जयरानी थारुको दौडले मुक्तकमैया परिवारमा खुसी

कमल पन्थी/कान्तिपुर दैनिक

भगवानदिन जमिन्दारको घर कमैया भएर चार दशक बढी सयम बिताए । आफूले निकै कष्टकर जीवन बिताएर हुर्काएकी छोरीले खेलकुदमा नाम कमाएको सुन्दा उनी यतिबेला हर्षित छन् । भन्छन्, ‘निकै कष्टकर जीवन बिताउदा भविष्यमा सुखको दिन आउला भनेर चिताएका थिएनौं । अब हाम्रो परिवारमा कष्टको दिन गएजस्तो लाग्छ ।’

धाविका जयरानी थारुको बेजोड प्रदर्शनबाट यतिबेला बुबा भगवानदिन र आमा सुगहीको मुहारमा खुसी देखिएको हो । राजधानी काठमाडौंमा अघिल्लो साता सम्पन्न ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा छोरी जयरानीले चार स्वर्णसहित ५ पदक जितेकी थिइन् । दुई स्वर्ण जित्दा त उनले राष्ट्रिय कीर्तिमान नै रचिन् । छोरीले विद्यालयमा पढ्दा जितेका दर्जनौं पदक र ट्रफी पुरस्कार देखाउँदै बाबुआमाले एकैसाथ भने, ‘छोरीले दौडेर नाम कमाएको सुन्दा सबै दुःख बिर्सिर्यौं ।’ उनी सानैदेखि दौड्न मन पराउथिन् । पढ्नभन्दा खेल्नमा उनको रुचि हुन्थ्यो । त्यसैले स्कुलस्तरमै उनले दर्जनौं पदक र ट्रफी जितिसकेकी थिइन् ।

मधुवन नगरपालिका—२ सुन्दरपुर मुक्त कमैया बस्तीमा ०५९ सालमा जन्मिएकी जयरानी त्रिभुवन आर्मी क्लबसँग आबद्ध छिन् । राष्ट्रिय एथलेटिक्समा उनले आर्मीबाट खेलेकी थिइन् । दशरथ रंगशालामा उनले महिला ४ सय मिटर हर्डल्समा १ मिनेट ०७ दशमलब २ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले ०६८ सालमा भएको छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७ दशमलव ७ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन् । उनले १०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमान नै रचेकी थिइन् । उनले प्रमिला थारुको नाममा रहेको १६.३८ सेकेन्डको कीर्तिमान तोड्ने क्रममा १५.२० सेकेन्ड कायम गरिन् ।

जयरानीले थप दुई इभेन्टबाट स्वर्ण जितेकी थिइन् । उनले लङजम्प र चार गुणा १०० मिटर रिलेबाट पनि स्वर्ण थपेकी हुन् । चार गुणा ४०० मिटरमा मात्र उनीसम्मिलित आर्मी टिमले रजत जितेको थियो । उनको टिम त्रिभुवन आर्मी १८ स्वर्णसहित टिम च्याम्पियन बन्दा जयरानी उत्कृष्ट महिला खेलाडीमा घोषित भएकी थिइन् ।

गाउँकै मञ्जुश्री शिशुबाटिकामा कक्षा ८ मा पढ्दा ०७२ सालमा उनले राष्ट्रपति रनिङ सिल्ड खेलिन् । जहाँ उनले एथलेटिक्समा सहभागिता जनाइन् । दौडमा जिल्लाकै पहिलो भइन् । त्यसपछि जयरानीको प्रतिभा प्रस्फुटन हुन पायो । दौडमा उनको अत्यधिक रुचि देखिएपछि गुलरियाका एक निजी विद्यालयले उनलाई कक्षा १० सम्म निःशुल्क अध्ययन गराउन लिएर गयो । उनी कक्षा ९ मा पढ्दा जुनियर च्याम्पियनसिपमा भाग लिन थाइल्यान्ड पुगिन् । लगत्तै श्रीलंकामा भएको प्रथम जुनियर एसियाली च्याम्पियनसिपमा पनि सहभागी भइन् । दुवै मुलुकमा उनले पदक होइन, भरपुर आत्मविश्वास बटुलिन् । जापानमा पनि जयरानी एथलेटिक्स प्रशिक्षणका लागि पुगिन् ।

कान्तिपुर दैनिकबाट साभार। पूरा समाचार पढ्न तलको लिङ्कमा क्लिक गर्नुस्:

अझै पढ्नुहाेस