गाउँभरिका बच्चा सेक्ने रामकुमारी काकी (थारु)

समर्पण श्री

नाम रामकुमारी थारु । तर, गाउँमा सबैले उनलाई ‘काकी’ भनेर चिन्छन् । कसै–कसैले ‘रामकुमारी काकी’ फुर्को जोड्छन् ।

कोहलपुर चोकबाट दक्षिण–पश्चिमतर्फ छ, उनको गाउँ । थारुहरूको बाहुल्य रहेको गाउँमा रामकुमारी काकी नेपाली बोल्दिनन्, जान्दिनन् । बस्न त पहाडी मूलका मानिस पनि बस्छन्, गाउँमा । तर उनीहरू काकीकै भाषा सजिलै बुझ्छन्, र उनकै भाषामा संवाद गर्न सक्छन् ।

गर्मी चढिरहेको कोहलपुरमा पसिनाले निथ्रुक्क भिजेकी ‘रामकुमारी काकी’सँग संयोगले भेट भयो । मध्यान्नको टन्टलापुर घाममा उनी छिमेकीको आँगनमा ओर्लिइन् ।

‘टोहारिक बच्चाहे सेकके अइलक पैसासे मै सइकिल लेलुँ (तपाईंको बच्चा र आमा सेकेर आएको पैसाले मैले साइकल किनेँ,’ आँगनमा ओर्लनेबित्तिकै पहाडी मूलका ती छिमेकीसँग रामकुमारी काकी सुनाउँछिन् ।

उनका मगर छिमेकी रोइरहेका ३ महिने शिशु फुल्याउने प्रयास गरिरहेका थिए । रामकुमारी काकीले आगो र पानी छोइन्, अनि ती शिशुलाई काखमा लिँदै भनिन्, ‘बच्चनहे एकफाले पकरबो टे नै मन्ठ, तारेसे असिक पक्रे परठ । (बच्चालाई घुचुक्क पारेर समात्यो भने मान्दैन । तलबाट यसरी समात्नुपर्छ ।)’

उनको हातमा लुट्पुटिएको शिशु एकैछिनमा शान्त हुन्छ । उनी मुसुक्क मुस्कुराउँछिन र शिशुसँग आफ्नै भाषामा कुरा गर्न थाल्छिन् ।

रामकुमारी काकीको यो अनौठो स्वभावले हामीलाई आकर्षित गर्‍यो । ‘उहाँ शिशु फुल्याउन र नानीहरूसँग संवाद गर्न अभ्यस्त हुनुहुन्छ,’ उनका मगर छिमेकीले हामीतर्फ हेर्दै भने, ‘भर्खरै बच्चा जन्मिएको आमालाई शिशु कसरी स्याहार गर्ने भनेर थाहा हुँदैन । यो गाउँमा त उहाँबाटै सिक्छन् धेरैले ।’

उनको पेसा रहेछ– सुत्केरी आमा र शिशुलाई सेक्नु, स्याहार गर्नु ।

हुन त यो नौलो पेसा होइन । गाउँ वा सहरमा सुत्केरी आमा र शिशुलाई स्याहारेर आयआर्जन गर्नेहरू थुप्रै भेटिन्छन् । रामकुमारी काकी त्यही पेशाकर्मी हुन् ।

रामकुमारी काकीले अक्षर छिचोलेकी छैनन् । ‘नाइ कुच नई जन्थु एक्क अक्षर,’ उनी लजाउँदै भन्छिन् । तर, आफ्नो सीपमा उनको राम्रो पकड छ । जसलाई २० वर्षदेखि कायम राख्दै आएकी छन् । ‘कोइलाको रापमा बच्चा र आमा सेकाउँदा उनीहरू स्वस्थ हुन्छन् । यो काममा मलाई रमाइलो लाग्छ,’ थारु भाषामै उनी भन्छिन् ।

यही सीपका कारण रामकुमारी काकीलाई आफ्नो सिंगो गाउँले सम्झिन्छ । कहिलेकाहीँ वल्लोपल्लो गाउँले पनि सम्झिन्छन् । यसरी सम्झँदा उनीलाई खुसी लाग्छ ।

यतिका वर्षदेखि उनले कति बच्चाहरू सेकी होलान् त ? यकिन छैन रामकुमारीलाई । भन्छिन्, ‘बहुत हुइगिल् । बडे बडे लड्का हुइगी ।’

कति त जागिरे भइसके । जो बेलाबेलामा उनका मुस्कानसँग ठोकिन्छन्, र हाँस्दै भन्छन्, ‘तपाईंले सेकेर हुर्किएका हामी ठूला भगयौं ।’

एउटा सानो बालकले भनेको कुरा रामकुमारीलाई सम्झना छ । ‘ममी यी काकीले मलाई तेल लगाइदिनुभएको हो । मेरो तर्फबाट धोती किनेर उपहार दिनुस् न,’ ती बालकले आमालाई भन्छन् । मुसुमुसु हाँसिरहेकी रामकुमारीको सामु आमाले जिस्कँदै भन्छिन् ‘तँ ठूलो भएर कमाउनू, अनि आफैं दिनू ।’

‘त्यतिन्जेल त काकी बुढो भएर मरिजानुहुन्छ । अनि कसरी दिने ?’ रामकुमारी बालकको प्रसंग उदृत गर्दै हाँस्छिन् ।

वर्षमा २० जनाभन्दा बढी बच्चा र आमालाई तेल लगाएर कोइलाको रापमा सेक्छिन्, रामकुमारी काकी । यसरी सेकेबापत एक घरबाट १५ हजार रुपैयाँसम्म लिन्छिन् ।

काम गर्ने क्रममा केही कुरामा भने रामकुमारीको असन्तुष्टि हुन्छ । एउटा काम भनेर अरु काम थुपारिँदा कहिलेकाहीँ दुःख पाउनुपर्छ उनले । एक घरमा त्यस्तै भयो । घरबेटीले आमा र बच्चाको कपडा धुन भने । तर, पछि घरभरिको लुगा ल्याएर थुपारिदिए । र, पनि कुनै गुनासो पोखिनन् ।

आजसम्म रामकुमारीले कतैबाट विभेद भने खेप्नुपरेको छैन । उनको स्वाभिमानले भन्छ– ‘हेपिनुपरे कामै गर्दिनँ ।’ त्यही स्भाविमानका कारण होला, उनी जुनसुकै जातको घरहरूमा, जुनसुकै वर्गका घरहरूमा पुगे पनि राम्रो सत्कार पाउँछिन् । ‘कोरोनाको बेला पनि कोही भित्र पस्न पाउँदैन थियो, म भने हातखुट्टा धुन्थें र सजिलै पसिहाल्थें,’ उनी सुनाउँछिन् ।

बिहे गरेर टाढा टाढा गएकाहरू पनि सुत्केरी भएर माइत आउँछन् । अनि, सेक्ने जिम्मा रामकुमारीकै हुन्छ ।

थारु समुदायमा भने बच्चा सेकेबापत् उनी पैसा लिँदिनन् । त्यहाँ सुप्पामा चामल दिने चलन छ । ‘हमार थारुमा पैसा नाइँ देतें । चावल देते चावल,’ उनी सुनाउँछिन् ।

अझै पढ्नुहाेस