Laxman Tharu in Kailali

थरुहट आन्दोलनको क्रममा घटेको टीकापुर घटनाको मुख्य योजनाकार रहेको अभियोगमा जेल चलान गरिएका थारू नेता लक्ष्मण थारू औषधोपचारको क्रममा केन्द्रीय कारागार राजधानीमा रहेका छन् ।

स्वास्थ्य अवस्थामा खराबी आएपछि उपचारको लागि केन्द्रीय कारागार पठाइएको जिल्ला कारागार धनगढीका प्रमुख तथा जेलर पुष्कर खड्काले जानकारी दिए । उनका अनुसार नेता थारूको टाउकोमा केही समस्या आएपछि थप उपचारको लागि केन्द्रीय कारागार पठाइएको बताए । नेता थारू आफ्नो स्वच्छाले गएको पनि जेलर खड्काको भनाई छ । उनी माघ २५ गते नै काठमाडौंस्थित केन्द्रीय करागार चलान गरिएका हुन् ।

नेता थारूलाई केन्द्रीय कारागार  चलान गरिएपछि विभिन्न दृष्टिकोणबाट पनि हेरिन थालिएको छ । कतिपय पक्षले आफ्नै स्वच्छाले गएको भन्ने गरेपनि कतिपय पक्षले कैलाली करागारमा रहँदा नेता थारू र जेलरबीच हने खटपटको कारण अन्तै सारिएको हुन सक्ने आशंका गरेका छन् । त्यस्तै, उनी जेलभित्र राजनीतिक गतिविधिलाई पनि तिब्रता दिएकोले पनि सारिएको हुन सक्ने बताएका छन् ।

नेता थारूले आफ्नो जेल बसाईको क्रममा लेखेको ‘सेक्स, युद्ध र जेल’ नामक किताबमा पनि जेल भित्रको गतिविधि तथा अस्तव्यस्तता र कैदीको मानवअधिकारवारे उल्लेख गर्दै जेलरसंग हुने वादविवादलाई पनि समावेश गरेका छन् ।

तर जेलर खड्काले आफ्नो  नजरमा सबै कैदीहरु समान रहेको र आफु कानूनमा व्यवस्था भए भन्दा राम्रो व्यवहार गरेको दावी गरेका छन् । ‘सायद मलाई लाग्छ, उनी यहाँ भन्दा वढी सकसमा छन्, किनकी यहाँको भन्दा त्यहाँको अवस्था अझ दयनीय छ’, उनले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *