शव चिरेर मृत्युको कारण पत्ता लगाउने डा. गोपाल चौधरी

 सुमित्रा लुइटेल/अनलाइनखबर

मृत मानिसको शरीर चिर्नु चानचुने कुरा होइन । थ्रीडी (डर्टी, डेन्जरस र डिफिकल्ट) समेत भनिने पोस्टमार्टम गर्ने काममा धेरैको रुचि देखिंदैन । हुन त यो बाध्यकारी पेसा त होइन, तर अस्पतालका लागि अनिवार्य भने अवश्य हो ।

मृत्यु भइसकेको मानिसको शरीर चिर्नु पक्कै सहज काम होइन । त्यसैले त यो पेसामा संलग्न हुनेहरूको संख्या पनि न्यून छ । तर धेरैको आकर्षण नभएको यही कठिन भनिएको पेसालाई नै आफ्नो भविष्य बनाएर अघि बढेका छन्, फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी ।

डा. चौधरीले त्रिवि शिक्षण अस्पतालमा शव चिर्न थालेको १२ वर्षभन्दा बढी भइसक्यो । काठमाडौं मेडिकल कलेजबाट २०६१ सालमा एमबीबीएस उत्तीर्ण गरेपछि उनले चार वर्षसम्म त्यहींको इमरजेन्सी, आईसीयू, वार्ड र फोरेन्सिक मेडिकल विभागमा काम गरे । त्यसैक्रममा फोरेन्सिक विशेषज्ञ प्रा. डा. हरिहर वस्तीसँग उनको भेट भयो । फोरेन्सिक मेडिसिनमा जनशक्तिको एकदमै कमी छ । यो विभागमा राम्रो भविष्य भएकाले यो विभागमा जोडिन डा. वस्तीले सल्लाह दिए । उनकै प्रेरणाका कारण डा. चौधरी फोरेन्सिक मेडिकल विभागसँग जोडिए ।

डाक्टरहरू माझ फोरेन्सिक मेडिसिन त्यति लोकप्रिय पनि छैन । फोरेन्सिक मेडिसिन लाससँग सम्बन्धित हुन्छ । धेरै डाक्टर जिउँदो मानिसको उपचार गर्ने पद्धतिमा जोडिएका हुन्छन्, मृत्यु भइसकेको मान्छेको मृत्युको कारण पत्ता लगाउने काममा जोडिन चाहँदैनन् । त्रिविको फोरेन्सिक विभागमा अहिले डा. चौधरीसहित चार जना चिकित्सक कार्यरत् छन् ।

सुरुवातमा शव चिर्दा विरक्त लाग्यो

मानिसको मृत्युको कारण पत्ता लगाउने काम मेडिकल क्षेत्रका लागि अत्यावश्यक काम रहेको डा. चौधरी बताउँछन् । सुरुमा त यो पेशा रोज्दा उनलाई निकै गाह्रो भएको थियो । ‘डाक्टर भएर पनि कस्तो विषय रोजेछ’ भनेर परिवार र साथीभाइले नै उनलाई भने ।

त्यो बेला भने यो पेसा छाडेर अर्कै विषय पो रोजौं कि भन्ने सोच पनि आयो उनलाई । तर पोस्टमार्टम गर्ने कामको महत्व बुझेको हुनाले मनमा जतिसुकै तर्कना आए पनि पछाडि फर्किन चाहेनन् । एमबीबीएस पढ्ने बेलामा तेस्रो वर्षमा नै एक वर्ष फोरेन्सिक मेडिसिन कोर्स हुन्छ । जसमा दुई हप्ता पोस्टमार्टमको तालिम हुन्छ । त्यसैले त्यो तालिममा संलग्न भएको हुनाले यो विषयमा स्नातकोत्तर पढ्दै गर्दा यो पेसामा लागेर पहिलो शव पोस्टमार्टम गर्न उनलाई गाह्रो भएन ।

त्रिवि शिक्षण अस्पतालमा स्नातकोत्तर फोरेन्सिक मेडिसिन पढ्दै गर्दा उनले धेरै लास चिरे । प्राकृतिक रूपमा मृत्यु भएकाभन्दा पनि दुर्घटना भएको, आत्महत्या गरेको, हत्या भएको र कुहिएका लास पनि चिर्नु पर्दा भने उनलाई विरक्त लाग्थ्यो ।

सुरुवाती ६ महिनासम्म त यो पेसामा किन जोडिएछु भनेर उनलाई पछुतोसमेत लाग्यो । कुहिएको, स्याउँस्याउँ किरा परेको लास चिरेको दिन त उनलाई खाना खान पनि एकदमै गाह्रो हुन्थ्यो । खाना खान लागेको बेला त्यस्ता लास सम्झेर खानै नरुच्ने गरेको उनी सुनाउँछन् । अहिले भने उनलाई लास चिर्न कुनै समस्या हुँदैन । यस अवधिमा उनले पाँच हजारभन्दा बढी शवको पोस्टमार्टम गरिसकेका छन् ।

कोही निर्दोष व्यक्तिलाई हत्याको आरोप लाग्यो, त्यो हत्या उसले गरेको होइन भनेर मृतकको शव पोस्टमार्टमबाट पत्ता लागेर निर्दोष व्यक्ति आरोपबाट मुक्त हुँदा उनलाई साह्रै खुसी लाग्छ । आफूले अंगालेको पेसाले एउटा निर्दोष व्यक्ति सजाय पाउनबाट बचेको सुन्दा उनलाई खुसी लाग्छ ।

सडक दुर्घटनामा मृत्यु भएका, आत्महत्या गरेका र हत्या भएका लासहरूको त भूतप्रेत हुन्छ भनेर डराउने धेरै हुन्छ । समाजमा व्याप्त भूतप्रेतबारे धारणा गलत भएको उनी सुनाउँछन् । ‘लामो समय लासहरूसँग बिताउँदा र लास चिर्दा कहिलेकाहीं राति सपनामा पनि लासहरूसँग नै सुतेको सपना देख्छु । तर वास्तविक जीवनमा भने मैले कहिल्यै भूतप्रेत देखेको छैन,’ डा. चौधरी भन्छन् ।

खाली मरेको मान्छे र लास मात्र देखिरहँदा त्यसकै कारणले डिप्रेसनमा पो जान्छु कि भन्ने डर समेत उनलाई भएको थियो । तर १२ वर्ष यही विषयमा काम गरेको हुनाले अहिले भने उनलाई सामान्य लाग्न थालेको छ ।

१२ वर्षको अनुभव साट्दै गर्दा उनी भन्छन्, ‘धेरै लास चिरें, पोस्टमार्टम गर्ने क्रममा मेरो हात कहिल्यै काँपेनन् । तर सात-आठ वर्षअघि प्लस टुमा अध्ययन गरेको मिल्ने साथीको विमान दुर्घटनामा मृत्यु भएको थियो । त्यो लास पनि पोस्टमार्टमको लागि आयो । आफूसँगै पढेको त्यो साथीको पोस्टमार्टम गर्ने क्रममा भने मेरो हात काँपेको थियो । त्यो पोस्टमार्टमलाई म जिन्दगीभरि भुल्दिनँ ।’

अझै पढ्नुहाेस