रानाथारूको घँगरिया कसले सिलाउने ?

महादेव अवस्थी/अन्नपूर्ण पोस्ट्

कुनै जमाना थियो, आदिवासी रानाथारू समुदायका महिला घँगरिया, अंगिया, उनिया लगाएर परम्परागत पहिरनमा सजिएका हुन्थे। तर, पछिल्लो समय यो समुदायको मौलिक परम्परागत पहिरन हेर्न पर्व वा विवाहलगायत शुभकार्य नै पर्खिनुपर्छ। महिलाले लगाउने अंगिया, घँगरियालगायत लुगा र विभिन्न गहना, जुन घरमै आफैं सिउने चलन थियो। हाल ती पहिरन लगाउने त के लुगा सिउने सीप भएका व्यक्तिसमेत भेटाउन गाह्रो हुन थालेको छ।

‘अहिले कुनै पर्व वा गाउँमा विवाह भएमात्रै लगाउँछांै’, कञ्चनपुरको भीमदत्त नगरपालिका १६ नयाँ कटानकी कैलाशु रानाले भनिन्, ‘सबैले एक÷एक जोर सिलाएर थन्क्याएका छौं तर ती पनी पूरै सेट छैनन्।’ महिलाहरूले नाडीमा लगाउने चुडिया, घाँटीमा लगाउने घिच्चु, लघौरा, पठ्ठा, कानमा लगाउने कन्सिरी सक्रेला आदि गरगहनाहरूसमेत पाउन छोडेका छन्।

‘हामीले अगाडिको पुस्ताबाट हेरेर देखेर सिकेका हौं, त्यो बेला ती पहिरन लगाउन हामीलाई हौस (सौक) हुन्थ्यो’, उनले भनिन्, ‘अहिलेको पुस्ता त सिक्नै खोज्दैनन्।’ उनले गाउँमा अहिले परम्परागत पहिरन सिउने मान्छे सीमित भएको बताइन्। ‘पहिला–पहिला हामी हातले सिउने गथ्र्यांैं’, कैलासुले भनिन्। ‘अहिले मेसिनमा सिउँछौं, हातले धेरै समय लाग्छ।’ महिलाहरूले लगाउने गहनाहरू सबै चाँदी र सिक्काको हुन्थ्यो। अहिले चाँदीको भाउँ महँगिएपछि र सिक्का पाउन छोडेपछि परम्परागत ती गहनाहरूसमेत लोप हुन थालेका छन्।

महिलाजस्तै पुरुषहरूले पनि धोती र कुर्ता लगाउँथे, तर गाउँमा एक/दुई जना बुढापाकाबाहेक अहिले यस्तो लुगा लगाएको कोही भेटिँदैनन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ की सुदामा रानाले अहिलेको पुस्ताले परम्परागत पहिरन लगाउन रहर मात्रै गर्नेे तर बनाउन नसिक्ने गरेको बताइन्। ‘हाम्रो संस्कृति हराउन लागेको छ’, सुदामाले भनिन्। ‘पहिला हामी लगाउँथ्यौं, अहिले हामीले पनि लगाउन छोडिसकेका छौं। कुनै पर्वको बेला मात्रै लगाउँछौं।’ अहिलेको पुस्ता आधुनिकतामा बढी चासो राख्ने भएकाले पनि संस्कृति पुस्तान्तरण हुन नसकेको रानाथारू समुदायका पाका पुस्ताको भनाइ छ।

पहिरन मात्रै होइन, आधुनिक परिवेशसँगै विभिन्न परम्परागत नाँचहरूसमेत लोप हुने अवस्थामा पुगेको उनीहरू बताउँछन्। ‘पहिला–पहिला पाँच सयमा एकजोर कपडा आउँथ्यो।’ सुदामाले भनिन्, ‘अहिले एकजोर कपडाको १५ हजार रुपैयाँ पर्छ। यति महँगो सबैले लगाउन सक्दैनन्।’ त्यसैगरी चाँदीका गहनाहरूसमेत महँगीका कारण पछिल्लो समय बनाउन छोडेको उनको भनाइ छ। पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारू समुदायको बस्ने घरको पनि छुट्टै पहिचान छ। खरले छाएको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर रानाथारू समुदायको पहिचान हो।

अझै पढ्नुहाेस