KRISHNA SARBAHARI PHOTO.docकृष्णराज सर्वहारी-थारूहरूको पुख्र्यौली पेशा कृषि हो । धान खेतीको समय प्रायः जेठदेखि साउनसम्म होे । त्यसैले सजना प्रायः जेठदेखि साउनसम्म गाइन्छ । जेठ असार लाग्दा पनि पानी नपर्दा किसानहरूले सजनाको राग छोड्छन् ।
हरे पुरुवसे उमरल कारी रि बडरिया रे, पछिउ चली जावै,
अरि परि गैला, जेठ असरिया, पनिया नही बरसल ।
अर्थात् पूर्वबाट कालो बादल मडारियो र पश्चिमा गएर बिलायो । जेठ असार महिना पर्दासमेत पानी परेन । उता पानी नपरी खेती  गर्न नपाउँदा किसानलाई दुःखी भएको देखेर उनकी  जवान छोरी पनि बिलौना गर्छिन् सजनामार्फत् ।
हरे गिउरक बिनल झलुरी छटरिया रे, उपरे पावोन डोलै
अरि छि छि बुन्दा पनिया न परल, मोर चुन्दरी नै भिजल  ।
भंगेराले बनाएको छटरी (गाउँले छाता) माथि–माथि हावा बह्यो । सामान्य एक बुँदा पानी सम्म परेन, मेरो चुनरी नै भिजेन । यसैगरी पानी नपरेमा गोरु बेंढना संस्कृति अन्तर्गत सजना गाउँदै  पानी पार्न अनुरोध गरिन्छ । प्रायः बैशाखमा गोरु बेंढने (गाईलाई बन्दी बनाउने) चलन छ । यसमा केटीहरू केटाको पोशाक लगाई गाउँ गाउँ छाता ओढेर हिँड्छन् । गाईलाई बन्धन बनाउने जाने बेला उनीहरू सजना गाउँछन् ।
उत्तरे डखिने चुरवा चम्के रे, कि बिजली टाँरेगन
काटी ढर्बु रैनी मछरिया कि मेघवा बाबा पानी डेऊ ।
उत्तर दक्षिण बिजुली चम्कियो, चुरा पनि चम्कियो । बरु रैनी माछा काटेर चढाउँला, मेघवा बाबा (भ्यागुता) पानी पार्देऊ । गोरु बेंढनेहरूले गाईसँगै, मेघवा बाबालाई पनि बन्दी बनाउँछन् र भोजन गराउँछन् । सजना गाउँदै गाउँबाहिर निस्किन्छन् ।
चारु कोना कलश ढरैबुँ रे कि कलशा मैँ छुआइटुँ
हाँठ जोरी विन्टी सुरुजा डेउटा कि मै बर्खा मनाइटुँ
पश्चिवैसे उमरल कार रि बडरिया रे,
एक बुन्डा पनिया गिराइदेउ मोर हिरना भिजाइडेउ
चारै कुना कलश राख्न लगाउँला, कलश म छोऔँला, ए सूर्य देउता, तिमीसँग कर जोडी विन्ति गर्दै वर्षातको लागि आह्वान गर्दैछुँ । पश्चिमबाट कालो बादल आयो तर पूर्व भाग्यो । एक बुँद त पानी पार्देउ, मेरो हिरना (धर्ती) भिजाइ देऊ । आश्चर्यको कुरा के छ भने जुन दिन गोरु बेंढना रित पूरा गरिन्छ, त्यो दिन संयोगले पानी परेको हुन्छ (चौधरी, २०५३:३४) । जब पानी पर्छ, किसानहरू खेतमा ओइरिन्छन् । यता पुरुष नभएको घरको महिला पानी परे पानी परे पनि खुशी हुन्निन् ।
सावन सजनी बरसे झिन बुँडिया रे, टुटे बजरा केवरीयाँ
अरे रानी भिजै रंगी रे महलिया, पिहा हो परुडेशे ।
खेतीपाती गर्ने बेला जाडोले सताएको  मौसममा श्रीमान् (राजा) सँगसँगै नभएको बेला कुन चाहिँ रानीको मन खुशी होला र ? रंगीन  महलमा भिजेर उसको अंगको काँडा उम्रिन्छ तर काँडा सम्याउने पति हुँदैनन् । यता भर्खर भर्खर नयाँ दुलही भित्र्याएको श्रीमान् भने खेतमा कम, घरको यादले उसलाई बढी सताइरहेको हुन्छ । काम गर्ने मित्रले उसलाई सजनामार्फत गिज्याउँछ ।
खेट्वा टे जोतल मुरसुवा रे…कि कोडरा छनाछन
कव अइही लौली डुल्हनीया, कलवा पानी डेहे ।
अर्थात् मुरसुवा नामक व्यक्ति खेतमा दनादन कोदालो उजाउँदै छ, उसलाई भोकले सताइसक्यो । उसकी नयाँ दुलही कलवा (बिहानको खाना) दिन कति बेला आउँदैछिन् कुन्नी ? उता नयाँ दुलही खाना पानी लिएर खेत पुग्छिन् र सजनामार्फत् यसरी भाव व्यक्त हुन्छ ।
शिरे टे लेहल गगरिया रे, हाँठे र करुवा पानी
भुजवा टे लेहल कोछियाइ, चलल खेत पानी डेहे
ना मै डेखुँ रुख्वा, बरिख्वा, ना सिटल जुर छाँही
घैला छलक चुन्डरी भिजे, कहाँ रे ढारु पैला ?

शिरमा घैँटो, हातमा करुवाको पानी, कम्मरमा भोजन लिएर खेतमा गइरहेकी दुलहीले खेतमा न रुख देख्छिन्,न कुनै शित्तल स्थान । उनको घैला छल्किएर चुनरी भिजिरहेको हुन्छ । त्यसैले सोध्छिन्, ए स्वामी घैलाको पानी कहाँ राखु हँ ? यसरी किसानहरू खेतीपातीको लागि जब खेतमा छरिन्छन्, सजना गीतको रागले खेतै संगीतमय हुन्छ ।
सजनाका अन्य पक्ष
जाग्यो रे पिहा जाग्यो रे बैशाख भर जाग्यो
चली जैबुँ गोहुँकी लँवागी खाए, पाछे रे पश्टैवो ।
ए पिहा बैशाख भर त जागा होऊ । गोहुँको लँवागी (नयाँ रोटी चढाएर खाइने रिती) खान माइती गएँ भने पछि पछुताउलाउ नि । यता लोग्नेले सजनामार्फत उत्तर दिन्छ-
जायो रे ढानी जायो रे, टिकुली छोडी जायो
टिकुली हेरी हेरी जियरा बुझैबुँ, सिरहनी ढैके सुट्बुँ ।
ए ढानी (पियारी) माइती जाने नै भए टिकुली (बिन्दी) छोडी जानु है, त्यही हेरेर चित्त बुझाउनेछुँ, त्यसैलाई सिरानीमा राखेर सुत्नेछुँ । यी त भए नव वेहुला–वेहुलीका प्रसंग । उता आफ्नो इच्छा विपरित बाबुले सानै अवस्थामा विहे गरेर दूर देश पठाउँदा चेलीले सजनामार्फत विछोडको पीडा ओकल्छे–
हारक टे हरले बाबा रे, अइसिन डूर हरले
गंगामे कुडी मरजैबुँ, खबर नही पैबे
बलटल खबर पैबे बाबा रे, बहरीम बैठल रोइबे ।
ए बाबा, आफ्नो सामुन्नेबाट पठाउन त पठायो, निकै टाढा पठायो । गंगामा कुदेर मर्नेछुँ, खबर पाउने छैनौ । बल्लतल्ल खबर पाए, पिढीमा बसेर रुनेछौ । नयाँ बेहुलीलाई घरको यादले सताई रहन्छ तर मलाई यहाँ लिन को पो आउला र ? भन्ने चिन्तन पनि हुन्छ ।
बाबा बटाँ पूर्खा पुरनिया रे, भैया बा छोटी
डाडु बटाँ अनेक घर हरोहिया, के रे लेहे आई ?
चाडपर्व आइसक्यो । माइतीले लिन आउनु पर्ने हो । तर बाब बुढा भइसके । भाई सानै छ, दाजु अरुको घर कमैया छ, मलाई लिन को नै आउला र ? यस्तो चिन्तनमा डुबेकी चेलीलाई जब उनकी नजिकको सखीले तिम्रा श्रीमान् त अरुसँग लागेर हिँड्छन्, किन आफ्नो मान्छेलाईं सम्झाउदैनौै भन्छिन्। थकित मनस्थितिमा रहेकी उनले भन्छिन्-
अरे, नोन तेल  हुइटैँ जोख्टुँ रे, पिहा कैसे जोखौं
गोरु भैंस हुइटैँ बँध्टुँ रे, पिहा कैसे बाँधौँ
मुर्गी चिंग्ना हुइटैँ छोप्टुँ रे, पिहा कैसे छोपौँ
मोरे पिहा मरद भँवरवा, छत्तीस फूला लोह्रहीं
नुन, तेल भए कम भयो कि भनेर जोख्ने थिएँ, पिहालाई कसरी जोखौँ ? गोरु भैँसी भएको भए पिहालाई बाँध्ने थिएँ, पिहालाई कसरी बाँधौँ ? कुखुरा चल्ला भए छोप्ने थिएँ, पिहालाई कसरी छोपौँ, मेरा स्वामी त मर्द भमरा हुन्, छत्तीस फुल चुसुन्, म के नै गर्न सक्छुँ र ? यसरी यसमा महिलाको लाचारी व्यक्त भएको छ (सर्वहारी २०६९:१२) । यस्तो अवस्थामा जोगी भएर हिंड्न पाए नि हुन्थ्यो भन्ने भाव पलाउनु स्वाभाविकै हो ।
जोगिन्या बजावै सोनक् बसिया रे, रुपन लागल डोरी हो
अइसा मन लागल मयरी, जोगीन हुइ जैबूँ ।
आँगनमा जोगीको टोली आएको छ । जस मध्येकी एक जोगिनीले बाँसुरी बजाउँदै छिन् । बाँसुरीको डोरीको रुप पनि कति सुन्दर हो, ए मेरी आमा मलाई त जोगिनी हुन मन लाग्यो । यसरी जोगिया सजना भनेर कथावस्तु बोकेको छुट्टै सजना पनि थारू लोकसाहित्यमा छ । जसमा बयस्क युवतीले १६ सय जोगीबाट एक जोगी सुन्दर देखेको, उसैको पछि लाग्ने निर्णय बाआमालाई सुनाउँदा घर घर भिक्षा माँग्नुपर्छ, रनवन पुग्नुपर्छ, भन्दा पनि नमान्दा जोगीलाई नै सुम्पेको कथा छ । विदाईमा बा आमा त रुने नै भए, तर भाउजुको मन आनन्दित हुन्छ । घर छोड्दा दुलहीले गुरही (खेलौना) विर्सेर आएको, उसलाई घर छोड्न लागेको सम्झाउन नसकेकोेले दाजुलाई  स्याहारेर राख्न भन्छिन् तर भाउजुले गुरही छिन्न भिन्न पार्छिन् । सजनाको सामान्य व्याख्या गर्नुभन्दा यसभित्र लुकेको भावार्थलाई विश्लेषण गर्नु जरुरी देखिन्छ, जसले थारू लोकसाहित्यको पाटोलाई बुझ्न अझ दरिलो बाटो खोल्ने छ ।
साभारः नागरिक दैनिक पश्चिमेली




Leave a Reply

Your email address will not be published. Required fields are marked *