थारूहरू धर्तीपुत्र हुनु वरदान रहेनछ, अभिशाप पो रहेछ !

उन्नती चौधरी।

थारू समुदायको इतिहास हेर्ने हो भने अन्य समुदाय भन्दा धेरै फरक देखिन्छ। थारूको खानपान, बोली भाषा, विचार, रहनसहन, चाडपर्व बेग्लै छ। थारू समुदाय वैचारिक रूपमा पनि फरक छन्। धेरै पहिलेदेखि नै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा विशेषगरी थारू बस्ती थियो।

थारूहरू आदिबासी भएको र तराईको भूमिलाई आवाद गरेकाले पहिले यिनीहरूसँग प्रसस्त जमिन थियो। परम्परागत रूपमा थारूको आफ्नो जीवन जिउने कला थियो। बाटोघाटो, कुलो, पानी, पँधेरो बनाउने बेला सामूहिक रूपमा काम गर्ने चलन हालसम्म पनि कायमै छ। थारूले जहिले पनि जीवन जिउने आधार जमिनलाई ठाने।

संयुक्त परिवारमा बस्ने चलन रहेका थारू समुदाय एउटै भान्सामा सयजना भन्दा बढी खाने गर्थे तर विस्तारै यिनीहरूसँग भएको जमिन राज्यको नीति र आफ्नै कारण पनि गुम्दै गयो । आफूसँग जमिन छँदै छ भनि कामै नगरी बस्ने, खाना नपुगे जमिन बेच्दै मस्ती गर्नेहरूको संख्या पनि कम छैन समाजमा।

जमिनको आडमा पुर्ख्यौली पुस्ताले त किताबी ज्ञान लिन सकेन तर पछिल्लो पुस्ताले समेत छोरा छोरीलाई किन पढाउने, पढेपछि हलो कस्ले जोती दिन्छ? भन्दै शिक्षाबाट वञ्चित गरे र गर्दैछन्। १९९० सालदेखि बल्ल थारू समुदायका केही व्यक्तिले आफ्ना छोराछोरीलाई स्कुल पठाउन सुरु गरेको देखिन्छ तर तिनीहरूमा पनि जीवन जिउने अन्तिम विकल्प हलो नै हो भन्ने मानसिकता भएका कारण शैक्षिक विकासले गति लिन नसकेको देखिन्छ। थारू समुदायमा पनि थारू जमिन्दारले थारूलाई नै शोषण नगरेका होइनन्।

गरिब थारूहरूका छोरी हुने खाने आफ्नै इष्टमित्र कहाँ स–साना बालाबालिकाको स्याहार गरिदिने परम्पराले पछि कमलरीको रूप धारण गरेको र पछि कमलरी प्रथाको रूपमा विकास भएको देखिन्छ। समय सदूपयोग गर्नका लागि खोलामा माछा मार्ने, जंगल जाने, हाते सीप प्रयोग गरी विभिन्न खाले सामग्री बनाउने सीपको संरक्षण त गर्न सफल भए तर त्यसको सम्वर्द्धन र विस्तृत बजारीकरण गर्न सकेनन्।

आफूले बनाएका सामग्रीका मूल्य दिन नसकेर सित्तैमा बाँड्ने वा सामानबाट सामान नै साटासाट गर्ने चलन मौलायो। धेरैमा भाग्यवाद हाबी भयो, भगवानप्रति आश्रित बने। धेरै थारूहरूको दिनचर्या भाग्यवादमा बित्यो। तुलनात्मक रूपमा कम थारूले किताबी ज्ञानलाई महत्व दिए। उनीहरू पढाइलेखाइ गर्नुपर्छ भन्दै आफ्नै समुदायको सामाजबाट विभिन्न खाले कुरा पचाउँदै आफ्ना छोराछोरीलाई पढाए। त्यतिबेला जो हलोलाई मात्रै जीवनको आधार देखे, उनीहरूले शिक्षा हासिल गर्न सकेनन्। जमिनलाई मात्रै आधार मान्नेहरू शिक्षादीक्षामा प्रगति गर्न सकेनन्। त्यस्ता परिवारमा बढीमा एसएलसी पास गरी पढाइ छोड्ने, सानै उमेरमा विवाह गर्ने, सानै उमेरमा धेरै सन्तान जन्माउने अवस्था देखिएको छ। यसले के प्रष्ट हुन्छ भने धर्तीपुत्र भई गर्व गर्नुले मात्र समाज अगाडि बढ्दैन। धर्तीपुत्र हुनु नै गर्विलो वा वरदान सावित भए त थारू समुदाय पनि अरु समुदाय जस्तै शिक्षा, स्वास्थ्य, आर्थिक, राजनीतिमा फस्टाउनु पर्थ्यो किन फस्टाउन सकेन? किन अरुप्रति परजीवी भएर बाँच्नु परिरहेको छ?

साँच्चिकै भन्ने हो भने थारू समुदाय २०४६ सालदेखि बल्ल राजनीतिक रूपमा क्रियाशील भएको सुनिन्छ। २०५२ सालको माओवादी जनयुद्ध २०६१/२०६२ को जनआन्दोलनले पूर्ण रूपमा सचेत भई राजनीति गर्न सुरु गरे पनि हरेक निकायमा उनीहरूको स्थान भएन। किनकि उनीहरूप्रति पहिलो त राज्य सकारात्मक छैन भने दोस्रो उनीहरूको शिक्षामा लगानी निकै कम छ। यसले गर्दा प्रगति हुन सकेको छैन।

कृषि प्रधान देशमा कृषिमा सरकारी अनुदान नभएपछि धर्तीपुत्र थारूहरूको धर्तीप्रतिको मोह कम भएको छ भने शिक्षामा अगाडि बढ्न सकेका छैनन्। त्यसकारणले उनीहरूको हातबाट जमिन पनि फुत्कँदैछ भने सरकारी जागिरे पनि हुन सकेका छैनन् । अरु समुदाय र थारू समुदायको जीवन जिउने कलाबीच ठूलो अन्तरका कारण पाइलापाइलामा थारूहरूलाई समस्या पर्दै गइरहेको छ।

पछिलो अवस्थामा राजनीतिप्रति थारूहरूको रुचि बढेको देखिन्छ तर राजनीतिको ‘र’ नबुझेका कारण जुनसुकै पार्टीको छिटो विश्वास गरिहाल्ने प्रवृत्तिले पनि समस्या ल्यायो । २०५२ सालको जनयुद्ध सफल हुनुमा थारूहरूको योगदानलाई नकार्न मिल्दैन तर जनयुद्ध र जनआन्दोलन सफल भएपश्चात् माओवादी अध्यक्ष पुष्पकमल दाहालले थारूको मुद्दामा खुट्टा टेकेर थारू भूमिमा थारूवान राज्य घोषणा गरे भने पहाडमा गएर सुदूरपश्चिम टुक्रनु हुन्न भनि प्रशिक्षण दिए। बढी विश्वासको कारण यतिबेला थारूले धोका पाएका छन्। 

हरेक राजनीतिक दलले थारूहरूलाई दायाँ–बायाँ, अगाडि–पछाडि लग्दै, उनीहरूमाथि खुट्टा टेक्दै अगाडि बढेको र थारूलाई लत्याएको तमाम उदाहरण छ। संविधान सभाबाट पाएको संविधानमा के–के न होला भनी पर्खेर बसेका थारूहरू जस्तै उत्पीडित सबै जाति, जनजाति अहिले असन्तुष्टि पोख्न र दुःख भोग्न बाध्य छन्। संविधान घोषणा भएकै दिनदेखि पुनः उत्पीडितहरू आन्दोलनमा छन्।

थारूहरू बिखण्डनकारी, राष्ट्रघातीको संज्ञा पाइरहेका छन्। यसले प्रश्न जन्माएको छ, के थारूहरू धर्तीपुत्र हुनु वरदान हो? अन्तरमनले जवाफ दिन्छ, थारूहरू धर्तीपुत्र हुनु वरदान रहेनछ, अभिशाप पो रहेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *