जबसम्म सभामुखले सूचना टाँस गर्नुहुन्न, तबसम्म संसद अवरोध भइरहन्छ : शान्ता चौधरी

संसदको अवरोध अन्त्य गर्ने विषयमा तपाईंहरुसँग सत्तारुढ दल र सभामुखबाट संवादको प्रयास भएको छ कि छैन ?

अहिलेको मुख्य टसल भनेको सभामुख र एमालेको हो, अरुसँग हैन । अहिलेसम्म छलफलका लागि कुनै कुरा भएको छैन । अस्ति सर्वदलीय बैठक बसेको थियो । सर्वदलीय राखेर हामीसँग वार्ता गर्नुस् भनेको हैन । प्रमुख प्रतिपक्षी दलका नेतासँग सभामुखले भेटेर सदनलाई सुचारु गर्ने विषयमा कुरा गर्न गए हुन्थ्यो नि, किन चाहियो सर्वदलीय बैठक ? जसलाई हामीले कारवाही गरेका छौँ, उसैको उपस्थितिमा रहेको बैठकमा हाम्रो पार्टी कसरी जान सक्छ ? जसलाई हाम्रो पार्टीले कारवाही गरेको छ, आधिकारिक रुपमा पार्टीको मान्यता नपाएको त्यस्तो दललाई मान्यता दिएर हाम्रो पार्टी कसरी जान सक्छ ?

सर्वदलीय बैठकमा त एमालेले भाग लिएन, त्यसपछि सभामुखले एमालेसँग छलफल गर्छु भनेर कुनै सन्देश पठाउनुभएको छ कि छैन ?

मलाई अहिलेसम्म यसबारे थाहा छैन ।

तपाईहरुले पछिल्लो समयमा सभामुखले एमालेले कारवाही गरेका सांसदहरुको बारेमा सूचना टाँस गरे संसदको अवरोध हट्छ भन्नुभएको छ । उहाँले आफ्नो गल्ती स्वीकार गरे पुग्छ भन्नु भएको हो ? कानुनी रुपमा त सूचना टाँस गर्ने समय सकिएको छ…

सभामुख त एउटा पार्टीको सामान्य मामुली कार्यकर्ता भएर बस्नुभएको छ । हामीले त उहाँलाई जे कानूनमा छ, नियमावलीमा जे छ, संविधानले जे भन्छ, कानुनले जे भन्छ, त्यहीअनुसार नै हामीले उहाँसँग कुरा गरिरहेका छौँ । फेरि सांसदलाई कारवाही गर्ने अधिकार त दललाई नै दिएको छ । एउटै विषयमा उहाँले राजनीतिक दलहरुलाई पक्षपातपूर्ण व्यवहार गरिरहनुभएको छ ।

हिजो टोपबहादुर रायमाझीहरुलाई पार्टीले कारवाही गरेको पत्र पाउनेबित्तिकै सूचना टाँस गर्नुभयो । सरिता गिरीको सन्र्दभमा पनि त्यसै गर्नुभयो । तर, एमालेलाई चाँहि उहाँले पक्षपात गर्नुभएको छ, पेलिरहनुभएको छ ।

तर, एमालैकै भीम रावलको राजीनामा पत्र त सभामुखले लामो समयसम्म विचाराधीन अवस्थामा राख्नुभएको थियो, पछि रावलले पत्र फिर्ता लिएर सांसद पद जोगाइदिएको अर्को नजिर पनि त छ नि ?

हिजो सबैका केही कमीकमजोरी त होलान् । तर, यो विषय त भीम रावलसँग जोडिने विषय नै हैन नि । भीम रावल र यो केश त नितान्त फरक केश हो । जसले दलको अनुशासन मान्दैन, जसले दलको ह्वीप मान्दैन, त्यस्ता सांसदलाई पार्टीले कारवाही गर्छु भन्दा कारवाही गर्ने अधिकार छ । पार्टीले आफ्नो अधिकार प्रयोग गरेको विषयमा सभामुखले सूचना मात्रै पनि टाँस गर्नुहुँदैन भने योभन्दा बलमिच्याइँ अरु के हुन्छ ?

तपाईहरुले अझै पनि सभामुखले सूचना टाँस गरे कुरा मिल्छ भन्नुभएको छ । तर, संविधानले १५ दिनभित्रै सूचना टाँस गर्नुपर्ने व्यवस्था गरेको छ । अब कसरी मिल्छ ?

यो कुरा तपाईहरुले पनि बुझ्नुपर्छ, १५ दिनसम्म उहाँको अधिकार रहन्छ भनेको हो । त्योभन्दा पछि पनि अरु अधिकार त छँदैछ नि । त्यतिञ्जेलसम्म नगर्दा हुन्न भन्ने हो । तर, पछि जहिले गरे पनि भयो नि ।

तर, कानुनविद्हरुले पनि सभामुखले फेरि सूचना टाँस गर्ने अवधि समाप्त भइसक्यो भनेका छन्….

कानुनको मान्छेहरुले आफ्नै तरिकाले व्याख्या गर्छन् । उहाँलाई त्यो सूचना टाँस गर्न कानुनले दिन्छ । सूचना टाँस गरेपछि १४ जना (माधव नेपालसहित) पदमुक्त हुन्छन् । हामीले चाहेको सभामुखले सूचना टाँस गरिदिउन् भन्ने हो । त्यसपछि हामी संसदको अवरोध खोल्छौँ भनिरहेका छौँ ।

तपाईहरुले संसद अवरुद्ध गर्दा सभामुखले संविधानको धारा १०५ सम्झाइरहनुभएको थियो । अदालतमा विचाराधीन मुद्दामा संसदले हस्तक्षेप गर्न मिल्छ र ?

उहाँलाई त लाज लाग्नुपर्ने हो । सभामुखजस्तो मान्छे भएर, सभामुखजस्तो गरिमामय पदमा बसेर जसरी सांसदहरुलाई संविधानको धारा, दफा उहाँले सम्झाइरहनुभएको थियो, त्यो आफूले चाहिँ कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ? उहाँको नैतिकताले त्यसो भन्न नदिनुपर्ने हो ।

तथापि, संविधानमा त अदालतमा विचाराधीन मुद्दा उठाउन पाइँदैन भन्ने व्यवस्था छ नि हैन ?

त्यस्तो हैन । हामीले सभामुखलाई अदालत जानुभन्दा धेरै अघि सूचना टाँस गर्न माग गरेका हौँ । अदालतमा जानुभन्दा अगाडि यो कुरा सभामुखसमक्ष उठाएका हौँ । उहाँले सूचना टाँस गरेको भए हामी अदालत जानुपर्ने अवस्था नै थिएन ।

तपाईंहरुको मुद्दा अदालतमा विचाराधीन छ, अब अदालतको फैसला कुर्नुहुन्छ कि सधैं यसरी नै सदन अवरोध गरिरहनुहुन्छ ? अब के गर्नुहुन्छ ?

जबसम्म सभामुखले सूचना टाँस गर्नुहुन्न, तबसम्म हाम्रो तर्फबाट संसद अवरोध भइरहन्छ ।

अझै पढ्नुहाेस