Na Sa Pa- Lekhi

नागरिक समाजवादी पार्टीका (नासपा)का संयोजक राजकुमार लेखीले कालो संविधानविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्। बिराटनगरमा आयोजित कार्यक्रममा बोल्दै लेखीले कालो संविधानका हस्ताक्षरकर्ताहरुविरुद्ध गाउँ गाउँ र झुपडीबाट आन्दोलन गर्ने तयारी भइरहेको बताए।

थारु, मधेशीलगायतका उपेक्षित उत्पीडित समुदायहरु न्याय र समानताको लडाइँ लडिरहेको प्रष्ट पार्दै उनले भने ‘विजयकुमार गच्छदारजस्ता गद्दारहरुका कारण थरुहट र मधेश आन्दोलन बदनाम भएको छ, त्यस्ता बहुरुपियाहरुलाई जनताले कारबाही गर्नु जरुरी छ।’

मत दिएर जिताउने जनतालाई कार्वाही गर्ने अधिकार समेत रहेको भन्दै संयोजक लेखीले जनविरोधी एवम् भ्रष्टचारीहरुलाई कार्वाही गर्नका लागि जनता अगाडि बढ्नु पर्नेमा जोड दिए। ‘देश र जनतालाई लुट्नुका साथै धोका र गद्दारी गर्नेहरुलाई जेल हाल्नुपर्छ’ उनले भने ‘जनताको शान्तिपूर्ण आवाजलाई बन्दुकको गोलीले दबाउनहरु नेता हुन सक्दैन’ उनले भने ‘पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्तिको नाममा भ्रम छर्ने काम गरिरहेको छ ।’

मधेशी, थारु, आदिवासी, जनजातीको आन्दोलनका क्रममा राज्य निरीह र आतङककारी साबित भएको उनले आरोप लगाए । थारुहरुको आक्रोश टिकापुर घटनामा देखापरेको चर्चा गर्दै नेता लेखीले भने ‘राज्य दुई पटक हारेको छ, पहिलो हार अंग्रेजसँग र अर्को हार थरुहट मधेशसँग भएको छ ।’ न्याय र समानताको हक प्राप्त नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै लेखीले विभेदमा पारिएकाहरु एकतावद्ध भएर संघर्ष गर्नुको विकल्प नरहेको समेत उनले बताए ।

कार्यक्रममा नागरिक विद्यार्थी फ्रन्टको जिल्ला कार्यसमिति गठन भको छ। सन्जु सिंहको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन भएको नासपाका प्रवक्ता राज थारुले जानकारी दिए। यसअघि नासपाले सिरहामा नागरिक विद्यार्थी फ्रन्टको कार्यसमिति गठन गरेको थियो।

त्यस्तै नासपाले सप्तरी र सिरहामा जिल्ला तथा नगर कार्यसमिति गठन गरिसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *