राना थारुको आस्थाको धरोहर इटाहा क्षेत्र ओझेलमा

कञ्चनपुरका राना थारु समुदायको धार्मिक आस्थाको धरोहर इटाहा क्षेत्र ओझेलमा परेको छ । प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावमा कञ्चनपुरको देखतभुली–६ मा पर्ने इटाहा क्षेत्र ओझेलमा परेको हो ।

ऐतिहासिक र धार्मिक क्षेत्रका रुपमा परिचित इटाहा क्षेत्रमा प्राचीनकालीन इँटा र सिक्काहरु पाइनुले यस क्षेत्रमा प्राचीनकालमा मानव बसोबास रहेको पुष्टि गरे पनि संरक्षणका लागि बेवास्ता हुँदै आएको छ ।

पुरातात्विक वस्तुको संरक्षण नहुँदा पुराना इँटा र धातुका सिक्का उत्खनन गरेरसमेत चोरी हुने क्रम बढेको छ ।

लालझाडी मोहना संरक्षण क्षेत्रमा पर्ने इटाहा क्षेत्रमा पाइएका इँटाको चौडाइ, लम्बाइ हाल पाइने इँटाको भन्दा निकै ठुलो रहेको छ । जानकारहरुका अनुसार ती इँटाको प्रयोग किरातकालीन समयमा हुने गरेको थियो ।

प्राचीन इँटाको प्रयोग गरी बनाइएको कुवा र मूर्तिसमेत यस क्षेत्रमा रहेको स्थानीय समाजसेवी ठगी रानाले बताए । उनका अनुसार यहाँका बासिन्दा पहिले भारतीय क्षेत्रबाट आउने डाँकाका कारण पीडित रहेका थिए ।

‘मानव बस्ती रहेको इटाहा क्षेत्रमा डाँकाहरु लुटपाटका लागि पुगे पनि बाटो बिराएका कारण लुटपाट गर्न नसकी फर्केकाले त्यसै दिनदेखि यस गाउँको नाम देखतभुली रहन गरेको हो,’ उनले भने। राना समुदायले इटाहा क्षेत्रमा पाइएको मूर्ति स्थापित गरी इटाहा बाबाका नामले दसैँका बेला पूजासमेत गर्दै आएका छन् । इटाहा बाबाको दशहरा र शिवरात्रिका बेला यहाँ पूजा हुने गरेको छ ।

वर्षौंदेखि पुजारीका रुपमा राना थारु समुदायका व्यक्तिले यहाँ पूजा गर्नुपर्ने चलन रहेको छ । थारु समुदायका व्यक्तिले पूजा गर्ने यो मात्रै एक क्षेत्र रहेको हेमलाल चौधरीले बताए।

चोखो मनले भाकल गरेमा मनोकांक्षा पूरा हुने भएकाले स्थानीय बासिन्दा यस क्षेत्रलाई श्रद्धापूर्वक स्मरण गर्ने गर्छन् ।

गाविसको रु ५० हजारको सहयोगमा स्थानीय बासिन्दाले मन्दिर बनाउने जमर्को गरेका भए पनि मन्दिरका लागि पर्याप्त बजेट नपुग्दा मन्दिर निर्माणको कार्य पूरा हुन सकेको छैन ।

इटाहा क्षेत्रको १० बिगाहा जग्गालाई समेटेर धार्मिक वनका रुपमा विकास गरिएको छ । धार्मिक वनमा बँदेल, चित्तल, नीलगाईलगायतका जनावर दिउँसै देख्न सकिन्छ ।

यस क्षेत्रले प्रशस्त पर्यटकीय सम्भावना बोकेको भए पनि प्रचारप्रसार, बाटोघाटो र भौतिक पूर्वाधारको विकास नहुँदा ओझेलमा रहेको भीम रानाले बताए ।

“पर्यटकीय सूचिमा इटाहा क्षेत्रलाई सूचिकृत गर्न पहल गरी भौतिक पूर्वाधार विकासका लागि जिल्ला विकास समितिलाई आग्रह गर्दै आए पनि हालसम्म चासो दिइएको छैन,’  उनले भने। नजिकै रहेको दोदा नदीले यस क्षेत्रमा जग्गा कटानको कार्यलाई समेत तीव्र बनाउँदै लगेकाले इटाहा क्षेत्रको अस्तित्व खतरामा पर्दै गएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *