कांग्रेस महाधिवेशनमा ‘गच्छदार फ्याक्टर’ कति निर्णायक ?

खगेन्द्र भण्डारी
‘महाधिवेशन सबैका लागि हो, मेरा लागि पनि हो । अब म राजनीतिमा फेरि सक्रिय हुन्छु र महाधिवेशनको तयारीमा जुट्छु,’ करिव डेढ वर्षसम्म सञ्चारमाध्यमबाट टाढा रहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बुधबार पत्रकार सम्मेलनमा भने ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारले आफ्नो सफाइ दिन पत्रकार सम्मेलन आयोजना गरेको भनिएपनि उनको निशाना भने कांग्रेस महाधिवेशनतर्फ थियो । आफूमाथि लागेको भ्रष्टाचारको आरोप महाधिवेशनमा मुद्धा बन्ने भयले उनले पत्रकार सम्मेलन नै गरेर आफूसँग राजनीतिक प्रतिशोध लिन मुद्दा लगाइएको जिकिर गरे ।

मंसिर ९–१३ मा निर्धारित १४ औं महाधिवेशनका लागि कांग्रेसभित्र विभिन्न पदमा उम्मेदवारी घोषणाको होडवाजी चलिरहेका बेला गच्छदारले पनि लामो मौनता तोड्दै महाधिवेशनमा आफू केन्द्रित हुने सन्देश दिए ।

सभापति पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका गच्छदारले समय आएपछि आफ्नो उम्मेदवारी घोषणा गर्ने प्रष्ट पारे । ‘मेरो सभापतिमा प्रतिस्पर्धा हुँदैन, भविष्यमा पनि यो सोच छैन,’ उनले भने, ‘अरु पदमा उम्मेदवारी दिनेबारे समय आएपछि सार्वजनिक गर्छु ।’

कांग्रेसमा दुई दशकअघि एउटा समूह चर्चित थियो, ‘एकेजीबी’ । एकेजीवी अर्थात् अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार । कांग्रेसमा निकै प्रभावशाली मानिने यो समूहका दुई नेता केसी र गच्छदार मात्रै राजनीतिमा सक्रिय छन् ।

खड्काको दुई वर्षअघि निधन भयो भने अर्का नेता जोशी भ्रष्टाचार आरोप लागेपछि कांग्रेस राजनीतिबाट किनारा पर्दै गएका छन् । करिव चार वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जोशी पार्टी सदस्यबाटै निलम्बनमा छन् ।

कांग्रेस राजनीतिमा सक्रिय दोस्रो पुस्ताका नेताहरुमा पर्छन् गच्छदार । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए भने गच्छदार नवौं महाधिवेशनबाट ।
कांग्रेसमा पहिलो पटक पाँच विकास क्षेत्रबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था अनुसार गच्छदार पूर्वाञ्चलबाट, भीमबहादुर तामाङ मध्यमाञ्चल, रामचन्द्र पौडेल पश्चिमाञ्चल, सुशील कोइराला मध्यपश्चिमाञ्चल र शेरबहादुर देउवा सुदूरपश्चिमबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तामाङ र कोइरालाको निधन भइसकेको छ भने देउवा, पौडेल र गच्छदार यतिबेला कांग्रेसमा ‘अन्तिमपटक’ का लागि प्रतिस्पर्धामा छन् ।

‘यो समूहले महाधिवेशनमा ठूलो प्रभाव पार्छ । कुल महाधिवेशन प्रतिनिधिको करिव दश प्रतिशत प्रतिनिधि तत्कालिन फोरम लोकतान्त्रिकबाट आउँछन्,’ कांग्रेस नेता मीन विश्वकर्मा भन्छन्, ‘यो संख्या कसैलाई जिताउन र हराउन पर्याप्त हुन्छ ।’
गच्छदारले देउवा र पौडेललाई अग्रज नेता मान्छन् । ‘उहाँहरु दुबै जना मेरो आदरणीय नेताहरु हुनुहुन्छ, अरु बाँकी केही समकालीन हुन् भने धेरै त जुनियर भाइबहिनी हुन्,’ गच्छदारले भने ।

सभापति देउवा फेरि नेतृत्वमा दोहोरिने तयारीमा छन्, वरिष्ठ नेता पौडेल पनि सभापतिका आकांक्षी छन् भने करिव ६ वर्ष कांग्रेस बाहिर रहेर फेरि मूल घरमा फर्किएका गच्छदार पनि अब कांग्रेसको राजनीतिमा आफ्नो पुरानै ‘प्रभाव’ फर्काउने दाउमा छन् ।

