स्वास्थ्यमन्त्रीलाई जिल्लाबासीले भने- ‘आश्वासन होइन, सिकलसेल परीक्षण गर्ने मेसिन पठाउ’

लखन चौधरी/धनगढी।

कैलाली जिल्लास्थित आदिवासी थारू सम्बद्ध विभिन्न संघ–संस्थाहरुले स्थानीय स्तरमै सिकलसेल एनिमिया प्ररिक्षण गर्ने ‘एचवि इलेक्ट्रोफोरोसी’ मेसिन तत्काल उपलब्ध गराउँनु पर्ने माग गर्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।

कैलालीबाटै निर्वाचित स्वास्थ्य मन्त्री रामजनम चौधरीले सेती अञ्चल अस्पतालमा सिकलसेल परीक्षण गर्ने मेसिन उपलब्ध गराउने पटक–पटक आश्वासन दिए पनि हालसम्म उपलब्ध नभएको भन्दै भन्दै उनीहरुले ६ बुँदै ज्ञापनपत्र बुझाएका हुन् ।

गत आर्थिक वर्षमा मेसिन खरिदको लागि बिनियोजित बजेट फ्रिज गएको थियो । जुनकारणले पनि उनीहरु चिन्ता व्यक्त गर्दै चालु आर्थिक वर्षमा पनि विगतको जस्तो दुखद खबर नआओस भन्दै खबरदारी स्वरुप ज्ञापनपत्रमार्फत स्वास्थ्यमन्त्री चौधरीको ध्यानाकर्षण गराएका हुन् ।

कैलाली जिल्लास्थित थारू नागरिक समाज, थारू कल्याणकारिणी सभा, मुक्त कमैया समाज, मानवअधिकार निगरानी समूह, सेतो गुराँस बाल विकास संस्था, थारू महिला सभा, मुक्त कमैया महिला विकास मञ्च, वेस र इन्जल नेपाललगायत संघ संस्थाहरुले स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ती संघ–संस्थाहरुले प्रेसित ज्ञापनपत्र अनुसार सिकलसेल एनिमिया रोग थारू समुदायको वंश विनाशमा लागेकोले यो रोगलाई जनस्वाथ्य समस्याको रुपमा स्वीकार गर्नु पर्ने, रोग पत्ता लगाउने मेसिनसहित अञ्चल अस्पतालमा प्रयोगशालाको व्यवस्था गर्नु पर्ने, सरकारले परिक्षणको रुपमा सुरु गरेको स्वास्थ्य वीमा हुने रोगमा सिकलसेल रोगलाई पनि समावेश गरिनु पर्ने माग गरिएको छ ।

त्यस्तै, रोग पत्ता लगाउनको लागि थारू समुदायको हरेक व्यक्तिको निशुल्क रगत परिक्षणको व्यवस्था गरिनु पर्ने, स्वास्थ्य चौकीदेखि अस्पतालसम्मको स्वास्थ्य निकायमार्फत सिकलसेल एनिमियावारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने, गर्भावस्थादेखि बालबालिकामा रोग छ, छैन, भनी सरकारले व्यवस्थित रुपमा चेकजाँचको व्यवस्था गर्नु पर्ने र साउन २० गते सिकलसेल रोग विरुद्धको राष्ट्रिय दिवसको रुपमा घोषणा गर्नु पर्ने माग उक्त ज्ञापनपत्रमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा पनि सिकलसेल रोग परिक्षणको लागि मेसिन खरिद गर्ने बजेट फिर्ता गए कडा संघर्ष गर्ने पनि विज्ञप्तीमार्फत चेतावनी दिइएको छ ।

थारू नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीले रोग पत्ता लागेको अवस्थादेखि हालसम्म औषधोपचारको लागि आवाज उठाउँदै आएको बताउँदै तत्काल रोग परिक्षण गर्ने मेसिन उपलब्ध गराउँनु पर्नेमा जोड दिए । हालसम्म कैलाली–कञ्चनपुरलगायत जिल्लाका रोग पीडितहरुले रोग परिक्षणको लागि भारत या राजधानी धाउनु पर्ने बाध्यता रहेको बताउँदै संयोजक चौधरीले चालु वर्षमा अञ्चल अस्पतालमा मेसिन जडान नभए अञ्चल अस्पताल, जनस्वास्थ्य कार्यालयलगायत निकायलाई घेराउ गर्ने बताए । यसैबीच उहाँ रोग परिक्षण तथा औषधोपचारलाई लिएर एउटा टोली बनाई राजधानी डेलिगेसन जाने पनि जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *