Malasia

मलेसिया सरकारले विदेशी कामदार भित्र्याउन तत्काललाई रोक लगाउने निर्णय गरेको छ। मलेसियाका लागि कति कामदार आवश्यक छ भन्ने निक्र्यौल नहुन्जेलसम्म स्रोत मुलुकबाट कामदार नलिने मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार घोषणा गरेका हुन्।

सारवाक राज्यमा आयोजित कार्यक्रममा गृहमन्त्री अमिदीले सबै मुलुकबाट कामदार लिन आजैबाट प्रतिबन्ध लगाइने बताएको मेलसियाको सरकारी समाचार संस्था बर्नामाले उल्लेख गरेको छ। ‘सरकारले विदेशी कामदारका लागि दुई किसिमको लेभीबारे पनि समीक्षा गर्दैछ’, उनले भने, ‘विदेशी कामदार भित्र्याउने कार्यक्रमलाई सरकारले गम्भीर रुपमा लिएको छ। सरकारको कदमपछि अब कुनै पनि विदेशी नागरिक कामदारको रुपमा मलेसिया छिर्न पाउने छैनन्।’

कामदारको आवश्यकता कहाँ कति छ भन्ने यकिनपछि मात्र विदेशी कामदार लिन सकिने उनको भनाइ थियो। मलेसियाको निर्णय बंगलादेशसँग पनि लागू हुने जनाइएको छ। मलेसिया र बंगलादेशबीच बिहीबार ढाकामा १५ लाख कामदार मलेसिया लैजाने सम्झौता भएकाे थियो।

मलेसियालाई अवैध कामदारमुक्त मुलुक बनाइने मन्त्री हमिदीले उल्लेख गरे। ‘सरकार अवैध कामदारलाई फेरि वैधानिक बनाउने र मलेसियालाई अवैध कामदारमुक्त मुलुक बनाउनेतर्फ लागिरहेकाे छ’, उनले भने, ‘पुनःदर्ता कार्यक्रममा सहभागी नहुनेलाई अवैध कामदारको रुपमा पक्राउ गरिनेछ।’ सरकारको आह्वान अटेर गरी वैधानिक रुपमा बसोबास नगर्ने कामदारलाई सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्ने गृहमन्त्री हमिदीकाे चेतावनी थियाे।

मलेसियामा वैधानिक ५ लाख र अवैध २ लाख नेपाली रहेको अनुमान छ। मलेसियाली सरकारको यो निर्णयले नेपाली कामदार प्रत्यक्ष प्रभावित हुनेछन्। नेपालका म्यानपावर कम्पनीहरूले एकथरी काम, सेवा सुबिधा र तलब भनेर मलेसिया पुर्याए पनि त्यहाँ साे अनुसार सेवा सुविधा नहुँदा कामदार अवैध हुने समस्या देखिएकाे छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *