सुदूरपश्चिममा ६ जनाले लिए थारू भाषामा सपथ

नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरीले थारू समुदायका माग र मुद्दालाई सरकारले न्यायोचित ढंगले सम्बोधन गर्नुपर्ने बताएका छन्। ‘टीकापुर घटनाका राजबन्दी रिहाइ नभएसम्म कसैलाई सरकार बनाउनमा सहयोग गर्दैनौं र सरकारमा सहभागी हुँदैनौं,’ प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेतासमेत रहेका चौधरीले भने, ‘राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्‍यो।’

संघीय संरचनाअनुसार भएको निर्वाचनपछि दोस्रो प्रदेशसभाका सांसदको सपथ ग्रहणसँगै प्रदेश सरकार गठनको बाटो खुलेको छ। नेपालको राज्य पुनः संरचनामा प्रदेशसभा गठन दोस्रो पटक भएको हो। सपथ ग्रहणसँगै यसले गर्ने काम पनि आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

थारू भाषामा सपथ
प्रदेशसभामा प्रतिनिधित्व गर्ने थारू समुदायका छ जनाले आफ्नो मातृ भाषामा सपथ लिए। नेपालीमा लेखिएको सपथ पत्रलाई थारू समुदायका केही सांसदले आफ्नो मातृ भाषामा पढेर सपथ लिएका हुन्।

त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ। कांग्रेसका १९ सदस्य छन्। दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का ११ जना छन् भने नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपा र स्वतन्त्र एक-एक जना छन्। पहिलो प्रदेशसभामा दुई जनाको प्रतिनिधित्व रहेको कैलाली, कञ्चनपुरका आदिवासी राना थारु समुदायको प्रतिनिधित्व दोस्रो कार्यकालमा शून्य भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *