‘आरआरआर’ फिल्मको गीतमा कभर डान्स बनाएर भाइरल बनेका थारु दाजुभाइ

प्रभाकर गौतम/सेतोपाटी

एसएस राजमौलीको आगामी फिल्म ‘आरआरआर’ को नयाँ गीत ‘नाचो नाचो’ उर्फ ‘नाटु नाटु’ ले संसारभरका दर्शक नचाइरहेको छ। तेलगु स्टारद्वय रामचरण र एनटिआरबीच छायांकन गरिएको यो गीत प्रेम रक्षितको कोरिओग्राफीमा बनेको हो। यसको फुटस्टेपबाट धेरै जना आकर्षित छन्।

टिकटक र अरू सामाजिक सञ्जालमा कभर डान्स बनाउनेहरूबीच रामचरण र एनटिआरको फुटस्टेपसँग तालमेल मिलाउने प्रतिस्पर्धा नै चलेको छ।

यो प्रतिस्पर्धामा नेपालका दुई किशोर अरूभन्दा धेरै अघि देखिएका छन्।

गत शुक्रबार सार्वजनिक यो गीतको तेलगु भर्सनमा वीरगन्जका अभय चौधरी र आयुष चौधरीले तीन दिनअघि कभर भिडिओ बनाएर सार्वजनिक गरेका थिए।

भिडिओमा उनीहरूले रामचरण-एनटिआर जोडीको डान्स र आफ्नो डान्स सँगसँगै राखेका छन्। उनीहरूले डान्स स्टेप सिक्न चाहनेका लागि कभर भिडिओ पनि बनाएका छन्। ‘नाटु नाटु ट्युटोरियल’ नाम दिइएको यो भिडिओले अहिलेसम्म ५० लाख भ्युज काटिसकेको छ।

एमएम किरवानीको संगीतमा बनेको नाटु नाटुमा आधारित उनीहरूको कभर भिडिओलाई चर्चित भारतीय कलाकार र डान्सरले समेत सेयर गरेका छन्। उनीहरूको कभर भिडिओ ‘आरआरआर’ फिल्मको आधिकारिक ट्विटर ह्यान्डलबाट समेत ट्विट भइसकेको छ।

कभर भिडिओ बनाएर भाइरल बनेका यी नेपाली दाजुभाइ को हुन्?

अभय र आयुष ‘ए-स्क्वायर क्रू’ नामबाट चिनिन्छन्। नाटु नाटुको भिडिओ ए-स्क्वायरले यही नामको आफ्नो युट्युब च्यानलमा राखेको छ।

युट्युब च्यानलको नाम अभय र आयुषको पहिलो अक्षर जोडेर बनाइएको उनीहरूका बुबा ओम चौधरीले बताए, ‘ए-स्क्वायरमा डान्सलाई बुझाउने शब्द ‘क्रू’ थपेर युट्युब च्यानलको नाम जुराइएको हो।’

मुख्य रूपमा तेलगु अनि हिन्दी र तमिल भाषामा समेत रिलिज हुने ‘आरआरआर’ को नाटु नाटु हिन्दीमा ‘नाचो नाचो’ र तमिलमा ‘नाट कोथु’ का रूपमा सार्वजनिक भएको छ। कम समयमा युट्युबमा बढी भ्यूजको रेकर्ड बनाएको यो गीतमा सयौं कभर भिडिओ बनेका छन्। तीमध्ये ए-स्क्वायरको भिडिओले विशेष चर्चा पाउनुमा अभय र आयुष जोडीको पृष्ठभूमि पनि जोडिन्छ।

‘नाइ मलाई थाहा छैन’ गीतको कभर डान्सर विजेता बनेपछि बिस्तारै उनीहरूले चर्चा बटुल्न थालेका हुन्।

यो जोडी सन् २०१८ मा भारतीय रियालिटी सो ‘डान्स प्लस’ को चौथो संस्करणमा सहभागी भएर नेपालसँगै भारत र अन्य देशका दर्शकमाझ चर्चित बनेको थियो। उनीहरू ‘डान्स प्लस’ को अन्तिम ३० सम्म पुग्न सफल भएका थिए।

अभय र आयुष डान्सरका रूपमा चर्चित हुनुमा उनका बुबा ओम चौधरीको विशेष भूमिका छ। ओम आफैं राम्रो नाच्छन्। अभय र आयुषले सोमबार मात्रै नाटु नाटुमा आफ्नो बुबासँग नाचेको भिडिओ टिकटकमा हालेका छन्। यो भिडिओले पनि ६३ हजारभन्दा बढीको लाइक पाइसकेको छ।

युट्युबमा झन्डै आठ लाख फलोअर्स भएको यो जोडी टिकटकमा पनि सक्रिय छ। उनीहरूले बनाएको नाटु नाटुको टिकटक १३ लाखभन्दा बढीले लाइक गरिसकेका छन्।

ओम नै अभय र आयुषका डान्स प्रशिक्षक हुन्। ओमका अनुसार दुवै दाजुभाइ सानै उमेरदेखि अनुशासित रूपमा अभ्यास गरेर यति राम्रो डान्सर बनेका हुन्।

अभय १५ वर्षका भए भने आयुष यही पुसमा ११ वर्ष पुग्दैछन्। अभय करिब ८ र आयुष ४ वर्षको उमेरदेखि नाच्न थालेका हुन्। उनीहरू अहिले पनि दैनिक घन्टौं अभ्यास गर्छन्।

ओमका अनुसार २०७२ को भुइँचालोपछि उनीहरूले नियमित अभ्यास गर्न थालेका हुन्। कोरोना महामारी र लकडाउनको समयमा उनीहरूले अरू बेलाभन्दा बढी अभ्यास गर्ने समय पाए। त्यसबीच उनीहरू बिहान तीन घन्टा र बेलुकी तीन घन्टा गरी दैनिक छ घन्टा अभ्यास गर्थे।

‘अभय नौ कक्षा पुगेपछि अचेल बिहान पढाइलाई समय दिन थालेका छन्। बिहान आयुषले एक्लै अभ्यास गर्छन् भने दुई-तीन घन्टासम्म दुवै जनालाई सँगै अभ्यास गराइरहेको छु,’ ओमले भने।

भारतको रियालिटी सोमा सहभागी भइसकेका यी दुई भाइलाई आगामी दिनमा अरू प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्न नियमित अभ्यास गराइरहेको ओमले बताए।

अझै पढ्नुहाेस