असफलताबाट प्रेरित सञ्जु चौधरीको एसियाड लक्ष्य

नमिता दाहाल/अनलाइनखबर

नेपालगञ्ज शहर भारोत्तोलन खेलाडी उत्पादनको प्रमुख स्थल हो । पार्थ सारथी सेन गुप्ता र ओलम्पियन सुरेन्द्र हमालजस्ता भेट्रानबाट सिञ्चित नेपालगञ्जको भूमिमा जन्मिएकी च्याम्पियन हुन्- सञ्जु चौधरी ।

दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने पहिलो भारोत्तोलन खेलाडीको कीर्तिमान बनाएकी सञ्जु आसन्न १९औं एसियाली खेलकुदको तयारीमा छिन् ।

क्रिकेट र एथलेटिक्स हुँदै भारोत्तोलनमा पुगेकी सञ्जुको करिअर असफलताबाट प्रारम्भ भएको थियो । पहिलोपल्ट राष्ट्रिय प्रतियोगिताका रुपमा सातौं राष्ट्रिय खेलकुद (२०७३)मा खेलको नियमबारे पूर्ण जानकार नहुँदा अयोग्य हुनुपरेको तीतो अनुभवबाट उनको भारोत्तोलन खेल जीवन सुरु भएको थियो ।

नेपालगञ्ज रंगशालामा क्रिकेट, एथलेटिक्स र भारोत्तोलनको प्रशिक्षणस्थल एकै स्थानमा थियो । जिम गर्ने क्रममा भारोत्तोलनतर्फ मोडिएकी सञ्जुले पहिलो असफलतापछि भने पछाडि फर्केर हेर्नुपरेको छैन ।

‘एथलेटिक्समा राष्ट्रपति रनिङ शिल्ड र क्रिकेटको क्षेत्रीय प्रतियोगिता खेल्न थालेकी थिएँ । भारोत्तोलनमा लागेको ६/७ वर्षमात्र भएको थियो,’ उनले आफ्नो सुरुवाती करिअरबारे भनिन्, ‘सातौं राष्ट्रिय खेलकुदमा मैले तौल त उठाएँ तर निर्णायकले डाउन नभनी फालें अनि अयोग्य भएँ ।’

नियम नजानेर अयोग्य भए पनि खेलाडीको शारीरिक चुस्तता र क्षमताको पहिचान त्यहाँ रहेका प्रशिक्षकले गरिरहेका थिए । तीमध्ये भारोत्तोलन खेलाडी र डाइट न्युट्रिसियनसमेत रहेका सञ्जय महर्जनले सञ्जुलाई काठमाडौं बोलाएर प्रशिक्षण गराउन थाले । त्यसपछि मात्र उनको भारोत्तोलनबारे वास्तविक सिकाइ सुरु भयो । नियम र काइदाबारे जानकारी भयो ।

एसियाली खेलकुदका लागि अघिल्लो सातामात्र भारोत्तोलनको खेलाडी छनोट भएको छ । निरन्तरको मिहिनेत र कठिन शारीरिक अभ्यासको आवश्यकता पर्ने यो खेलमा तीन महिनाको प्रशिक्षणबाट पदकको आशा गर्नु महत्वाकांक्षी हुन्छ भन्ने तथ्यलाई सञ्जुले पनि राम्ररी बुझेकी छन् ।

विश्व भारत्तोलनमै पावरहाउस राष्ट्रका खेलाडीबीच एसियाडमा प्रतिस्पर्धा गर्नुपर्छ । एसियाडका लागि प्रारम्भिक छनोटबाट पाँच जना खेलाडी छानिएका छन् । सञ्जुले ५५ केजी मुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

झण्डै ६ वर्ष लामो खेल करिअरमा दक्षिण एसियाली च्याम्पियन बनेपछि सञ्जुको अबको लक्ष्य स्वभाविक रुपमा एसियाली खेलकुद नै हो । यसपल्ट उनको पदक जित्ने योजना छैन । ‘एसियन गेम्समा शीर्ष पाँचभित्र पर्ने लक्ष्य हो,’ अनलाइनखबरसँगको कुराकानीमा २२ वर्षीया सञ्जुले भनिन् ।

सञ्जुलाई अहिलेसम्म पनि महर्जनले प्रशिक्षण गराइरहेका छन् । सन् २०१९ को डिसेम्बरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण जित्दा पनि महर्जनले नै प्रशिक्षण गराएका थिए । एसियाली खेलकुदमा भने वास्तविकतामा आधारित लक्ष्य राख्नुपर्नेमा प्रशिक्षक महर्जनको पनि एकमत छ ।

‘शीर्ष पाँचमा अटाउन यति मिहिनेतले पुग्दैन । ओलम्पिकमा भारोत्तोलनको आधाजस्तो पदक एसियन राष्ट्रले ल्याएका छन् । नेपालको यति तयारीले शीर्ष आठभित्र अटाउन ठूलो उपलब्धि मान्नुपर्छ,’ महर्जनले भने, ‘नेपालले एसियाडमा पदकको आश गर्नु त धेरै परको कुरा हो ।’

बल, बुद्धि र प्रविधिको खेल भारोत्तोलन

सामान्यतः दायाँ र बायाँ फलामको चक्का (वजन) राखेर हातले उठाउनुलाई नै भारोत्तोलन भनेर बुझिन्छ । वास्तवमा यो खेल फलाम उचाल्ने मात्रै नभएर गति, बल र प्रविधिको संयोजन हो । यो खेलको राष्ट्रियस्तरको प्रतियोगिता सीमित हुने गरेको छ । अन्तर्राष्ट्रिय खेलाडीहरुले नै वर्षभरि प्रशिक्षण नपाउँदा पलायनको समस्या उत्तिकै देखिन्छ ।

सञ्जुले यही अप्ठ्यारो खेललाई आफ्नो करिअरका रुपमा छानेकी छिन् । शरीरले साथ दिँदासम्म भारोत्तोलन खेल्ने उनको इच्छा छ । ‘यो खेलमा गर्न सक्ने हो भने करिअर छ । तर मिहिनेत अन्य खेल्नमा भन्दा बढी नै गर्नु पर्छ,’ सञ्जु भन्छिन्, ‘भारोत्तोलन खेल बलले मात्रै खेलिँदैन बुद्धि र प्रविधिबारे उत्तिकै जानकार हुनुपर्छ । मैले तौल उचाल्न त जानेकी थिएँ तर प्राविधिक ज्ञानको कमीले नै म पहिलो प्रयासमा असफल भएकी थिएँ ।’

सञ्जयको प्रशिक्षण खारिएको सञ्जुको खेल

अहिले उनलाई पूर्व राष्ट्रिय खेलाडी तथा लामो समयदेखि भारोत्तोलनमा संलग्न रहेका खेलाडी प्रशिक्षक सञ्जय महर्जनले प्रशिक्षण दिइरहेका छन् ।

उनको प्रशिक्षणमा सञ्जुले भारोत्तोलनको प्राविधिक सिप सिकिन् । जसका कारण अहिले उनलाई पछाडि फर्केर हेर्न जरुरी छैन । भारोत्तोलन खेलकै कारण अहिले उनी राष्ट्रिय स्तरमा चिनिन्छिन् । सञ्जय महर्जन आफैं पनि २ पटकसम्म एसियन गेम्समा भाग लिएका अनुभवी खेलाडी हुन् ।

२०७३ को सातौं राष्ट्रिय खेलपछि सञ्जय महर्जनको प्रशिक्षण पाएकी उनले त्यसपछिका प्रायः राष्ट्रिय प्रतिस्पर्धामा दोस्रो हुनुपरेको छैन । २०७४ मा भएको राखेप च्याम्पियनसिपमा उनले पहिलो पटक राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिताबाट स्वर्ण जितिन् । अनि चुलियो उनको चर्चा । उनले त्यसपछि राष्ट्रिय प्रतियोगिताहरुमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।

सञ्जुसँग हालसम्म सातवटा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ । २०१७ मा कोरियामा भएको एसियाकप तथा इन्टर क्लब च्याम्पियनसिपमा ३ रजत र ३ कास्य जितेकी हुन् । त्यस्तै जाकर्तामा सम्पन्न १८ औं एसियन गेम्समा पनि उनले सहभागिता जनाएकी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगिताको हकमा घरेलु मैदानमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी हुन् ।

दक्षिण एसियाली खेलकुद अघिदेखि उनले विभागीय टोली नेपाल पुलिसमा अनुबन्ध भए पनि साचेअनुरुप नभएपछि यही वर्ष विभाग छोडिन् ।

‘अहिलेको मुख्य आवश्यकता भनेको राम्रो प्रशिक्षक हो । खेलाडीले निरन्तर एउटै प्रशिक्षकसँग प्रशिक्षण गर्न पाउनु पर्छ ।’ प्रशिक्षक फेरिएसँगै खेलाडीलाई सिकाउने तरिकामा निकै फरक पर्छ । जसका कारण धेरै खेलाडी रुमल्लिन्छन्,’ सञ्जु भन्छिन्, ‘महत्वपूर्ण प्रतियोगिता आउनुअघि एउटै प्रशिक्षकसँग कम्तीमा पनि ५ देखि ६ महिना प्रशिक्षण पाए राम्रो नतिजा ल्याउन सकिन्छ ।’

अझै पढ्नुहाेस