गच्छदारको शक्ति कति ?
कांग्रेसको सहमहामन्त्री भइसकेका गच्छदारले १८ माघ २०६४ मा कांग्रेस छोडेर तत्कालिन मधेसी जनाधिकार फोरममा आवद्ध भई क्षेत्रीय राजनीतिमा लागे । फोरम विभाजनपछि मधेसी जनाधिकार फोरम लोकतान्त्रिक गठन गरेर मधेसकेन्द्रित दलको नेतृत्वसमेत गरेका गच्छदारले १० वर्षपछि ३० असोज २०७४ मा कांग्रेससँग पार्टी एकता गराए । पार्टी एकताको एक वर्षपछि २० कात्तिक २०७५ मा गच्छदार उपसभापति मनोनित भए भने कांग्रेसले फोरम लोकतान्त्रिकबाट आएका ११ नेतालाई २३ फागुन २०७६ मा केन्द्रीय सदस्य मनोनित गरेको थियो ।

कांग्रेससँग एकता गरेपछि गच्छदारको पार्टीलाई दुई सय महासमिति सदस्य, ६ सय महाधिवेशन प्रतिनिधि दिइएको थियो । त्यस्तै २५ हजार क्रियाशील सदस्यता गच्छदार समूहले पाएकोमा क्रियाशील सदस्यता छानविन समितिले २३ हजारको नाम स्वीकृत गरेको छ ।

गच्छदार निकट एक नेताको दावी छ, यसपटक गच्छदार समूहबाटै करिव चार सय महाधिवेशन प्रतिनिधि आउँछन् । ‘चार सय महाधिवेशन प्रतिनिधि नघट्ला भन्ने हाम्रो अनुमान हो । जुन जुन जिल्लामा हाम्रा महाधिवेशन प्रतिनिधि हुनुहुन्छ, ती जिल्लामा त्यही संख्यामा हाम्रा साथीहरु आउनुहुन्छ,’ गच्छदार निकट नेता योगेन्द्र चौधरीले भने, ‘हाम्रा साथीहरु सहमतिमै आउने परिस्थिति बनिरहेको छ ।’

कांग्रेस र फोरम लोकतान्त्रिक पार्टी एकता भएको चार वर्ष पुगेको छ । संघ र प्रदेशको निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकका एक दर्जन नेताले प्रतिस्पर्धा गरेका थिए । त्यसैबाट तत्कालिन फोरम लोकतान्त्रिकका नेताहरु कांग्रेसमा घुलमिल भइसकेको दावी गच्छदार समूहको छ । कांग्रेसभित्र गच्छदारको पुरानो लिगेसी र अन्य नेताहरु स्थानीयदेखि केन्द्रीय भूमिकामा पनि रहेकाले आफूहरुको शक्ति झन् बढेको उनीहरुको निष्कर्ष छ ।

‘हाम्रो पुरानो लिगेसीबाट कति जना आएभन्दा पनि अहिले हामीहरु (तत्कालिन फोरम लोकतान्त्रिक) ले भन्दा कति जनाले भोट हाल्छन् भन्ने महत्वपूर्ण कुरा हुन्छ । अहिले हामीसँग कांग्रेसमै रहेका साथीहरु झन् निकट हुनुभएको छ,’ गच्छदार समूहका एक केन्द्रीय सदस्यले भने, ‘हामी जस्तै जिल्ला–जिल्लामा तत्कालिन फोरम लोकतान्त्रिकका साथीहरु हुनुहुन्छ, कांग्रेसकै साथीहरुसंग उहाँहरु उत्तिकै नजिक हुनुहुन्छ । त्यसकारण हामीले हिजोको फोरम लोकतान्त्रिकलाई मात्रै हेरेर हुँदैन । परिस्थिति बदलिएको छ ।’
फोरम लोकतान्त्रिकले पार्टी एकीकरणका बेला ६३ जिल्लामा आफ्नो संगठन रहेको बताएको थियो । गच्छदारको बढी प्रभाव भने तराईका जिल्लामा देखिन्छ । फोरम लोकतान्त्रिकबाट आएकाहरुलाई झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सा, बारा, दाङ, बाँके, बर्दिया, कैलालीमा उपसभापतिसहित जिल्ला कार्यसमितिमा भूमिका दिइएको थियो ।

कांग्रेस नेता मीन विश्वकर्मा पनि महाधिवेशनमा गच्छदार समूह निर्णायक हुने बताउँछन् । ‘यो समूहले महाधिवेशनमा ठूलो प्रभाव पार्छ । कुल महाधिवेशन प्रतिनिधिको करिव दश प्रतिशत प्रतिनिधि तत्कालिन फोरम लोकतान्त्रिकबाट आउँछन्,’ उनी भन्छन, ‘यो संख्या कसैलाई जिताउन र हराउन पर्याप्त हुन्छ ।’

कांग्रेसमा फोरम लोकतान्त्रिकबाट महाधिवेशन प्रतिनिधि भएकाहरुलाई नछुटाउन स्थानीय तहबाटै सहमतिमा प्रतिनिधि ल्याउने काम भइरहेको छ । गच्छदार समूहका नेता योगेन्द्र चौधरी वडा अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको संख्याले पनि आफूहरु कमजोर नहुने अवस्था रहेको बताउँछन् ।

‘अधिकांश जिल्लामा हाम्रो समूहका साथीहरुलाई सहमतिमै महाधिवेशन प्रतिनिधि ल्याउने प्रयास भइरहेको छ । सहमतिमै वडा अधिवेशन भयो । वडा अधिवेशनमा हामीले अनुमान गरेजस्तै कार्यसमिति आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘हरेक ठाउँमा फोरम लोकतान्त्रिकका साथीहरुलाई स्थान दिएको देखिन्छ । क्षेत्रीय प्रतिनिधि पनि सोचे अनुसार नै आउनुभएको छ ।’

कांगेस विधानमा महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमिति चयन गर्ने व्यवस्था छ । वडा तहबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्छन् ।

राजनीतिक विश्लेषक एवं कांग्रेसबारे कलम चलाउँदै आएका सुदर्शन आचार्य गच्छदार समूह महाधिवेशनको नजिता नै उल्टाउन सक्ने हैसियतमा नरहेको दावी गर्छन् ।

‘पार्टीमा पाएको सदस्यता संख्या, गच्छदारको कांग्रेसमा निरन्तरता, संगठनको अवस्थाले महाधिवेशनमा ‘धेरथोर’ निर्णायक त बन्छ नै तर उहाँमाथि जुन भ्रष्टाचारको मुद्धा लागेको छ, त्यसले उच्च मनोबलका साथ देशव्यापी माहोल बनाउन सक्रिय हुन दिँदैन,’ उनी भन्छन्, ‘जसले गर्दा उहाँ जता लाग्नुभयो, त्यहीँ पल्लाभारी हुने अवस्था म चाहिँ देख्दिन ।’

गच्छदारको झुकाव कता ?
कांग्रेसमा संस्थापन समूहकै नेता मानिन्छन् गच्छदार । उनले आफू कुनै पनि गुटमा नरहेको दावी गरेपनि सभापति देउवाले बोलाउने हरेक गुटगत बैठकमा गच्छदार सहभागी हुँदै आएका छन् ।

आसन्न महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा देउवा दोहोरिन खोजेका छन् भने देउवा समूहमै रहेका उपसभापति विमलेन्द्र निधि पनि नेतृत्वको दौडमा छन् ।

संस्थापनइतर समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदका आकांक्षी हुन् ।

संस्थापन इतर समूह एक ढिक्का नभएको अवस्थामा देउवालाई सबैभन्दा चुनौती अढाई दशकदेखि निकट भएर साथ दिएका उपसभापति निधिको सभापतिमा उम्मेदवारी घोषणाले दिएको छ । प्रदेश २ मा राम्रो पकड भएका निधिले देउवालाई क्षति पुर्‍याउने आकलन संस्थापन समूहको छ । तर देउवा पक्षको दाबी अनुसार सभापति देउवा निधिले पुर्‍याउने क्षति उपसभापति गच्छदार समूहको साथबाट पूर्ति गर्न चाहन्छन् । र महाधिवेशनमा गच्छदार समूहको समर्थन आफूलाई हुनेमा देउवा ढुक्क छन् ।

कांग्रेस विभाजन हुँदा देउवालाई दरिलो साथ दिएका थिए गच्छदारले । देउवाले उनलाई कांग्रेस प्रजातान्त्रिकको सहमहामन्त्री मनोनित गरेका थिए । गिरिजा प्रसाद काेइराला सभापति हुँदा कांग्रेस परित्याग गरेका गच्छदारलाई देउवाले आफू सभापति भएपछि फेरि पार्टीमै फर्काए ।

गच्छदारको पार्टी कांग्रेसमा आउँदा संस्थापनइतर समूह बेखुस थियो भने देउवाले आफ्नो शक्ति थप बढेको रुपमा लिएका थिए । पार्टीभित्र गच्छदारलाई भूमिका दिने विषयमै पौडेल पक्षले असन्तुष्टि जनाएपछि कांग्रेस प्रवेश गरेको एकवर्षपछि मात्रै गच्छदारलाई उपसभापति मनोनित गरिएको थियो भने उनका समूहका अन्य नेताहरुलाई दुई वर्षपछि मात्रै जिम्मेवारी दिइएको थियो ।

गुटगत राजनीतिले जेलिएको कांग्रेसलाई गुटमुक्त बनाउन आफू लागिपरेको गच्छदारको प्रष्टोक्ति छ । उनी आफू कुनै गुटभन्दा कांग्रेसलाई एकतावद्ध बनाउन लागिपरेको दावी गर्छन् । तर देउवासँगको पुरानो निकटता र ललितानिवास प्रकरणले पनि गच्छदारको समर्थन संस्थापन समूहलाई नै हुने यो पक्षका नेताहरु बताउँछन् ।

‘ललितानिवास मुद्धाका कारण पनि पार्टीभित्र देउवासँग दूरी बढाउने परिस्थिति छैन गच्छदारको’ कांग्रेसका एक नेताले भने, त्यसैले गच्छदारको सहयोग महाधिवेशनमा देउवालाई नै हुनेमा शंका छैन । उहाँको यो बाध्यता पनि हुनसक्छ ।’

अझै पढ्नुहाेस