Tharuhat Terai Party Nepal CC Meeting

थरुहट तराई पार्टी नेपालले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। बर्दियाको जोतपुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले वैशाख १७ र १८ गते नवलपँसीमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। पार्टीले फागुन मसान्तसम्म गाउँ/नगर समितिको अधिवेशन, चैत १५ गतेभित्र क्षेत्रीय अधिवेशन र चैत मसान्तसम्म जिल्ला असधवेशन गरिसक्नुपर्ने अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

संघर्षका कार्यक्रम घोषणा

पार्टीले थरुहट थारुवान आन्दोलनको सम्बन्धमा पनि समिक्षा गरेको छ। बैठकले थरुहट तराई पार्टी नेपाल र थरुहट/थारुवान संयुक्त संघर्ष समितिले उठान गरेको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएको छ। पार्टीले फागुन मसान्तसम्म एक महिने संघर्षका कार्षक्रम पनि सार्वजनिक गरेको छ। जसअन्तर्गत भित्तेलेखन, भण्डाफोर तथा जनजागरण अभियान, अन्तरक्रिया, मसाल जुलुश र विरोधसभालगायत छन्।

जिम्मेवारी बाँडफाँड

पार्टीले संगठन विस्तारका लागि जिम्मेवारी बाँडफाँडसमेत गरेको छ। जसमा झापा, मोरङ, सुनसरी,  उदयपुर, सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लालाई समेटेर पूर्वी कमाण्डको संयोजकमा उपाध्यक्ष हरिनारायण चौधरीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै रौटहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु जिल्ला समेटेर मध्ये कमाण्ड संयोजक उपाध्यक्ष गंगा चौधरीलाई र दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला समेटेर पश्चिम कमाण्डको संयोज उपाध्यक्ष नन्दकुमार चौधरीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी काठमाडौं उपत्यकाको संयोजनको जिम्मेवारी सचिव मिनराज चौधरीलाई दिइएको छ। जसको सदस्यमा नुनुराम चौधरी, सोनु थारु र नारायणी चौधरी छन्।

पार्टीको सांगठनिक एव प्रसाशनीक व्यवस्थापन, थरुहट शहीद स्मृति प्रतिष्ठान, प्रकाशनको जिम्मेवारी पार्टी महासचिव शम्भुप्रसाद चौधरीलाई दिइएको छ।

पार्टीको केन्द्रीय कमाण्ड र विभिन्न राजनीतिक दल तथा अन्तर्राष्ट्रिय कूटनीतिक नियोगसँग समन्वय गर्न पार्टी अध्यक्ष भानुराम थारु र वरिष्ठ नेता गोपाल दहितलाई जिम्मेवारी दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *