको चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *