Indu Tharuइन्दु थारु

भ्यालेनटाइन डे प्रेम गर्नेहरुको दिन। धेरैलाई खुसी अनि धेरैलाई आशु दिने दिन। धेरैलाई प्रेम सम्बन्धमा बाँध्ने अनि धेरैको प्रेम बिछोड हुने दिन पनि सायद। हुन त प्रेम सम्बन्धमा बाँधिन वा बिछोड हुनका लागि भ्यालेनटाइन कुरिरहन पर्दैन, देउसी भैलो खेल्नलाई तिहारै कुरेजसरी। प्रेमीहरुका लागि कुनै समय हुँदैन, कुनै मौसम हुँदैन। तर जे होस् प्रेम गर्नेहरुका लागि भ्यालेनटाइन डे एउटा विशेष दिन।

मेरो निम्ति पनि यसपालीको भ्यालेनटाइन डे विशेष दिन बन्यो। आजकै दिन जीवनको एउटा महत्वपूर्ण निर्णय गर्दैछु। त्यस्तो निर्णय जुन स्वंय मेरा लागि त फलदायी छ नै, मेरो सिंगो समुदायका लागि पनि हितकार हुनसक्छ। मेरो समुदायका मानिसलाई उसले कहिल्यै मानिस देखेन, मानवको व्यवहार गरेन। बरु उल्टै दसदासी, कमैया कमलरी देख्यो। अझ मेरो समुदायले चलाएको अधिकार प्राप्तीको आन्दोलनलाई जातीवादी देख्यो, विखण्डनकारी देख्यो। मैले उसलाई ‘कुन जाति को हो भन्दा पनि सिर्फ मानवको रुपमा लिएँ, एउटा असल मानव ठानेर प्रेम गरे। जीवनका हरेक आरोह अवरोहमा साथ रहने प्रण गरेँ। तर उसले आफूलाई मानवको रुपमा प्रस्तुत नगरी तथाकथित उच्च जाति बाहुनको रुपमा प्रस्तुत गर्न थाल्यो। हाम्रो सामाजिक संरचनाले दिएको उसको बाहुन पदले पनि मलाई खासै फरक पार्दैनथ्यो, तर ऊभित्रको ब्राह्मणवादी चिन्तनले मलाई अलि धेरै सोच्न बाध्य बनायो हाम्रो सम्बन्धका बारेमा।

सुरुका दिनमा त ऊ यस्तो थिएन। भन्थ्यो- को कुन जातिको हो फरक पर्दैन, आखिर सबै मानव त हो नि। तर थरुहट थारुवानको आन्दोलनसँगै उसमा आएको परिवर्तन, अहं परिवर्तन नभनौं उसमा पहिलेदेखि नै अन्तरनिहीत ब्राह्मणवादी चिन्तन मौलाउँदै गएको देख्दा म छक्क पर्छु। जसरी थरुहट थारुवान आन्दोलन अगाडि बढ्दै गयो, उसले बाहुन रुप देखाउन थालिहाल्यो। थरुहट थारुवान आन्दोलनलाई केवल थारुको मात्रै आन्दोलन देख्यो उसले। यद्यपि थरुहट थारुवानको आन्दोलनमा थारुको मात्रै सहभागिता नभई अधिकारप्रेमी, न्यायप्रेमी, पहिचानप्रेमी सम्पूर्ण जातजातिको सहभागिता र ऐक्यबद्धता छ। तर थारुविरोधी मेरो बाहुन प्रेमीलाई जति नै सम्झाए पनि उसलाई बुझाउन म असफल रहेँ।

अझ कैलालीको टीकापुर घटनापछि त थारुलाई तथानाम गालीगलौज गर्न थाल्यो। सिंगो थारु जातिलाई हत्यारा देख्न थाल्यो उसले। सबै थारुलाई देश निकाला गर्नपर्छ, फाँसी दिन पर्छ के के हो के के…। अरु असभ्य शब्द म सम्झन चाहन्न। तर त्यही टीकापुरमा थारुलाई गरेको दुर्व्यवहार, थारुमाथि गरिएको दमन, शोषण, अन्याय अत्याचार त्यो जातिवादी बाहुनले कहाँ देख्थयो र? मेरो मनमा यति धेरै आक्रोश उब्जियो, सम्पूर्ण थारुलाई हत्यारा देख्न थालेपछि उसको पनि हत्या गरिदिउँ जस्तो। तर ब्राह्मणवादी सोच राख्ने यस्ता केही व्यक्तिको हत्या गर्दैमा समस्या सामाधान हुन्छ र? यहाँ त ब्राह्मणवादी चिन्तनलाई नै खतम पार्नु छ। ध्वस्त पार्नु छ। ब्राह्मणवादी चिन्तन बाहुनमा मात्रै भएको कहाँ हो र, मेरो आफ्नै जातिमा पनि त छ नि।

आज आएर सोच्छु मैले उसको लागि के गरिन। केवल उसको निम्ति घरपरिवार त्यागेँ। जागिर गर्दाको सबै कमाई उसैलाई लुटाएँ। त्यति त के हो र आफ्नो जीवन नै अर्पण गरेँ। तर अहँ उसले बुझ्दै बुझेन या बुझ्नै चाहेन या बुझेर पनि अबुझ बनिदियो। आज म बाध्य हुँदैछु प्रेममा गणीतीय हिसाब गर्न, मैले मेरो सबथोक उसको नाम गर्दा उसलेचाहिँ के गर्यो मेरा लागि। म थारु केटीलाई उसको बाहुन परिवारको बुहारी बनाउन ऊ तयार छ भन्थ्यो तर केवल थरुहट थारुवान आन्दोलनमा म लागेकै कारण मबाट टाढिन खोज्यो। उसको कस्तो संकीर्ण चिन्तन। पश्चाताप लाग्छ यस्तो संकीर्ण चिन्तन भएको व्यक्तिलाई मैले आफ्नो सबथोक सुम्पिएको सम्झिँदा।

मलाई आन्दोनलमा जानबाट रोक्नका लागि धेरै प्रयास गर्यो उसले। उसले भनेको नमाने हाम्रो सम्बन्धमा प्रतिकुल असर पर्ने धम्कीसमेत दियो। तर आफ्नो जातीय मुक्ति, जातीय अस्तित्व, जातीय पहिचान, जातीय इतिहास सबै कुराको रक्षा गर्नका लागि संघर्षमा लागि सकेपछि कसको धम्कीले पो रोक्थयो र मलाई? म त थारुको निम्ति मात्रै पनि होइन, सबै किसिमका विभेद् अन्त्य गर्नका लागि अब आफूलाई अर्पण गर्दैछु। समाजमा निहित असमानताका खाडलहरु पुर्नका निम्ति अगाडि बढेका मेरा पाइलालाई त्यो संकीर्ण चिन्तन बोकेको व्यक्ति र मेरोबीचको सम्बन्ध टुट्ने धम्कीले कहाँ रोकिन्थ्यो र? त्यसै पनि त्यो खोक्रो सम्बन्ध बाचइरहनका लागि म छोरी मान्छेले नै किन झुक्न पर्ने नि?

म यति सजिलै झुक्ने मान्छे होइन। आफूलाई आत्मसमर्पण गर्न सक्दिन म संकीर्ण मायाको लागि, मेरा समुदायको मुक्तिको बाटो म छोड्न सक्दिन। चिनजानका सबै साथीहरु माझमा मेरो गल्तीको बयान गर्दै ऊ थाक्दैन अरे। हाम्रो सम्बन्ध टुट्नुमा सम्पूर्ण दोष मलाई दिएर आफूचाहिँ चोखो बन्न खोज्छ ऊ। तर यो कुराले मलाई त्यति साह्रो फरक पनि पार्दैन। साथीसँगी इष्टमित्रले पक्कै बुझेको हुनुपर्छ, गल्ती थियो भने एउटाको मात्रै होइन दुवै जनाको हुनुपर्छ। अझ ऊ त मसँगको सम्बन्ध बारेमा कुनै छिनोफानो नै नगरी अमेरिका गइसकेको सुन्छु। अनि उतै घरजम गर्ने तयारी पनि गर्दै छ अरे। यही भ्यालेनटाइन डेमा सुन्दर शान्त सुशील जीवनसाथी मिलोस्, उसलाई शुभकामना। म भने थरुहट थारुवान प्राप्तीको लागि निरन्तर लागिरहनेछु। अन्यायमा परेकाहरुका हितका लागि आफूलाई समर्पण गर्छु। र, मेरो संघर्षमा साथ नदिने अझ भनौं मेरो आन्दोलनको विरोध गर्ने व्यक्तिसँग आज एउटा विशेष दिन भ्यालेनटाइन डेकै दिनमा प्रेम सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु।

किन हो मलाई लागिरहेको छ यो निर्णय गर्न आजबाहेक हरु दिन उपयुक्त नहोला। यसो भनिरहँदा मलाई कत्ति पनि ग्लानि भएको छैन। साँच्चै थोरैमात्र पनि पीडाबोध भएको छैन मलाई।




Leave a Reply

Your email address will not be published. Required fields are marked *