१८ वर्षमुनिका लागि ६० लाख फाइजर खोप किन्दै सरकार

मकर श्रेष्ठ, स्वरूप आचार्य

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको छ । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सम्झौतासमेत भएको छ ।
किशोरकिशोरीका लागि आवश्यक १ करोड डोज खोपमध्ये थप ४० लाख भने कोभ्याक्सको समन्वयमा ल्याउने तयारी भएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताए । ‘६० लाख खोप खरिद गर्न फाइजरसँग एग्रिमेन्ट भइसक्यो,’ उनले भने, ‘थप ४० लाख डोज भने कोभ्याक्सअन्तर्गत साझेदारी सहुलियतमा ल्याउने गरी प्रस्ताव तयार भएको छ ।’
खोप आउन ६ देखि ९ महिना लाग्ने देखिएको छ । सरकारले पुससम्म खोप उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीले ढिलोमा सन् २०२२ को अप्रिल (वैशाख) सम्म दिन सक्ने जनाएको छ । फाइजर कम्पनीबाट खोप खरिद गर्न आवश्यक रकमका लागि विश्व बैंकसँग ऋण सम्झौताको तयारी भइरहेको छ । यसको अधिकार स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई दिइएको छ । खरिद सम्झौतामा अर्थ मन्त्रालय समेत सहमत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विश्व बैंकसँग सम्झौता गर्न महानिर्देशकलाई अधिकार दिने निर्णय गराएका छन् । विभागले खोप खरिद गर्न अन्य कम्पनीलाई पनि पत्राचार गरेको थियो तर फाइजर सकारात्मक भएपछि प्रक्रिया अघि बढेको हो ।
अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले फाइजर र मोडर्ना खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई पनि लगाउन मिल्ने प्रमाणित गरिसकेको छ । खोप खरिद, ढुवानी, भण्डारण र वितरणलगायत विषयमा कम्पनीका आधिकारिक व्यक्ति र स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच भर्चुर्अल बैठकसमेत भएको थियो । योसँगै ५० लाख डोज मोडर्ना खोप खरिद गर्ने विषयमा पनि छलफल अन्तिम चरणमा पुगेको स्रोतले बतायो ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म विभिन्न कम्पनीको ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जानकारी गराएका छन् । जसअन्तर्गत कोभ्याक्स सुविधाको १ करोड १३ लाख डोज निःशुल्क प्राप्त हुने उनले बताए । उनका अनुसार कोभ्याक्सबाटै लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जान्सेन, भेरोसेललगायत १ करोड ५० लाख डोज प्राप्त हुनेछ ।

अझै पढ्नुहाेस