कैदी परिवारको बेदना : ‘हाम्रा मान्छे रिहाई गर या हाम्लाई पनि जेलमा हाल’

थरुहटथारुवान आन्दोलनको क्रममा टीकापुर घटना घटाएको अभियोगमा जेल चलान गरिएका कैदीबन्दीहरुका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

घटनामा संलग्न नरहे पनि झुठो मुद्धा लगाई जेल चलान गरेको भन्दै तत्काल रिहाई हुनु पर्नेलगायत पाँच बुंदे माग राख्दै कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुल क्लाम खाँ मार्फत प्रधानमन्त्री ओलीलाई मंगलवार ज्ञापन पत्र बुझाएका हुन् ।

पुर्पक्षको लागि जेल चलान गरिएका २५ जना कैदीबन्दीका परिवारजनले जिल्ला प्रशासन कार्यालय पुगी संयुक्त रुपमा आफ्नो गुनासा तथा पीडा प्रमुख जिल्ला अधिकारी खाँलाई राख्दै ज्ञापनपत्र बुझाएका थिए ।

प्रधानमन्त्रीलाई बझाएको पत्रमा टीकापुर घटनामा संलग्न रहेको भनी पुर्पक्षको लागि जेल चलान गरिएका राजबन्दीहरुलाई बिना सर्त तत्काल रिहाई गरिनु पर्ने, राजबन्दी परिवारहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने, भदौं ८ गते थारू समुदायको घर, व्यवसाय लुटपाट, तोडफोड, आगजनी गर्ने अपराधीहरुलाई तत्काल कारवाही गरिनु पर्ने, ८ गते भएको सबै क्षतिपूर्ति तत्काल व्यवस्थापन गरिनु पर्ने, सरकार मातहतको सुरक्षा संयन्त्रलाई निष्पक्ष व्यवहार गर्नु पर्ने माग गरेका थिए ।

जेल चलान गरिएका थारु कल्याण कारिणी सभा कैलाली सभापति लाहुराम चौधरीकी छोरी रामेश्वरी चौधरीले प्रहरी प्रशासनले पूर्वाग्राही ढंगले थारू समुदायलाई हेरेको बताइन् । उनले अधिकार र न्यायको लागि आन्दोलन गरेकै निहुमा राज्यले झन अन्यायमा पारेको दुःख व्यक्त गरिन् । घटनामा संलग्न नरहेको अवस्थामा पनि झुठा मुद्धा लगाई आफ्नो बुवासहित अन्यहरुलाई जेल चलान गरिएकोले तत्काल रिहाई हुनु पर्ने माग राखिन् ।

काँखे बच्चाहरु च्यापी जिल्ला प्रशासन कार्यालय पुगेका कैदीबन्दीका परिवारहरुले राज्यले थारू समुदायलाई हेप्नसम्म हेपेको भनी आक्रोश पोखे ।

काँखमा बच्चा च्यापी प्रशासन पुगेकी कैदी विसराम चौधरीकी श्रीमती पार्वती चौधरीले पनि आन्दोलनमा नगएपनि आफ्नो श्रीमानलाई जेल चलान गरेको बताइन् ।

उनले भनिन्–‘हामी यो देशका नागरिक होइनौं, हौ भने हामीलाई यति अन्याय किन ?, हाम्रो मान्छेलाई कि तत्काल रिहाई गर कि, हामीलाई पनि जेलमा हुल ।’

त्यस्तै कैदी रामप्रसाद चौधरीकी श्रीमती प्रेमा चौधरीले अधिकारको आन्दोलन गर्दा राज्यबाट ठूलो अन्याय भएको आक्रोश पोखिन् । उनले भदौ ८ गते थारूहरुकोे घरमा तोडफोड तथा आगजनि गर्नेहरु खुलयाम घुमे रहेको बताइन् । तर उनीहरुलाई कारवाही नहुनुले राज्यके नियत छटाछुल्ला भएको उनको भनाई थियो ।

उनीहरुले यदि कैदीबन्दीहरुलाई तत्काल रिहाई नगरिए फेरी पनि दुःखद घटना घट्ना सक्ने पनि चेतावनी दिए ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ खाँले आफुले गम्भिरतापूर्वक टीकापुर घटनालाई लिएको बताए । यहाँ प्रस्तुत भएको मागलाई तत्काल आफ्नो माथिल्लो निकायलाई पठाउने पनि उनले प्रतिवद्धता जनाए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *