Tharu dancer at chitwan
एस ढुंगाना, 
सौराहा– लठ्ठी नृत्य देखाएर एक हुल थारु कलाकार स्टेजबाट बाहिरिन्छन्। लगत्तै अर्का कलाकार लौरीको दुवैतिर आगो बालेर नचाउन थाल्छन्। त्यही नाचलाई आन्तरिक तथा बाह्यक पर्यटकहरु क्यामेरामा कैद गर्न व्यस्त हुन्छन्। उनीहरु नृत्य देखेर आश्चर्यमा पर्छन्। त्यही बेला हलको पछाडिबाट एक पर्यटक महिलाले चिच्याउँदै भन्छिन्, ‘वान्स मोर।’ यो दृश्य सौराहाको नमस्ते थारु नृत्य संस्कृति कार्यक्रमको हलको हो।

 

पर्यटकीय क्षेत्र सौराहामा सांस्कृतिक चहलपहल बढिरहेको छ। थारु नृत्य सिक्न युवा पुस्ताहरु विभिन्न डान्स सेन्टरमा धाउन थालेका छन्। विगत पाँच वर्षदेखि थारु नृत्यको कोरियोग्राफी गरिरहेका धरेन चौधरीले प्रशिक्षण दिइरहेका छन्। ‘थारु नृत्यको चर्चा र राम्रो कमाइले गर्दा युवा पुस्ताहरु प्रोत्साहित भइरहेका छन्। परम्परागत भेषभुषा र नृत्यलाई समायोजन गर्न अप्ठ्यारो हुन्छ,’ उनले भने। उनले अन्य समुदायका कलाकारलाई समेत थारु नृत्यस सिकाइरहेका छन्।
अमेरिकाबाट थारु नृत्यमाथि अनुसन्धान गर्न आएकी इला म्यानी विगत चार महिनादेखि यहाँ छिन्। उनी कोरियोग्राफर धरेनसँग थारु नृत्य र भाषासमेत सिक्ने प्रयास गरिरहेकी छिन्। ‘चितवन राष्र्ट्रिय निकुञ्ज वरपर बस्ने थारु समुदायले जनावरसँग प्रतिकार गर्नसमेत नृत्यको आविष्कार गरेका रहेछन्। उनीहरुको लौरी र आगो नृत्य डरलाग्दो हुने रहेछ,’ उनले भनिन्। थारु नृत्यलाई जोगाउन नमस्ते थारु नृत्य संस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ। विगत २० वर्षदेखि यसले थारु नृत्य प्रदर्शनको लागि हलको व्यवस्था गरेको छ। ‘विस्तारै सौराहामा युवालाई सक्रिय गराउने हलको स्थापना भएको थियो। अहिले नियमित थारु नृत्य प्रस्तुत गर्छौं। विदेशीका लागि हरेक दिन साँझ आठमा कार्यक्रम प्रस्तुत गरिरहेका छौं। यसमा परम्परागत थारु नृत्य, भेषभुषा र भाषाको प्रयोग हुन्छन्,’ नमस्ते थारु संस्कृतिका संयोजक रञ्जन श्रेष्ठले भने।
अधिकांश कलाकारहरु नृत्य प्रस्तुत गर्न हरनरी गाँउबाट सहभागी हुने गरेका छन्। १६ जना महिला र ३० जना पुरुषको नेतृत्व डीक महतोले गरेका छन्। उनी विगत २५ वर्षदेखि थारु नृत्यसँग आबद्व छन्। ‘युवापुस्ताको सहभागिता धेरै छ। कलाकार खोज्ने, प्रशिक्षण दिनेदेखि लिएर कार्यक्रमको तयारी गर्न अप्ठ्यारो छ। सबैको कमाइ क्ल्बमा जम्मा हुने गरेको छ,’ उनले भने। झण्डै दुई सय हल क्षमता रहेको नमस्ते संस्कृति कार्यक्रमको हलमा विदेशीको संख्या धेरै हुने गरेको छ।

Tharu dancer at chitwan-1
‘लौरी नृत्य’, ‘डम्फू नृत्य’, ‘झम्टा’, ‘ठेकारा’, ‘झुमरा’ र ‘आगो नृत्य’ प्रस्तुत हुन्छन्। ‘हामीहरु विभिन्न होटल र कार्यक्रममा नृत्य प्रस्तुत गर्छौं। यसले गर्दा कमाइको स्रोत राम्रो भएको छ,’ उनले भने।

विगत तीन वर्षदेखि थारु नृत्य प्रस्तुत गर्दै आएकी आस्था चौधरी बीए तेस्रो वर्षमा अध्ययरत छिन्। खर्च जुटाउन थारु नृत्यमा प्रवेश गरेकी उनको आम्दानी राम्रो भएको बताउँछिन्। ‘संस्कृति जोगाउन साथीसँग थारु नृत्यमा लागेको थिए। पारिवारले समेत साथ दिएपनि अहिले राम्रो कमाइ हुन्छ। दिनमा सात शो हुने गरेकोमा एक शोबापत २ हजार पाइन्छ,’ उनले भनिन्।
हालः १० कक्षामा अध्ययरत अशोक राई पनि विगत ९ महिनादेखि थारु नृत्यमा आबद्व भएका छन्। यसैको कमाइले घर खर्च चलाउन र बहिनीको पढाइ खर्चसमेत पुगेको उनले बताए।

‘घरमा आम्दानीको स्रोत नभएको र बेलुकाको समय फुर्सदको भएकाले समयको सदुपयोग गर्न यस पेसामा लागेको हुँ,’ उनले भने। यस समूहमा क्षेत्री, राई र नेवारी समुदायका युवासमेत छन्। सौराहाका युवाले थारु संस्कृतिको जर्गेना गर्ने उदेश्यले हरेक दिन थारु जातिको संस्कृति झल्कने थारु नृत्यहरु प्रस्तुत गर्छन्। उनीहरुले विगत २१ वर्षदेखि नृत्य देखाउँदै आएका छन्।
‘सौराहामा थारु संस्कृति र कलाको संरक्षण थारु समुदायले गरिरहेका छन्। त्यसमा विदेशी पर्यटकले समेत मनोरञ्जन लिएर आनन्द गर्ने हुँदा युवाहरु विदेश जानेक्रम केही घटेको छ,’ सौराहा पर्यटन र्बोडका सञ्जय प्रधानले भने। उनका अनुसार होटलले थारु समुदायको संस्कृति जोगाउन प्रोत्साहनस्वरुप आर्थिक सहयोग गरिरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *